घरको कोठा भाडामा, को बस्छ पत्तो छैन !

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण २८, बिहीबार ११:४५

विराटनगर। बिहानदेखि साँझसम्म व्यापार, उद्योग र चहलपहलले व्यस्त रहने विराटनगरका मुख्य सडकसँगै जोडिएका भित्री गल्लीका अधिकांश घरको तल्लो तलामा पसल र माथिल्लो तलामा डेरा छन्। तिनमा विभिन्न जिल्लाबाट आएका परिवार, विद्यार्थी र मजदुर बाक्लो रूपमा बसिरहेका छन्।

घरधनीले आफ्नो घरको कोठा भाडामा लगाएका छन्, तर छेउको कोठामा ठ्याक्कै को बस्छ भन्ने सामान्य जानकारीसमेत छिमेकी वा घरधनीलाई हुँदैन। सीमा नाकासँग जोडिएको र पूर्वी नेपालका विभिन्न जिल्लाका लागि व्यापार तथा आवतजावतको प्रमुख केन्द्र भएकाले विराटनगरमा बाहिरबाट आउने मानिसको चाप हुनु अस्वाभाविक होइन। तर, डेरामा बस्ने व्यक्तिको पहिचान खोज्ने र त्यसको व्यवस्थित अभिलेख राख्ने बानी नबस्दा यो विषय अहिले सहरको मुख्य सुरक्षा चुनौती बन्दै गएको छ।

Advertisement

सामान्यतया कुनै पनि व्यक्तिलाई कोठा भाडामा दिँदा नागरिकता वा परिचयपत्र मागेर हेर्ने र सम्पर्क नम्बर लिने चलन हुनुपर्ने हो। तर, विराटनगरका अधिकांश घरधनीमा यो सामान्य अभ्यासको समेत अभाव देखिएको छ।

कोठा खाली नराख्ने र भाडा मात्र असुली गर्ने प्रवृत्तिका कारण को आएर बस्यो, उसको वास्तविक ठेगाना कहाँ हो र के काम गर्छ भन्ने कुरा घरधनीलाई थाहा हुँदैन। डेरामा बस्ने मानिसको परिचय खोजी गर्ने र विवरण सुरक्षित राख्ने बानीको विकास नभएका कारण कुनै अप्रिय घटना वा अपराध भइहालेमा त्यसको अनुसन्धान गर्न प्रहरीलाई समेत हम्मे-हम्मे पर्न सक्छ।

विराटनगर-३ का वडाध्यक्ष अर्जुन गिरी भन्छन्, ‘हाम्रो टोलमा सरसफाइ र सामाजिक सद्भावका कुरा प्राथमिकतामा छन्, तर भित्री गल्लीका घरमा कसले कोठा भाडामा लिइरहेको छ र भित्र को बसिरहेको छ भन्ने वास्तविक अभिलेख राख्ने बानी अझै बसिसकेको छैन। घरधनीहरूले कोठा भाडामा लगाउँछन् तर डेरावालाको परिचय र विवरण सुरक्षित राख्ने विषयमा गम्भीर भएर कोही पनि सोच्दैनन्। जबसम्म नयाँ मानिस आउँदा उसको विवरण लिने र राख्ने अभ्यास बस्दैन, तबसम्म टोलको सुरक्षा र सामाजिक समन्वयमा चुनौती थपिइनै रहन्छ।’

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार विराटनगर एउटा गतिशील सहर हो जहाँ रोजगारी, व्यापार र शिक्षाका लागि बाहिरबाट आउनेहरूको सङ्ख्या ठूलो छ। सीमा सुरक्षा र लागूऔषध नियन्त्रणमा स्थानीय तह र सुरक्षा निकायबिचको सहकार्य आवश्यक छ भनेर बारम्बार भनिए पनि डेरामा बस्ने मानिसहरूको पहिचान खोज्ने र त्यसको आधिकारिक अभिलेख राख्ने परिपाटीको कमी देखिएको छ। उनी भन्छन्, ‘बाहिरबाट आउने सबैलाई शङ्काको दृष्टिले हेर्नु हुँदैन, तर घरधनीहरूले डेरावालाको सही विवरण राख्ने बानी नबसाल्दा समग्र सुरक्षा व्यवस्थापनमा कठिनाइ आएको यथार्थलाई नकार्न मिल्दैन।’

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाका अनुसार विराटनगरमा घटेका केही घटनाले सुरक्षा व्यवस्थापनमा सूचना सङ्कलन र प्रमाणीकरण कति संवेदनशील हुन्छ भन्ने देखाएको छ। अपराध अनुसन्धानका क्रममा जब कुनै व्यक्ति केही समय डेरामा बसेर ठाउँ सर्छ, तब उसको बसाइको गतिलो प्रमाण वा अभिलेख नभेटिँदा घटनाको कडी जोड्न कठिन हुन्छ।

डेरावाला अधिकांश साधारण नागरिक हुन्, कसैलाई पनि अनाहकमा शङ्का गर्ने गरिएको छैन। तर घरधनीहरूले भाडा लगाउँदा व्यक्तिको परिचय खोजी गर्ने र त्यसको अभिलेख राख्ने जिम्मेवारी पूरा नगर्ने हो भने यसले सुरक्षा प्रणालीमा समस्या ल्याउन सक्छ।

विराटनगरको वास्तविकता बहुसांस्कृतिक र गतिशील सहर हो। यहाँ जीविकोपार्जनका लागि बाहिरबाट आउने मानिसहरूलाई शङ्काको घेरामा राखेर सुरक्षित सहर बनाउन सकिँदैन। बाहिरबाट आउने नागरिकहरू अधिकांश साधारण र श्रमजीवी हुन्छन्। त्यसैले, असुरक्षाको उपचार अपरिचित मानिसलाई शङ्का गर्नु होइन, घरधनीमा डेरावालाको परिचय खोज्ने र अभिलेख राख्ने संस्कार बसाल्नु आवश्यक रहेको सरोकारवालाको बुझाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.