मोरङमा ८ महिनामा ८ कैदीबन्दीको मृत्यु, खोजिँदैन कारण, हुँदैन पोस्टमार्टम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २५, बिहीबार १०:००

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका ५४ वर्षीय थुनुवा प्रवीण तामाङको आइतबार कोशी अस्पतालमा मृत्यु भयो । श्वासप्रश्वासमा समस्या भएपछि तामाङलाई उपचारका लागि शनिबार साँझ अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आइतबार बिहान ४ बजेतिर मृत्यु भएको हो । उनी अदालतको आदेशबाट २०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए । उनको मृत्युको कारण खोजिएन ।

वैशाख १५ गते उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको मृत्यु भयो । उनको पनि मृत्युको कारण खोजिएन । उनी जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् । लगातार बान्ता गर्न थालेपछि उनलाई उपचारका लागि चैत १३ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा चैत १५ गते उनको मृत्यु भएको थियो । दनुवार २०७८ साल असार ७ गते कारागार चलान भएका थिए । उनको मृत्युको कारण पनि खोजिएन ।

Advertisement

गत चैत २ गते मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ३८ वर्षीय बन्दी जितबहादुर देवानको मृत्यु भयो । अपराधिक उपद्र मुद्दामा अदालतले धरौटीबापत मागेको २५ हजार रुपैयाँ बुझाउन नसक्दा उनी कारागार चलान भएका थिए । तर, उनको मृत्युको कारण अझै पनि थाहा छैन ।

माथि उल्लेख गरिएका घटना उदाहरण मात्रै हुन् । यसरी कारागारका कैदी बन्दीको मृत्यु भइरहँदा पनि कारण कसरैले खोजेको छैन । सम्बन्धित निकाय नै चुप रहेका छन् ।

मोरङ कारागारमा पछिल्लो ८ महिनामा ८ जना कैदी बन्दीको मृत्यु भइसकेको छ । कारागार प्रशासनका अनुसार गत साउनदेखि वैशाख २१ गतेसम्म ८ कैदी बन्दीको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना कैदी छन् । ४ जना पुर्पक्षका लागि थुनामा रहेका थुनुवाहरू हुन् । तर, कसैको मृत्युको कारण भने खोजिएन ।

गत माघ २९ गते जबरजस्ती करणी मुद्दाका कैदी रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडू सतारको मृत्यु भएको थियो । गत पुस २० गते हाडनाता करणी मुद्दामा कैद भुक्तान गरिरहेका  बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको थियो । गत पुस ९ गते  ज्यान मार्ने उद्योगका थुनुवा ५१ वर्षीय अन्तरे भनिने बिर्खबहादुर लिम्बुको मृत्यु भएको थियो ।

मंसिर २ गते विराटनगर महानगरपालिका–८ का ५५ वर्षीय कैदी महानन्द राय अमातको मृत्यु भएको थियो । उनी घर भाडा नतिरेको कसुरमा कैद भुक्तानका लागि कारागार चलान भएका थिए । गत भदौ २३ गते बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको मृत्यु भएको थियो । उनी विरुद्ध मोरङसहित झापा, सुनसरी, इलाम र धनकुटामा चोरी मुद्दा चलेको थियो ।

जेलभित्रको काल गतिले हुने मृत्यु होस् वा शङ्कास्पद घटना कुनैमा पनि पोस्टमार्टम हुँदैन । कारागारमा मृत्यु भएकाहरूको अनिवार्य रूपमा पोस्टमार्टम गर्नुपर्छ भन्ने कानुनी व्यवस्था छैन ।

महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा ९ सय ३१ पुरुष र  ३ नाबालकसहित १ सय ७ महिला कैदी बन्दी छन् ।

