
विराटनगर । २०७९ सालको प्रदेशसभा निर्वाचनमा पाँचथर १ (२) बाट भोट माग्ने क्रममा नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भनेका थिए, ‘पहिचानको विपक्षमा मेरो औंला काटिन्छ । तर, भोट हाल्दिन ।’
उनै आङ्बोले निर्वाचन जितेर आएपछि भने कोशी नाममा सहमति जनाउँदै भोट खसाले । त्यतिबेला उनले पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्छ भनेर उठिरहेको आवाज बिर्सिए । तत्कालीन प्रदेश १ को नामकरण ‘कोशी’ भएपछि पहिचानवादीहरुले आङ्बोलाई वंश गद्दार घोषणा गर्नसम्म भ्याए ।
नामकरणपछि प्रतिक्रिया दिने क्रममा आङ्बोले भन्ने गरेका थिए, ‘अध्यक्ष प्रचण्डले गर भनेपछि गरें ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै पछि सार्वजनिक भाषण गर्दै भने, ‘प्रदेशको नाम कोशीमा सहमति गर्ने पार्टीको निर्णय होइन, प्रदेश संसदीय दलले आत्माआलोचना गरोस् ।’
प्रचण्डको सोही अभिव्यक्ति पछि माओवादीका महासचिव देव गुरुङले विज्ञप्ति निकाल्दै आफूहरु पहिचानको पक्षमै भएको र कोशी नाममा भोट खसाल्ने निर्णयबारे दलका नेतालाई जवाफ माग गर्ने उल्लेख गरे । माओवादीको प्रदेश पार्टीले पनि उक्त विषयमा सार्वजनिक धारणा राख्दै पहिचानको पक्षमा आफूहरु रहेको विज्ञप्ति जारी गर्यो । अहिले पनि माओवादीले आफ्ना लिखित दस्ताबेजहरुमा प्रदेश १ लेख्छ, कोशी लेख्दैन ।
कोशी नामको विषयमा फरक मत दर्ज गर्नसमेत नसक्ने आङ्बोको समूह अहिले पार्टीभित्र प्रचण्डभन्दा फरक गुट सिर्जना गर्दै आएका जनार्दन शर्मासँग लागेको छ । उनी मात्रै होइन किराँत समुदायबाट लोकप्रिय नेताको रुपमा उदाइरहेका माओवादीका केन्द्रीय सदस्य सुदन किराँती, माओवादी प्रदेश अध्यक्षसमेत रहेका लिम्बुवानका नेता हर्कबहादुर नेम्वाङ (मिक्सो), वरिष्ठ उपाध्यक्ष शिवकुमार डाँगी र केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री शिवकुमार मण्डललगायत शर्माको गुटमा खुल्दै गएका छन् ।
आङ्बो, किराँती, नेम्वाङ र मण्डलहरुको यो समूहले अहिले गुटको मात्रै राजनीति गरिरहेको छैन । पार्टीभित्र जातका आधारमा भेदभाव गर्न थालेको व्यापक चर्चा छ । ‘यहाँ नाकका आधारमा व्यवहार हुन्छ । पार्टी जातिवादी भयो,’ १ नेताले भने, ‘यही हिसावले जाने हो भने लामो नाकवालाहरुले ठाउँ पाउने अवस्था कमजोर बन्दैछ ।’ ती नेताको भनाइले जनार्दन शर्मा समूह माओवादीभित्र जातीय आवरणमा आफ्नो गुटलाई मजवुत बनाउने खेलमा लागिरहेको प्रष्ट पार्छ ।
जनार्दन गुटले जातलाई कसरी पक्रिएको छ भन्ने उदाहरण प्रस्तुत गर्दै प्रचण्ड पक्षीय माओवादी नेताहरु चिन्ता व्यक्त गर्न थालेका छन् । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको कोशी प्रदेशको कार्यसमिति चयनमा पनि गुटले जात पक्रिदा प्रचण्ड समूहले पराजय व्यहोरेको थियो ।
अध्यक्षमा प्रतिस्पर्धा गरेका राजन समीप राई सुदन किराँतीनिकट हुन् । उनले विराटनगरका पत्रकार नवराज कट्टेललाई पराजित गरेका थिए । राईलाई लिम्बूवान, किराँत र मधेशका आदिवासी जनजातिहरु एकत्रित भएर भोट खसाल्दा कट्टेल निरीह बन्न पुगे ।
