
काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ४५६ पुगेको छ । आइतबार बिहान ५ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४५६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रसुवाबाट २३६, नुवाकोटबाट २०४, धादिङबाट ७३, चितवनबाट ३६९, गोरखाबाट ८०, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २३२ र नवलपरासी पश्चिमबाट २२२ जनाको शव फेला परेको छ । यसबाहेक काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।
बाढीपछि फेला परेका शवको पहिचान र व्यवस्थापनको काम पनि जारी छ । हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ७७ गरी कुल ३ हजार ४०७ वटा डिएनए नमुना संकलन गरिएको छ ।
पहिचान हुन नसकेका १ हजार ४३० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ । शव पहिचानका लागि डीएनए परीक्षणसहितका प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ताको खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन भइसकेका छन् ।
बाढीपछि अझै ४ हजार ७१८ जना बेपत्ता छन् । उनीहरूको खोजीका लागि प्रभावित क्षेत्र तथा आसपासका सम्भावित स्थानमा प्रहरीसहितका सुरक्षा निकायले खोजी अभियान जारी राखेका छन् ।
यसैबीच, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार २४० जनालाई राखिएको छ । उद्धार गरिएका तथा तत्काल व्यवस्थापन आवश्यक परेका व्यक्तिलाई होल्डिङ सेन्टरमा राखेर आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।

























