
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ पशुपति चोकस्थित बुद्धनारायण धामीको घरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित ४ जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घरमा राति ११ः४० बजेतिर छापा हानेको थियो । त्यस क्रममा घरको कोठामा बसिरहेका अवस्थामा धरान–१७ की ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय ३२ किरण राई, ३५ वर्षीय समीर राई र २४ वर्षीय विशाल धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट १५ ग्राम ३ सय ग्राम ब्राउन सुगर बरामद भएको छ । बरामद गरिएको लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको सम्भावित संलग्नताका बारेमा समेत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।



















