
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो ।
हिरासतमै रहेका लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार (आज) आफ्नो कानुन व्यवसायीमार्फत निवेदन दर्ता गराएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसँग जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटी मागेको थियो ।
उक्त धरौटी खारेज र साधारण तारेखमा छाडिनुपर्ने माग गर्दै उनी गत फागुन २६ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका थिए ।
तर, इजलासले गत चैत २३ गते थुनामा पठाउने निर्णय गर्यो । अदालतको आदेश लगत्तै उनी पक्राउ परेका थिए ।

























