सुन र पैसा लुट्न आफ्नै आमाको हत्या

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १५:२३

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–३ का एक युवकले सुन र पैसा लुट्न आफ्नै आमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार रोशी–३ भन्ज्याङ डाँडाका २८ वर्षीय फुर्साङ लामाले वृद्धा अवस्थाकी आमा ७९ वर्षीया माइली लामाको कात्तिक १६ गते हत्या गरेका हुन् । भान्सा कोठामा सुतिरहेका बेला मसला पिस्ने ढुंगाको लोहोरो, सिलौटो र ढोकाको आग्लो प्रहार गरेर फुर्साङले वृद्धा आमाको हत्या गरेको खड्काले बताइन् ।

फुर्साङ मृतकका कान्छो छोरा हुन् । हत्या गरेपछि आमाले कानमा लगाएको सुनको रिङ र साथमा भएको नगद लिएर फुर्साङ फरार भएको प्रहरीले जनाएको छ । घटनाको दुई दिनपछि उनलाई प्रहरीले पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको हो ।

प्रहरीले सोधपुछ गर्दा पनि फुर्साङले सुन र पैसाको लोभमा आमाको हत्या गरेको बताएका छन् । आमाले लगाएको सुनको बिल फुर्साङकै साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

‘सुरुमा लोहोरो र सिलौटोले हानेको पाइयो । बेहोस भएपछि ढोकाको आग्लोले प्रहार गरेर हत्या गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो । फुर्साङविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.