
विराटनगर । हातमा स्मार्टफोन, एक सेकेन्डमै डिजिटल वालेटबाट भुक्तानी र सामाजिक सञ्जालमा देश-विदेशका खबर। प्रविधिले हाम्रो दैनिक जीवनलाई जति सहज बनाएको छ, अर्कोतर्फ अदृश्य रूपमा साइबर अपराध पनि उत्तिकै मौलाउँदै गएको छ। पछिल्लो समय कोशी प्रदेशमा प्रविधिको यो कालो छाया तीव्र रूपमा फैलिँदै गएको प्रहरीको तथ्याङ्कले प्रस्ट पारेको छ।
सामाजिक सञ्जालमार्फत हुने ठगी, चरित्रहत्या, अकाउन्ट ह्याकिङदेखि डिजिटल वालेट र बैंकिङ प्रणालीको दुरुपयोगसम्मका घटनाले आम नागरिकले सास्ती खेप्नुपरेको छ।
प्रहरीको आधिकारिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा मात्रै साइबर अपराधसम्बन्धी ४० वटा मुद्दा दर्ता भएका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ३५ वटा भन्दा अर्थात १४.३ प्रतिशतले बढी हो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा २४ वटा मुद्दा दर्ता भएकोमा दुई वर्षको अवधिमा यो सङ्ख्या ६६.७ प्रतिशतले वृद्धि भएको छ।
कोशी प्रदेशमा प्रविधिको प्रयोग जति बढेको छ, त्यसको दुरुपयोगबाट उब्जिने आपराधिक गतिविधि पनि उत्तिकै गहिरिँदै गएको छ। यस विषयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाले प्रविधिसँगै अपराधको शैली पनि बदलिएको बताए।
‘प्रविधिको विकाससँगै अपराधको शैली पनि फेरिएको छ। परम्परागत रूपमा भौतिक रूपमा हुने ठगीभन्दा अहिले डिजिटल माध्यमबाट हुने अपराधले समाजमा ठूलो आतङ्क सिर्जना गरेको छ। कोशी प्रदेशमा देखिएको यो तथ्याङ्क केवल केही अङ्क मात्र होइन, यो बढ्दो जोखिमको नयाँ नमुना पनि हो,’ एसएसपी थापाले भने।
सामाजिक सञ्जाल बन्यो अपराधको प्रमुख अखडा
कोशी प्रदेशको यो आँकडाभन्दा नेपाल प्रहरीको साइबर ब्युरोको राष्ट्रिय तथ्याङ्क झन् कहालीलाग्दो छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै देशभर साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा उजुरी तथा निवेदन दर्ता भएका छन्। एक वर्षको अन्तरालमा उजुरी सङ्ख्या करिब ८.५ प्रतिशतले बढेको छ।
प्राप्त उजुरीहरूको गहिराइलाई हेर्ने हो भने साइबर अपराधीहरूको प्रमुख निशाना सामाजिक सञ्जाल बनेको देखिन्छ। जसमा फेसबुक र म्यासेन्जरसम्बन्धी ७ हजार १२३, टिकटकसम्बन्धी ६ हजार ७७६, ह्वाट्सएपसम्बन्धी ३ हजार १०५, टेलिग्रामसम्बन्धी १ हजार ३१, इसेवा तथा खल्ती र बैंक खाता दुरुपयोगसम्बन्धी ७४४ र संस्थागत प्रकृतिका ८४६ वटा उजुरी रहेका छन्।
फेसबुक र टिकटकसँग सम्बन्धित उजुरी मात्रै जोड्दा १३ हजार ८९९ पुग्छ। यसले आजको डिजिटल समाजमा यी प्लेटफर्महरू मनोरञ्जनभन्दा पनि अपराधका ठूला अखडा बन्न थालेको देखाउँछ।
फेरिएको ठगीको शैली
केही वर्षअगाडिसम्म अनलाइन ठगी भन्नासाथ इमेलमा लोटरी परेको म्यासेज आउने गर्थ्यो। तर, अहिले अपराधीहरूले मानिसको मनोविज्ञानसँग खेल्दै नयाँ र अत्याधुनिक शैली अपनाएका छन्। ठगहरूले बैंक वा डिजिटल वालेटका कर्मचारी बनेर फोन गर्ने, खातामा ‘रिवार्ड पोइन्ट’ थुप्रिएको लोभ देखाउने, वैदेशिक रोजगारी वा आकर्षक अनलाइन कामको प्रलोभन दिने तथा व्यक्तिको फेसबुक ह्याक गरेर तिनैका आफन्तसँग पैसा माग्ने गरेका छन्।
उजुरी र मुद्दा दर्ताबीचको खाडल
देशभर २० हजारभन्दा बढी उजुरी पर्नु र कोशीमा ४० मुद्दा दर्ता हुनुमा देखिएको अन्तरले अझ चिन्ताजनक अवस्थालाई देखाएको छ। उजुरी पर्दैमा सबै घटना तुरुन्तै अदालतमा मुद्दाका रूपमा जाँदैनन्।
पहिला प्रहरीले उजुरी प्राप्त गरेपछि प्रारम्भिक छानबिन, डिजिटल प्रमाण सङ्कलन, प्राविधिक विश्लेषण र व्यक्ति पहिचानको लामो प्रक्रिया पार गर्नुपर्छ। उदाहरणका लागि, आर्थिक वर्ष २०८२/८३ मा साइबर ब्युरोले १६१ वटा मुद्दा दर्ता गरी १५५ जनालाई पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय प्लेटफर्महरूसँग डिजिटल डाटा माग्दा हुने कागजी प्रक्रियागत ढिलाइ र अपराधीले अपनाउने नयाँ प्रविधि अनुसन्धानका लागि ठूला चुनौती बनेका छन्। तसर्थ, कोशीमा ४० वटा मात्र घटना भए भनेर ढुक्क भएर बस्न सकिने अवस्था नरहेको प्रहरी अधिकारीहरूको भनाइ छ।



