यस्तै, अर्को उदाहरण माओवादी विराटनगर महानगरपालिकाको दोस्रो सम्मेलन हो । उक्त सम्मेलनमा नेता शिवकुमार मण्डलले आफ्नो समूहबाट देव राजवंशीलाई जबरजस्ती अगाडि सारिदिँदा सिनियरहरु पाखा लाग्ने अवस्था देखिएको छ । ‘आफू गुटमा रहेका छन् । यहाँ जात देखाएर राजनीति भइरहेको छ,’ मोरङका १ माओवादी कार्यकर्ताले भने, ‘यसरी नै अगाडि जाने हो भने विराटनगरमा पनि पार्टी ध्वस्त हुने देखियो ।’
पार्टी अध्यक्ष प्रचण्डले विराटनगरको अध्यक्ष नमिना न्यौपानेलाई बनाउन निर्देशन दिएका थिए । तर, जनार्दन शर्मा गुट हाबी भएर जुनियरलाई अघि सार्दा पदाधिकारी नै चयन नगरिकन पार्टीको विराटनगर अधिवेशन स्थगित गरिएको छ ।
माओवादी अहिले पनि तराई–मधेश हुलाकी राजमार्ग लक्षित जागरण अभियानमा छ । उक्त अभियानमा प्रचण्ड आफैं दौडिरहेका छन् । माओवादीमा अरु नेताभन्दा प्रचण्डकै क्रेज धेरै देखिन्छ । त्यही भएर पनि शर्मा मधेशमा चलिरहेको अभियान छोडेर केही दिन अगाडि कोशी प्रदेशको भ्रमणमा आएका थिए ।
त्यसबेला शर्माले स्ववियु निर्वाचन जितेका अखिल क्रान्तिकारीका नेताहरुलाई बोलाएर शुभकामना तथा बधाई दिए । उनलाई आङ्बो र नेम्वाङलगायतले ताप्लेजुङको मुक्कुम्लुङ संघर्ष समितिसँग भेट गराउनुको साथै पाँचथरका विभिन्न पालिकामा भ्रमणसमेत गराएका थिए ।
सोही विषयलाई लक्षित गर्दै प्रचण्ड समूहका कोशी प्रदेश सचिवालय सदस्य मदन चुँडालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जनार्दन शर्मा पूर्वतिर गुटबन्दी गर्न हिँडेको आरोप लगाएका थिए । उक्त विषयमा चुँडाललाई माओवादी कोशी प्रदेशको सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको थियो ।
‘प्रदेश परिषद बैठकबाट पारित अनुशासन सम्बन्धी कार्यविधि विपरीत प्रदेश सचिवालय सदस्य क. मदन चुँडालले सामाजिक सञ्जालमा पार्टी नेतृत्वप्रति गलत र भ्रामक प्रचार हुनेगरी सामग्री सम्प्रेषण गर्नुभएकोले क. मदन चुँडाललाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ,’ माओवादी प्रदेश समितिले मातहतका कमिटीलाई पठाएको सर्कुलरमा उल्लेख छ ।
किराँत, लिम्बूवान र कोचिलाका लोकप्रिय नेता समातेर जनार्दन गुटले अध्यक्ष प्रचण्डलाई टक्कर दिन थालेको छ । गुटको राजनीति हुँदा पार्टीलाई नोक्सान पुग्ने र पार्टी कमजोर हुने चिन्ता कार्यकर्ताहरुको छ ।
पार्टीको कोशी प्रदेश संसदीय दलका नेता आङ्बोले भने माओवादीमा कुनै पनि समूह र उपसमूह नरहेको स्पष्ट पारेका छन् । ‘हाम्रो पार्टीमा गुट छ भन्ने कुरा मलाई थाहा छैन । हाम्रो नेता प्रचण्ड हो । उहाँलाई नै नेता मान्छौं । परम्परागत गुट र समूह भन्ने छैन । कतिपय विषयमा कसैले कुनै कुरा उठाउँदा त्यसलाई समूहमा बाँड्ने कुरा राम्रो हैन,’ उनी भन्छन् ।
पार्टीमा रहेका ‘काम चोर’हरुले केही नपाएर गुटको हल्ला गरिरहेको आङ्बोको भनाइ छ । ‘पार्टीमा काम गर्ने र परिणाम निकाल्ने मान्छेलाई प्रायोजित लाञ्छना लगाउने काम जहाँ पनि हुन्छ । त्यो भने कुण्ठाग्रस्त मनस्थिति हो,’ उनी भन्छन्, ‘कोशी प्रदेशमा पार्टीभित्र गुट, समूह र जातीय केही कुरा छैन । काम नगर्ने, काम चोर र ठगहरुले ल्याएको अनआवश्यक फण्डा मात्रै हो ।’

























