
काठमाडौं । भारत–पाकिस्तान युद्धका कारण रोकिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेल जेठ ३ (१७ मे)बाट सुरु हुने भएको छ ।
गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो ।
सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो । अब फाइनल खेल भने जेठ २० गते (३ जुन) हुनेछ ।
परिमार्जित तालिका सार्वजनिक गर्दै बीसीसीआईले भनेको छ, ‘बीसीसीआई टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउँदा खुशी छ । सरकार, सुरक्षा निकायहरू र सबै सरोकारवालासँग विस्तृत छलफलपछि बाँकी खेल अगाडि बढाउने निर्णय गरिएको हो ।’
अब बाँकी १७ खेल ६ स्थानमा खेलिनेछन् ।




















