पत्रकार महासंघमा सही नेतृत्व आउनुपर्छ

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २४, सोमबार १८:३२

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनावी प्रक्रिया सुरु भएको छ । यसअघि विभिन्न समय तोकिए पनि चुनाव हुन सकेको थिएन । अब नयाँ नेतृत्व चयन गर्न केन्द्र र प्रदेशमा मनोनयन दर्ता भइसकेको छ । जिल्लाहरुको बाँकी नै छ ।

यसअघि महासंघ नेतृत्व र पत्रकारका दलीय संगठनका नेताहरूको गलत स्वार्थले निर्वाचन हुन नसकेको हो । महासंघ नेतृत्व र तिनका सरोकारवालाको असक्षमताका कारण अभिव्यक्ति र पेसागत अधिकारको एक प्रमुख संस्था क्रमशः कमजोर हुँदै गएको समयमा अहिले पुनः निर्वाचन प्रक्रिया सुरु भएको छ । यही मंसिर २८ गते निर्वाचनको मिति तोकिएको छ । अब देशभरका पत्रकारहरुलाई सही नेतृत्व चुन्ने अवसर आएको छ ।

पत्रकारहरू आवद्ध विभिन्न संगठन नेतृत्व हत्याउन तल्लीन छन् । केन्द्रदेखि जिल्लासम्म भागबण्डा चलेको छ । तर, यसमा पनि गैरपत्रकारको दौडधुप बढी नै देख्दा क्रियाशील पत्रकार भने लज्जित छन् । क्रियाशील पत्रकार महासंघलाई शुद्ध बनाउन चाहन्छन् । तर, दलगत संगठनको हाबीका कारण यो चुनौती बन्दै गएको छ । चुनौतीबीच विद्रोह गरेर उठेका क्रियाशील पत्रकारलाई महासंघको साख बचाउन सकस नै छ ।

महासंघभित्र क्रियाशील भन्दा गैरपत्रकारको वर्चस्व बढ्दै गएपछि महासंघ गैरपत्रकारकै कोपभाजनमा परेको धारणा सर्वत्र छ । पार्टीनिकट संगठनले आफ्नालाई च्याप्ने क्रम अहिले पनि चलिरहेको छ । जसको असर अब आउने नयाँ नेतृत्व चयनदेखि पत्रकारको पेसागत सुरक्षामा अवश्य देखिन्छ ।

जीवनभर यही पेसामा आफ्नो भविष्य देखेका र भोगेकाका लागि यो सामान्य कुरा होइन । कुनै पनि पेसागत संस्था त्यो पेसाको समग्र हित, संरक्षण एवं पेसालाई मर्यादित, पारदर्शी र विश्वसनीय बनाउन गठन गरिएको हुन्छ । संस्थालाई कमजोर बनाएर फाइदा लिन चाहने स्वार्थ समूहको योजनालाई भने क्रियाशील सबैले एकताबद्ध भएर अब परास्त गर्न सक्नुपर्छ ।

महासंघको वर्तमान वा पछिल्ला केही नेतृत्व सत्ता स्वार्थका लागि महासंघलाई उपयोग गर्ने प्रयत्नमा तल्लीन रहे । कसैले त पार्टी स्वार्थका लागि महासंघको वैधानिकतामाथि नै प्रश्न उठाउने कार्य गरे । यसैका कारण क्रियाशील पत्रकारले नेतृत्वको आलोचना गर्दै ‘पत्रकार महासंघ बचाऔं’ भनेर सार्वजनिक रूपमा अपिल गर्नुपर्ने अवस्था आएको छ । सञ्चारमाध्यम र पत्रकारको हितमा काम गर्ने नेतृत्व अब चाहिएको छ ।

पत्रकारको व्यावसायिक हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मूलतः श्रमजीवी पत्रकारको पेसाको सुरक्षा गर्दै सञ्चार क्षेत्रको समग्र एवं सम्पूर्ण विकासको मूल धेय, लक्ष्य र दायित्वका लागि महासंघ चाहिएको हो । त्यसैले नीतिगत तथा व्यावहारिक तहबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्धन गर्ने, पत्रकारको भौतिक, सामाजिक तथा पेसागत सुरक्षा सुनिश्चितता गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।

नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र यसबारे अन्तर्राष्ट्रिय मूल्य, मान्यता, अभ्यास तथा प्रचलनको पैरवी गर्नुपर्ने दायित्वसमेत महासंघको हो । पत्रकारिता र पत्रकार एक अर्काका परिपूरक हुन् । पत्रकारिता पेसा हो भने पत्रकार त्यही पेसामा भिज्ने व्यक्ति हो । स्वतन्त्र पत्रकारितामा लोकतन्त्रको ठूलो योगदान रहन्छ । लोकतन्त्रको रक्षाका लागि पत्रकारले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । पत्रकारिताको खोल ओढेर पार्टीकारिता र पीतपत्रकारिता गर्ने कार्यलाई यस निर्वाचनबाट निरुत्साहित गर्न आवश्यक छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.