
विराटनगर । सन्तानको दीर्घायु, स्वास्थ्य र पारिवारिक सुख–समृद्धिको कामना गर्दै थारू समुदायका महिलाले मनाउने जितिया पर्वको निराहार व्रत आइतबार विधिपूर्वक समापन गरिएको छ ।
तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरेर मनाइने जितियामा महिलाले शुक्रबार राति ‘ओगटन’ खाएर व्रत सुरु गरेका थिए । शनिबार दिनभर पानीसमेत नपिई निराहार बसेका उनीहरूले आइतबार बिहान स्नान गरी पूजाआजा र अन्य परम्परागत विधि पूरा गरेपछि व्रत समापन गरेका हुन् ।
जितियाको अन्तिम दिन व्रतालु महिलाले आफ्नो परम्पराअनुसार फलाहार वा अन्न ग्रहण गरेर उपवास तोड्ने गर्छन् । व्रतसँगै पर्वका क्रममा गरिने धार्मिक र सांस्कृतिक गतिविधिले थारू समुदायको मौलिक परम्परालाई समेत जीवन्त बनाउने गरेको छ ।
यस वर्ष पनि जितियाको विशेष रौनक देखिएको थियो । थारू समुदायका महिलाहरू परम्परागत पहिरनमा सजिएर झाम्टा नृत्य गर्दै गीत गाएर पर्व मनाएका थिए ।
जितियाका अवसरमा महिलाहरू बिहानै स्नान गरी चोखो कपडा लगाएर निराहार व्रत बस्ने गर्छन् । दिनभर पानीसमेत नखाई झाम्टा नृत्यमा सहभागी हुने उनीहरू साँझ पुनः खोलामा पुगेर स्नान गर्छन् । त्यस क्रममा पिनाले नुहाउने र पातमा पिना राखेर पानीमा बगाउने धार्मिक चलन पनि रहेको छ ।
साँझ व्रतालु महिलाहरू एकै ठाउँमा भेला भएर जितियासम्बन्धी धार्मिक कथा सुन्ने गर्छन् । सन्तान प्राप्ति, सन्तानको दीर्घायु तथा परिवारको सुख–शान्तिको कामनासँग जोडिएको जितियाले थारू समुदायको धार्मिक आस्था मात्र नभई सांस्कृतिक पहिचानलाई समेत प्रतिनिधित्व गर्छ ।

























