
विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ ।
साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, कार्यबाहक अध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, साहित्यकार खेम नेपालीलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कृष्णभूषण बलले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएर गएको चर्चा गरे । उनले थोरै सिर्जना गरेर पनि बलले प्रसिद्धि कमाएको बताए ।
नेपाली साहित्यमा थोरै कृति लेखेर प्रसिद्धि कमाउने एक कृष्णभूषण बल हुन । किन भने ‘भोलि बास्ने बिहान’ कवितासंग्रहमार्फत नेपाली कविता साहित्यमा उनी चर्चित रहेको बताउँदै, मेयर कोइरालाले भने, ‘उहाँले लेखेका कविताहरू विश्वविद्यालयस्तरका विभिन्न कोर्समा समेत पढाइ हुन्छ । गुणात्मक र स्तरीय सिर्जना गर्न सक्यो भने थोरै लेखेर पनि प्रसिद्ध हुन सकिन्छ भन्ने कृष्णभूषण बल उदाहरण हो भन्ने मलाई लाग्दछ ।’
‘काठमाण्डू अब एक्लैले काठमाण्डू बोक्न सक्दैन’ कविता लेखेर बलले तत्कालीन शासन व्यवस्थालाई चुनौतीसमेत दिएको मेयर कोइरालाले बताए ।
कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार खेम नेपाली, कवि मुनाराज शेर्मा, गोकुल अधिकारी, निर्मला कोइराला, रमेशचन्द्र अधिकारीलगायतले कृष्णभूषण बलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे ।
कवि कृष्ण बराल, सीमा आभास, सुदीप पाख्रिन, रोशन परियारलगायतले बलले लेखेका कविता वाचन गरे । प्रतिष्ठानले हरेक वर्ष साहित्य विभिन्न विधामा कलम चलाउने स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको छ ।



















