
विराटनगर । छिटपुट आपराधिक घटना र सवारी दुर्घटना भए पनि मोरङमा यस वर्ष दसैँ, तिहार र छठलगायतका ठूला चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् ।
विगतका वर्षको तुलनामा यस वर्ष ठूला आपराधिक घटना, सामूहिक अपराध तथा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नभएको प्रहरीले जनाएको छ । दसैँको घटस्थापना अर्थात् असोज २५ गतेदेखि छठ अर्थात् कात्तिक ३० गतेसम्मको अवधिमा जिल्लामा २१९ वटा आपराधिक तथा दुर्घटनाजन्य घटना भएका छन् । तीमध्ये १५ वटा जघन्य, ३७ वटा गम्भीर र १६७ वटा सामान्य प्रकृतिका घटना रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
विभिन्न घटनामा संलग्न २०६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट फैसला भई फरार रहेका ४७ जना प्रतिवादीसमेत यही अवधिमा पक्राउ परेका छन् । यसले चाडपर्वको समयमा आपराधिक गतिविधि नियन्त्रणसँगै पुराना फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई पनि प्रहरीले निरन्तरता दिएको देखाउँछ ।
चाडपर्वकै अवधिमा प्रहरीले लागुऔषध नियन्त्रणमा समेत उल्लेख्य सफलता हासिल गरेको डीएसपी श्रेष्ठले बताए । प्रहरीले ७७३ ग्राम ब्राउन सुगर, ९७५ किलो गाँजा तथा एम्पुल र चक्की गरी २ हजार ७३१ थान लागुऔषध बरामद गरेको उनको भनाइ छ । ‘चाडपर्वको समयमा लागुऔषध ओसारपसार तथा कारोबार बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर निगरानी र चेकजाँच तीव्र पारिएको थियो,’ श्रेष्ठ भन्छन् ।
चाडपर्वलाई लक्षित गरेर प्रहरीले सुरक्षा कार्ययोजना, २०८३ कार्यान्वयनमा ल्याएको थियो । चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नियमित सुरक्षासँगै विशेष निगरानी, मोबाइल गस्ती र आकस्मिक प्रतिकार्यलाई प्राथमिकता दिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
यात्रुको आवागमन सहज र सुरक्षित बनाउन विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो । राजमार्गमा स्कर्टिङ, ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच तथा पैदल र मोबाइल गस्ती परिचालन गरिएको थियो । चाडपर्व मनाउन घर फर्किने र फर्कने यात्रुलाई लक्षित गरेर सम्भावित जोखिमका क्षेत्रमा समेत सुरक्षा निगरानी बढाइएको प्रहरीको भनाइ छ ।
धार्मिक तथा पर्यटकीय स्थलमा दर्शनार्थीको भिड व्यवस्थापन र सुरक्षाका लागि विशेष टोली परिचालन गरिएको थियो । सरकारी कार्यालय, महत्त्वपूर्ण प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था र आर्थिक कारोबार हुने स्थानमा पनि निगरानी बढाइएको थियो । भिडभाड हुने क्षेत्रमा सीसी क्यामेराबाट निगरानी गर्नुका साथै आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत प्रयोग गरिएको जानकारी एसपी कटवालले दिए ।
‘छिटपुट घटना भए पनि समग्रमा ठूला चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् । सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न पर्याप्त प्रहरी जनशक्ति र सुरक्षा संयन्त्र परिचालन गरिएको थियो । चाडपर्वलाई सुरक्षित, व्यवस्थित र हर्षोल्लासपूर्ण बनाउन प्रहरी सक्रिय रह्यो,’ एसपी कटवालले भने ।
चाडपर्वका समयमा मानिसको आवागमन, आर्थिक कारोबार र सार्वजनिक जमघट बढ्ने भएकाले चोरी, लुटपाट, ठगी, झैझगडा तथा दुर्घटनाको जोखिम पनि बढ्ने गर्छ । यस्तो अवस्थामा व्यापक प्रहरी परिचालन, निगरानी र सुरक्षा व्यवस्थापनले अप्रिय घटना हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको प्रहरीको निष्कर्ष छ ।

























