
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न नसकेको बताएका छन् । सोमबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकार परिवर्तन भइरहँदा नीति पनि परिवर्तन हुने बताउँदै उनले पछिल्लो समय देशको अर्थतन्त्र सही दिशामा गएको मुख्यमन्त्री कार्कीले बताए ।
मुख्यमन्त्री कार्कीले अझै पनि दुई दलबीचको सहकार्य कति समयसम्म जान्छ भन्ने कुराले उद्योगी व्यवसायीहरूबीचमा त्रास उत्पन्न गर्न खोजिएकाले पनि केही कुरा अफ्ठ्यारो भएको बताए ।
नकारात्मक विषयलाई मात्रै सञ्चार माध्यम र सामाजिक सञ्जालले प्राथमिकता दिदा कतिपय राम्रा विषय ओझेलमा परेको चर्चा गर्दै सरकारले पछिल्लो मौद्रिक नीति आएपछि अर्थतन्त्रमा निकै सुधार गरेको दाबी गरे ।
कोशी प्रदेश सरकारले लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको कार्यक्रमलाई अघि सारेर प्रदेशमा अर्थतन्त्र चलायमान गर्ने प्रयत्न गरेको कार्कीले बताए ।
निजी क्षेत्रलाई उत्साहित गर्न जग्गा लगायत विद्युतका विषयमा सहुलियत दिन छलफल सुरु गरिएको जानकारी दिए । प्रदेशले मात्रै नीति बनाएर नपुग्ने यसमा संघ सरकारले पनि ध्यान दिनुपर्ने अवस्थालाई मध्य नजर गर्दै काम अघि बढेको बताए ।

























