
विराटनगर । कोशी प्रदेशका ८ स्थानमा भएको स्थानीय तहकाे उपनिर्वाचनमा माओवादी केन्द्र पहिलो भएको छ । नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो भएको छ । एक स्थानमा स्वतन्त्र विजयी भएका छन् ।
उपनिर्वाचन भएका ८ स्थानमा माओवादीले २०७९ को निर्वाचनमा कुनै क्षेत्र जितेको थिएन, कांग्रेसले ६ र एमालेले २ स्थानमा जितेको थियो । उपनिर्वाचनमा माओवादी केन्द्रले १ पालिका अध्यक्ष र २ वडाध्यक्ष जितेको छ । कांग्रेसले २, एमालेले २ र स्वतन्त्रले १ स्थानमा जितेको छ ।
कांग्रेसले लालिगुराँस– ८ र सुनसरीको गढी– ६ जितेको छ । कन्काई – ६ मा स्वतन्त्र विजयी भएका छन् । ताप्लेजुङको सिरिजङ्गा–३ र ओखलढुङ्गाको मोलुङ–५ एमालेले जितेको छ । माओवादी केन्द्रले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदपुरको त्रियुगा १२ र बेलका ९ को वडा अध्यक्ष जितेको छ । यी तीन वटै वडा पहिले कांग्रेसले जितेको थियो ।
कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । परिणाम अनुसार माओवादीले ११ हजार ९०३ मत प्राप्त गरेको छ । कांग्रेसले ८ हजार ७४ र एमालेले ७ हजार ५३० मत पाएको छ । राप्रपाले ७१९ र रास्वपाले ९२९ मत ल्याएको छ ।
नेपाल एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा अनपेक्षित नजिता आएको बताउँछन् । नेपाली कांग्रेस कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझी पनि कांग्रेसले अपेक्षा गरे अनुसारको नतिजा नआएको बताउँछन् । माओवादी केन्द्र अध्यक्ष हर्क नेम्वाङ मिक्सो भने नतिजाले उत्साहित बनाएको बताउँछन् ।

























