शुभकामना

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १५, बिहीबार १५:०८

दसैं सकिएको दुई सातामा आउने चाड तिहारले गाउँ–सहर ढाकेको छ । सयपत्री र मखमली मालामा उनिएर कुकुर, गाई, गोरु, घर र दाइभाइको गलामा सजिँदैछन् ।

पटका पट्काउँदै देउसी भैलोमा रमाउने बालबालिका र युवाको उत्साह चोकचोकमा देखिन्छ । दसैंजत्तिकै उत्साह र उमंग तिहारमा पनि छ । दसैंलाई केही समुदायले नमनाउने गरे पनि तिहार भने अधिकांश समुदायले आ–आफ्नै शैली, परम्परा र गच्छेअनुसार मनाउने गर्छन् ।

वर्षभरिका दुःखपीडा भुलेर मनाइने यो चाड धार्मिक, सामाजिक, सांस्कृतिक मात्र नभएर आर्थिक दृष्टिले समेत महत्त्वपूर्ण छ । वर्षको एकपटक दिदी बहिनीले दाजुभाइहरूसँग भेटघाट गरी भाइटीका लगाइदिने चलन भएकोले सामाजिक दृष्टिकोणले यो पर्व महत्वपूर्ण मानिन्छ ।

मृत्युदेव यमराज पाँच दिनसम्म आफ्नो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आफ्नी दिदी यमुनाको घरमा गएको र दिदी यमुनाले आफ्नो भाइ आएको खुसीयालीमा दीपावली गरी उनको पूजा गरेकी थिइन् भन्ने शास्त्रीय मान्यता छ । यसरी हेर्दा तिहारलाई सांस्कृतिक एवं सामाजिक पर्वको रूपमा मान्ने चलन छ ।

तिहार भन्नासाथ सबैले सम्झने भनेको बत्तीको झिलीमिली, फूलैफूल, देउसीभैलो, भाइटीका, सेलरोटी आदि हुन् । यो पर्वमा बत्ती र फूलले सिँगारेर घरलाई ‘उज्यालो’ बनाउने परम्परा छ । समूह बनाइ घरघरमा खेलिने देउसी भैलो सामाजिक सद्भाव वृद्धिका लागि महत्त्वपूर्ण छन् ।

भाइटीका चेली–माइतीबीच सम्बन्ध प्रगाढ बनाउने माध्यम हो । घर सिँगार्ने र देउसी भैलो खेल्ने चलन हिन्दुइतर समुदायमा पनि व्यापक रूपमै देखिन्छ । तिहार पशु–पक्षीप्रति सम्मान प्रकट गर्ने चाड पनि हो । यो पर्वको पहिलो दिन कागको पूजा गरिन्छ ।

कागलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ । कागलाई सन्देशवाहकसमेत मानिन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई पनि यमराजको दूत मानिन्छ । कुकुर बफादार प्राणी रहेकाले समेत पूजा गरेर सम्मान गर्ने चलन छ ।

तेस्रो दिनलाई गाईतिहारे औंसी भनिन्छ । त्यस दिन गाई र लक्ष्मीको पूजा गरिन्छ । हिन्दु धर्मावलम्बीले गाईलाई माताका रूपमा लिन्छन् । धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानेर साँझ घरघरमा लक्ष्मीपूजा गर्ने चलन छ ।

चौथो दिन गोवर्धनपूजा गरिन्छ । पाँचौं दिन भने भाइटीका पर्छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिन्छन् ।

हाम्रा चाडबाड आधुनिक समाजको विकाससँगै खर्चिला, भड्किला हुँदैछन् । यिनीहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यतालाई आधुनिकताको नवनिर्मित व्यवहारले सांस्कृतिक महत्व छायामा पर्दै गएको अग्रजहरूको बुझाइ छ ।

तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैंमा शास्त्रीय छ । सुसंस्कृत छ। यस सन्दर्भमा तिहारको महत्व र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्छ ।

यसो भएमा हाम्रा चाडपर्वहरूका शास्त्रीय मूल्यमान्यता तथा सामाजिक महत्व नयाँ पुस्तामा हस्तान्तरण हुँदै जान्छन् । नयाँ पुस्ताले समाजका स्थापित मूल्य मान्यतालाई शिरोधार्य गर्दै जान सक्छन् । यो आजको आवश्यकता हो ।

घर साजसज्जा, किनमेललगायतका कारण तिहार खर्चिलो बन्दै पनि गएको छ । विशुद्ध मनोरञ्जनका रूपमा लिइनुपर्ने देउसी–भैलोलाई कतिपयले अर्थ संकलनको माध्यम पनि बनाउने गरेका छन् । यसले विकृति बढाएको भन्दै केही ठाउँमा कसैलाई मर्का नपर्ने गरी दक्षिणा निर्धारण गरिएको पनि पाइन्छ ।

तिहार कतिपयका लागि जुवा–तास खेल्ने पर्व पनि बनेको छ । तिहारमा पटकाजस्तो विस्फोटक पदार्थ अत्यधिक प्रयोग हुन्छ । विस्फोटक पदार्थले दुर्घटना निम्त्याउने जोखिम पनि उत्तिकै हुन्छ ।

प्रहरी–प्रशासनले विस्फोटक पदार्थ बेचबिखनमा निषेध गरे पनि प्रयोग घटेको देखिँदैन । विकृतिहरू हटाउँदै र मौलिकता जोगाउँदै सभ्य र सुसंस्कृत ढंगले मनाउन सके चाडपर्वको ओज बढ्छ ।

तिहार हाम्रो सांस्कृतिक पर्व भएकोले खुसीयालीको बहानामा मादकपदार्थ सेवन गरी झै–झगडा गर्नेजस्ता सामाजिक विकृतिलाई समाजले निरुत्साहित गर्नुपर्छ । चाडपर्वलाई आफू अनुकूल उपयोग गरी सामाजिक अनुशासनमा खलल पुर्याउनेजस्ता क्रियाकलाप कसैले पनि गर्नु हुँदैन ।

तिहारको लोकउत्सव नेपालीहरूका घरआँगनमा समृद्धिको वाहक बनेर आउनु पर्छ । तिहारको आडमा हुने हरेक किसिमका सामाजिक विकृति निर्मूल गर्नु हामी सबैको साझा कर्तव्य हो । तिहारलाई भड्किलो, महँगो र देखासिखीको चाड बनाउनु हुँदैन ।

यसको सांस्कृतिक र शास्त्रीय मौलिकपन, मूल्य र मान्यतालाई अनुसरण गर्दै तिहार मनाउने व्यावहारिक तथा सरल उपायहरू अवलम्बन गरौँ । हाम्रा संस्कृति र चाडवाडको संरक्षण गरौँ । तिहारको सबैमा शुभकामना ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.