‘नेपालमा महिला आन्दोलन’नामक पुस्तकको समीक्षा

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १८:४९

विराटनगर । डा. शिवमाया तुम्बाहाङफेद्धारा लिखित ‘नेपालमा महिला आन्दोलन’पुस्तक अनुसन्धानमा आधारित भएको समीक्षकहरुले बताएका छन् ।

विक्रम सम्वत् (वि. सं.) २००४ देखि २०४६ सालसम्म भएको नेपाली महिला आन्दोलन र विश्व महिला आन्दोलनमा केन्द्रीत रहेर लेखिएको पुस्तकको शनिबार विराटनगरमा समीक्षा गरिएको थियो ।

वि.सं. २०५९ सालमा पहिलो संस्करण र हालै प्रकाशित दोस्रो संस्करणको विराट साहित्य संगमले आयोजना गरेको पुस्तक चर्चा कार्यक्रमका समीक्षकहरुले पुस्तक अनुसन्धानमा आधारित रहेको बताए ।

पुस्तकको समीक्षा गर्दै विराट साहित्य संगमका सल्लाहकार दिनेश श्रेष्ठले नेपालको महिला आन्दोलनबारे रुची राख्नेहरुका लागि पुस्तक महत्वपूर्ण रहेको बताए । महिला आन्दोलनको इतिहास र विश्व महिला आन्दोलनबारे पुस्तकमा समेटिएको, उनले भने ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापनरत इन्दिरा प्रसाईंले नेपालमा महिला आन्दोलन सबैले पढ्नुपर्ने कृति रहेको बताइन् । उनले पुस्तकलाई अझै अनुसन्धानमूलक बनाउन आवश्यक रहेकोमा जोड दिइन् ।

आर्थिक, राजनीतिक र सामाजिक विभेद्मा परेका महिलाका सवालहरू पुस्तकमा समेटिएको छ । वि.सं.२०६२–०६३ को महिला आन्दोलनलाई पनि पुस्तकमा समेट्न उनले भनिन् ।

महिला आन्दोलन इतिहासको अभिलेख पुस्तकमा समावेश छ । महिलाहरूले अझै कार्यकारी नेतृत्वमा पुग्न नसकेको र नेपाल, राजनीति र महिलाका बारेमा पुस्तक जानकारी मूलक रहेको प्रसाईले बताइन् ।

एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले पुस्तकले विश्वको महिला आन्दोलन समेट्न सके अझ राम्रो हुने सुझाव दिए । उनले महिला आन्दोलनको इतिहास खोज्नका लागि पुस्तक महत्वपूर्ण स्रोतका रूपमा रहेको उल्लेख गरे ।

प्रा.डा. हरिहर भण्डारीले नेपाली महिला संस्कृतिको कुरा पुस्तकले समेट्न नसकेको बताए । उनले महिलालाई उच्च सम्मान दिएकाले नेपाली महिला संस्कृतिको विषय समेट्न आग्रह गरे । महिला संस्कृतिको कुराले हाम्रो संस्कृति र सभ्यतालाई बल पुग्ने बताए ।

डा. शिवमाया तुम्बाहाङफेले छुटेका विषयहरु आगामी संस्करणमा थपिने प्रतिबद्धता जनाइन् । उनले नेपालको महिला आन्दोलनको प्रारम्भ २००४ देखि ०४६ सम्मको राजनीतिक आन्दोलनलाई पुस्तकले समेटेको बताइन् ।

डा. तुम्बाहाङफेद्धारा लिखित पुस्तक नेपालमा महिला आन्दोलन दोस्रो संस्करण विराट साहित्य संगम विराटनगरले प्रकाशन गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.