
विराटनगर । विराटनगरको हाटखोलामा बुधबार बिहान महिलाको शव फेला परेको छ ।
विराटनगर महानगरपालिका–७ स्थित हाटखोला बसपार्क पछाडि चउरमा बिहान ८ः४५ बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुलेको छैन ।
स्थानीयले सुतिरहेको अवस्थामा महिलाको शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय हाटखोलाका सई तुलामणि आचार्य नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।



















