आईपीएलमा आज दुई खेल हुँदै

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार १३:४१

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको गुजरात टायटन्सले लखनऊ सुपर जायन्टससँग प्रतिस्पर्धा गर्नेछ । लखनऊको एकाना क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे सुरू हुनेछ । गुजरातले पाँच खेलमा चारमा जित हात पार्दै आठ अङ्क जोडेको छ ।

गुजरात पहिलो खेलमा पराजित भएको थियो । तर पछिल्ला चार खेलयता भने अपराजित छ । छैटौं स्थानमा रहेको लखनऊले पाँच खेलमा तीनमा जीत र दुईमा हार बेहोर्दै ६ अङ्क जोडेको छ । जारी सिजनको आईपीएलमा अहिलेसम्म उच्च रन बनाउने शीर्ष पाँच खेलाडीको सूचीमा चार यिनै दुई टिमका क्याटर छन् । दुई सय ८८ रनसहित लखनऊका निकलस पुरन पहिलो स्थानमा छन् ।

दोस्रो स्थानमा रहेका गुजरातका साई सुदर्शनले २ सय ७३ रन प्रहार गरेका छन् । तेस्रो स्थानमा लखनऊका मिचेल मार्श छन् । उनले २ सय ६५ र पाँचौ स्थानमा रहेका गुजरातका जस बटलरले २०२ रन जोडेका छन् ।

गुजरातका लागि साइ किशोरले सर्वाधिक १० विकेट लिएका छन् । यस्तै सर्दुल ठाकुले लखनऊका लागि नौ विकेट लिएका छन् । अहिलेसम्म यी दुईबीच आईपीएलमा पाँच पटक भेट भएको छ । सुरूवाती चार खेल गुजरातले जितेको थियो । अघिल्लो सिजन भने लखनऊले ३३ रनले नतिजा आफ्नो पक्षमा पारेको थियो । आजै साँझ पौने आठ बजे सनराइजर्स हैदराबाद र पञ्जाब किंग्स आमनेसामने हुनेछन् ।

उत्कृष्ट ब्याटिङ लाइनअप भएको हैदराबाद खराब फर्मबाट गुज्रिरहेको छ । सिजनको पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध २ सय ८६ रन प्रहार गर्दै जित हात पारेको प्याट कमिन्सको टिम त्यसपछिका चार खेलमा जीतविहीन छ ।

ती सबै खेलमा हैदराबादको ब्याटिङ कोल्याप्स भएको थियो । तालिकाको पुछारमा रहेको हैदराबादको पाँच खेलमा मात्र दुई अंक छ । पञ्जाबले भने अघिल्लो खेलमा चेन्नइ सुपर किंसलाई १८ रनले हराउँदा ओपनर प्रियन्स आर्याले शतक प्रहार गरेका थिए । पञ्जाब चार खेलबाट ६ अंक बटुल्दै तालिकाको पाँचौं स्थानमा छ । खेल हैदराबादको मैदानमा हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.