मोरङ कारागारका प्रमुख गौरव ढुंगेलका अनुसार ८ जना कैदी बन्दीको मृत्यु उपचारका क्रममा भएको हो । तर, कसैको पोस्टमार्टम नगरेको उनले बताए । आफन्तले चाहेमा पोस्टमार्टम हुने बताउँदै उनले मृतक कसैका आफन्तले पोस्टमार्टम गर्नका लागि नचाहेको उनी बताउँछन् । बारम्बार कैदीको मृत्युको घटनाका विषयमा भने उनलाई अनौठो भने लागेन । बिरामी भएपछि सबैलाई उपचारका लागि अस्पताल लगिएको उनी बताउँछन् । ‘हामीले बिरामी भएकाहरू सबैलाई अस्पताल लगेका छौं । यहाँ एक जना स्वास्थ्यकर्मीको दरबन्दी पनि छ,’ उनले भने, ‘उपचारका क्रममा नै सबैको मृत्यु भएको हो ।’

क्षमता भन्दा ५ गुणा बढी कैदी रहेको मोरङ कारागारमा कैदीलाई बस्ने र सुत्ने ठाउँ छैन । सानो कोठामा ३५ जनासम्म कैदीलाई राखिएको छ । न्यूनतम मानवीय आवश्यकताका विषय पनि नराखेका कारण कैदी बिरामी परिरहन्छन् । समयमा नै उपचार नपाउँदा कैदी बन्दीको मृत्यु हुने गरेको छ ।

राज्यको ४ पर्खालभित्र नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु सम्बन्धमा सार्वजनिक रूपमा प्रश्न पनि उठेको छैन । मृत्युका घटनामा भविष्यमा पनि प्रश्न उठ्ने ठाउँ छैन ।  किनकि ती कुनै पनि घटनामा पोस्टमार्टम गरिएको छैन ।

जिल्ला कारागार मोरङ प्रशासनका अनुसार दिनहुँ जसो ८–९ जना कैदी बन्दीलाई उपचारका लागि अस्पताल पठाउनुपर्छ । यसरी उपचार गर्दा सरकारी अस्पतालको उपचार खर्च राज्यले तिर्छ । कोशी अस्पताललाई तिर्नुपर्ने दायित्व ६० लाख भन्दा बढी छ ।

जेलभित्रको काल गतिले हुने मृत्यु होस् वा शङ्कास्पद घटना कुनैमा पनि पोस्टमार्टम हुँदैन । कारागारमा मृत्यु भएकाहरूको अनिवार्य रूपमा पोस्टमार्टम गर्नुपर्छ भन्ने कानुनी व्यवस्था छैन । आफन्तलाई शंका लागे प्रहरीमा निवेदन दिएर पोस्टमार्टम गर्न सकिने भए पनि मोरङमा मृत्यु भएका कैदी बन्दीका परिवारले अहिलेसम्म पोस्टमार्टम गर्न चासो दिएका छैनन् ।

पोस्टमार्टम कुनै व्यक्तिको मृत्युको कारण थाहा पाउने वैज्ञानिक आधार हो । यसमा मृतकको शारीरिक अवस्था कस्तो थियो भनेर मृत्युको कारण के हुनसक्छ भन्ने उल्लेख गरिएको हुन्छ । पोस्टमार्टमले कुनै कर्तव्य गरी ज्यान मारेको वा मार्न प्रयास गरेको रहेछ भने त्यसको खुलासा हुने सम्भावना रहन्छ । तर, मोरङ कारागारमा अहिलेसम्म जतिको मृत्यु भयो उनीहरूको पोस्टमार्टम नगरिएका कारण मृत्युको अवस्था कारण खोजिएको छैन ।

मानव अधिकारकर्मी कोशराज न्यौपाने राज्यको नियन्त्रणमा हुने कैदी बन्दीको मृत्युको कारण खोजिनुपर्ने बताउँछन् । कारागार प्रशासनले कारण खोजेपछि मात्रै समस्या समाधान गर्न सकिने उनले बताए ।  ‘कारागारमा मानवीय जीवनयापनका न्यूनतम आवश्यकताहरू पूरा गर्नुपर्छ,’ उनले भने,’ ‘राज्यको नियन्त्रणमा रहेका मरेका व्यक्तिको मृत्यु हुन्छ भने पोस्टमार्टम गर्नुपर्छ । मृत्युको कारण खोजिनुपर्छ ।’

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.