
विराटनगर । संखुवासभाको शैक्षिक उन्नयनमा अग्रणी मानिने हिमालय माध्यमिक विद्यालयमा संगीत कक्षको व्यवस्थापन गरिएको छ । यो विद्यालय सदरमुकाम खाँदबारीमा छ ।
पूर्वविद्यार्थीहरुले पन्चैबाजासहितका संगीत सामग्री सहयोग गरेपछि कक्ष व्यवस्थापनमा विद्यालयलाई सहज भएको हो । खाँदबारी नगरपालिका–१ मा रहेको विद्यालयलाई २०६० सालमा एसएसली परीक्षा दिएका पूर्वविद्यार्थीहरुले २ लाख ७५ हजार रूपैयाँ बराबरको पन्चैबाजा र संगीत सामग्री सहयोग गरेका हुन् ।
पूर्वविद्यार्थी नवराज कार्कीका अनुसार विद्यालयलाई ३ लाख ७६ हजार १ सय ११ रूपैयाँ बराबरको सहयोग गरिएको छ । संगीत कक्षका लागि २ लाख ७५ हजार मूल्य बराबरको सामग्री खरिद गरी विद्यालयलाई प्रदान गरिएको र १ लाख १ हजार १ सय ११ रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको जानकारी कार्कीले दिए ।
उनका अनुसार अक्षयकोषको वार्षिक ब्याजबापत आउने रकम गीत संगीततर्फ अब्बल विद्यार्थी छनोट गरेर प्रत्येक वर्ष प्रदान गरिने छ । संगीत सामग्री विद्यालयको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवको अवसर पारेर बिहीबार प्रधानाध्यापक वीरबहादुर राईलाई हस्तान्तरण गरिएको थियो । विद्यालयले विविध कार्यक्रमसहित माघ ५ गतेदेखि ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाइरहेको छ ।
पूर्वविद्यार्थी कार्कीका अनुसार संगीत कक्षका लागि नरसिंगा, सनई, दमाहा, झ्याम्टा, ट्याम्कोसमेतका पञ्चैबाजा र सारंगी, बाँसुरी, मादल, तबला, हार्मोनियम, पियानो, गितार, ड्रमसेटलगायतका संगीत सामग्री खरिद गरेर हस्तान्तरण गरिएको छ । विद्यालयको सहयोगका लागि २०६० सालमा एसएलसी दिएका पूर्वविद्यार्थीबाट रकम संकलन हुने क्रम जारी रहेको उनको भनाइ छ ।
संकलन भएको थप रकम विद्यालयलाई नै हस्तान्तरण गरिने छ । २००६ सालमा स्थापना भएको यो विद्यालय उत्कृष्ट पठनपाठनका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको पूर्वविद्यार्थीहरु बताउँछन् ।
उनीहरुका अनुसार विद्यालयलाई संगीत सिकाइको सुरूवाती विन्दुको रूपमा परिभाषित गराउँदै बालमस्तिष्कमा संगीत र कलाको सञ्चार गर्न, गीत संगीततर्फ विद्यार्थीको क्षमता अभिवृद्धि गर्न र परम्परागत लोकबाजाको संरक्षण एवं प्रवर्धनमा टेवा पुर्याउन विद्यालयमा संगीत कक्षको व्यवस्थापनमा सहयोग गरिएको हो ।
पूर्वविद्यार्थीको सहयोगसँगै विद्यालयमा संगीत शिक्षण प्रभावकारी बन्ने, संगीत सामग्रीको संरक्षण र सजावटबाट विद्यालयको शोभा बढ्ने, नयाँ पुस्तामा लोकसंस्कृति र कलाको हस्तान्तरण एवं पुस्तान्तरण हुने, संगीत क्षेत्रमा लाग्नेलाई उत्प्रेरणा मिल्ने र मनोबल बढाउने तथा पूर्वविद्यार्थीहरुलाई विद्यालयको सरोकारवाला पक्षको रूपमा जोड्दै लैजान सहज हुने अपेक्षा गरिएको छ ।


























