
विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नयाँ नेतृत्वका लागि मनाेनयन फारम केन्द्रीय नेताले भनेका व्यक्तिलाई मात्रै दिइएकाे छ । अन्य व्यक्तिले मनोनयन फारम पाएनन् ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिई जारी गरेको निर्वाचन सम्बन्धी सूचना जारी गरेका थिए ।
सोही समय अनुसार दिउँसो २ः ४५ बजे उम्मेदवारी दर्ताको समय थियो । सो समयमा अध्यक्ष राजेश राईसहितले मनोनयन दर्ता गर्न खोजेका थिए । तर निर्वाचन समितिले उनीहरुलाई मनोनयन फारम नै दिएन ।
एमालेका जनवर्गीय सङ्गठनहरूको संयोजक भानुभक्त ढकाल र प्रेस चौतारीका इन्चार्ज समेत रहेका नेता राजेन्द्र गौतमले हस्ताक्षर गरेर दिएको लिस्टका उम्मेदवारलाई मात्रै मनोनयन फारम दिएका छन् । महाधिवेशनमा बालुवाटारबाट ल्याएकाे नाम मात्रै प्रकाशन गर्ने तयारी भइरहेकाे प्रतिनिधि राजेन्द्र श्रेष्ठले गुनासाे गरे । उनका अनुसार निर्वाचन समितिले मनाेनयन फारम बाडेकाे छैन ।
निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे, उम्मेदवारी फिर्ता लिने समय ४ः १५ बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय ४ः२० बजेका लागि तोकेको छ । त्यसपछि मतदानको कार्यक्रम नराखी निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणाको समय साढे ४ बजेका लागि तोकेको छ ।
अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेको छ । केपी शर्मा ओलीको निर्देशन भने निवर्तमान उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउनु पर्नेछ ।
























