‘डाटा व्यवस्थापन तथा विश्लेषण’ तालिम सुरु

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १७:०१

विराटनगर । विराटनगर –५ बरगाछीमा रहेको गोग्रहा कलेजले ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सुरु गरेको छ ।

उच्च शिक्षामा गुणस्तरीय सुधार र वैज्ञानिक अध्ययन प्रणालीलाई सशक्त बनाउने उद्देश्यले तालिम सुरु गरिएको कलेजले जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोग सानो ठिमी भक्तपुरको सहयोगमा आयोजना गरिएको ३ दिने तालिम वैशाख २० गतेसम्म हुनेछ ।

कलेज प्रमुख गोविन्दप्रसाद अधिकारीले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित कलेजका प्राध्यापकहरू तालिममा सहभागी भएको बताए । झापा, मोरङ, सुनसरी र इलामका विभिन्न कलेजका प्राध्यापक तथा यस क्षेत्रसँग रुचि राख्नेसहित तालिममा ३० जना सहभागी भएको जानकारी दिए ।

‘प्राध्यापकहरूलाई समयानुकूल ज्ञानमा निखरता ल्याउन र शोध पत्रको निर्देशकको भूमिका सहज रूपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरेका हौं’, कलेजका प्रमुख अधिकारीले भने, ‘गत वर्ष अनुसन्धान व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरेकोमा यस वर्ष डाटा व्यवस्थापन तथा विश्लेषण तालिम आयोजना गरिएको हो ।’

प्रा.डा. पेशल खनाल, सहप्राध्यापक रमेशबाबु काफ्ले, सहप्राध्यापक डा. कृष्ण पाण्डे र सहप्राध्यापक डा. तुलानाथ काफ्लेसहित ४ जनाले तालिमको सहजीकरण गरेका छन् ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक चापागाईँले तथ्यांक र डाटाको प्रभावकारी प्रयोगले शिक्षालाई आधुनिकता र परिणाममुखी बनाउने बताउँदै यस्ता तालिमहरू आवश्यक र सान्दर्भिक रहेको बताए ।

उद्घाटन कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. मीनराज ढकाल, पूर्वाञ्चल विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. मेदिनीप्रसाद शर्मा, कोशी प्रदेश योजना आयोग सदस्य डा. प्रमिला गच्छदारलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.