
विराटनगर । नेपालमा रंगहरुको पर्व होली धुमधामका साथ मनाउने क्रम चलिरहेको छ । बिहीबार पहाडी एवं हिमाली जिल्ला र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।
विशेष गरेर फागुन शुक्ल पूर्णिमाका दिन एकआपसमा रंग दलेर रमाइलो गर्दै होली मनाउने प्रचलन छ । रमाइलो गर्दै र खुसी साट्दै हर्षोल्लासपूर्ण हिसाबले होली मनाउने क्रममा विभिन्न सावधानी भने अपनाउन आवश्यक छ ।
होलीमा रमाइलो गर्नेहरु विभिन्न रंगमा रंगिने गर्छन् । विशेष गरेर बालबालिकामा होलीको उत्साह देखिन्छ । तर, विशेष कुरा के छ भने पछिल्लो समय रसायनयुक्त रंगहरु बढी प्रयोग गर्ने चलन बढ्दो छ ।
विज्ञहरुका अनुसार रसायनमुक्त रंगले मात्रै मानवको स्वास्थ्यमा असर गर्दैन । रसायनयुक्त रंगले मानिसको छाला, कपाल, आँखालगायत शरीरका विभिन्न भागमा असर पर्नसक्ने भन्दै चिकित्सकहरुले होली खेल्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।
कोशी अस्पताल विराटनगरका छाला एवं यौन रोग विशेषज्ञ डा. असित घिमिरे रसायनयुक्त रंग मानिसको स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताउँछन् । ‘केमिकल मिसाइएका रंगहरु अहिले बजारमा जताततै पाइन्छ । त्यसले मानिसको स्वास्थ्यमा ठूलो असर गर्छ । छालाको एलर्जी हुने, चिलाउने, फोकाहरु आउने, पोल्ने, घाउ हुने समस्या निम्तिन सक्छ । आँखा पाक्ने र अनुहार सुनिने हुनसक्छ । सबैले सावधानी अपनाउनु आवश्यक छ,’ डा. घिमिरेले भने ।
उनका अनुसार रसायनयुक्त रंगहरु छालाका लागि खतरनाक एवं हानिकारक हुन्छन् । ‘रंगको प्रयोगमा सतर्कता अपनाइएन भने धेरै समस्या निम्तिन सक्छ । बेलैमा सावधानी अपनाउनुको विकल्प छैन,’ उनले भने । डा. घिमिरे धेरै गाढा रंगले छालालाई राम्रो नगर्ने बताउँछन् । उनले रंगको पर्वले सबैमा रौनकता ल्याए पनि प्रयोगमा ध्यान नदिँदा र जथाभावी प्रयोग गर्दा समस्या निम्तिने कुरामा सचेत हुन आवश्यक रहेको बताए ।
होलीमा रातो, कालो, हरियो, नीलो, गुलाबी, बैजनी, सेतोलगायतका विभिन्न रंगहरु प्रयोग गर्ने गरिन्छ । तर, कालो र ‘सिल्भर’ ‘कलर’ भने प्रयोग नै नगर्न विज्ञको सुझाव छ । उनीहरुका अनुसार रातो रंगमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता स्वास्थ्यलाई असर पुर्याउने रासायनिक वस्तुको मिसावट हुन्छ ।
रासायनिक तत्व मिसिएका रंगहरु धेरै बेरसम्म छालामा रहेमा त्यसले नकारात्मक असर पर्ने डा. घिमिरेको भनाइ छ । उनका अनुसार रंगका कारण छाला सम्बन्धी अन्य समस्या पनि उत्पन्न हुनसक्छ । रंगमा प्रयोग हुने रसायनले छाला रातो हुने, चिलाउने, आँखा चिलाउने, आँसु बगिरहनेजस्ता समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।
साथै आँखामा परेमा चिलाउने र कानमा परेमा पाक्नेजस्ता समस्या हुन सक्छ । विराटनगरको विराट रानी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. अजयकुमार साह होली मनाउँदा प्रयोग गरिने रंगले आँखामा ‘कन्जेन्टिभाइटिस’ रोग निम्त्याउने बताउँछन् ।
‘कतिपयले केराको रस रंगमा मिसाएर होली खेल्ने गर्छन् । त्यसले आँखाको नानीमा अल्सर निम्त्याउँछ । आँखाका लागि त्यो एकदमै खतरनाक हुन्छ । जोगिनलाई अबिर वा रंगहरु लगाउँदा आँखा बन्द गर्नुपर्छ । होली खेल्दा गरिने लापरबाहीले अल्सर निम्त्यायो भने त्यसले आँखालाई ठूलो असर गर्छ,’ उनले भने । डा. साहका अनुसार जोडले रंग लगाउँदा आँखा फुट्ने जोखिम पनि हुन्छ ।
अनुहार र शरीरको भाग जोगाएर होली खेल्दा तथा लगाइसकेको रंग तत्काल पखाल्दा असर नगर्ने उनले बताए । होली खेल्नुअघि शरीरमा तेल र क्रिमहरु लगाउँदा तथा पूरा शरीर ढाक्ने कपडा लगाउँदा छाला एवं शरीरका अंगहरु सुरक्षित हुने विज्ञहरु बताउँछन् ।
डा. साह होली खेल्दा आँखा, कान, नाक, मुखलगायत शरीरका भागहरु रसायनयुक्त रंगबाट जोगाउनुपर्ने सुझाव दिन्छन् । ‘आँखामा केही समस्या भएमा तत्काल चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ,’ नेत्र रोग विशेषज्ञ साहले भने, ‘चाडपर्वमा रमाइलो गर्दा सतर्कता अपनाउनुको विकल्प छैन ।’

























