
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु निर्वाचनको विषयमा रिट परेपछि उच्च अदालत विराटनगरले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
स्ववियु सभापति उम्मेदवार योगराज दाहालले स्ववियु निर्वाचन समिति, प्रमुख निर्वाचन अधिकृत डा शुशिल अधिकारी, क्याम्पस प्रमुख र नेपाल विद्यार्थी संघ संस्थापन पक्षका उम्मेदवार प्रज्वल विष्टलाई प्रतिवादी बनाएर रिट दायर गरेका थिए । उनले दायर गरेकाे रिटमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रकाे भातृ संगठनले उठाएको उम्मेदवारको योग्यता माथि पनि प्रश्न उठाइएकाे छ ।
न्यायाधीश नरेशकुमार चौधरीको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बुधबार बोलाएको हो । मंगलबार स्ववियुको नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।
‘यसमा के कसो भएको हो ? निवेदन मागबमोजिमको आदेश जारी हुनु पर्ने हो होइन् ? हुन नपर्ने भए सोको आधार, कारण र भए लिखित प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधीमार्फत लिखितजवाफ पेश गर्नू,’उच्चले जारी गरेको कारण देखाउ आदेशमा भनिएको छ,‘निवेदकले माग गरेको अन्तरिम आदेशको हकमा विचार गर्दा दुवै पक्षलाई छलफलमा राखी निष्कर्षमा पुग्न मनासिव देखिन आएकोले मिति २०६१/१२/०६ मा छलफल पेशी तारेख तोकी दिएको छ ।’

























