
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशका हिमाली भू–भागसहित कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । तराईका केही स्थानमा भने तुवाँलो लागेको छ ।
दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशको हिमाली भू–भागमा समेत बादल लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ ।
























