भाँडामा चिया उम्लिरह्यो, मनमा दुःख

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ जेष्ठ १४, बुधबार १५:२३

विराटनगर । मोबाइलको स्क्रिन स्क्रोल गर्दै टिकटकका भिडियोमा डुबिरहेकी थिइन् सीतादेवी पासवान । बाहिरी डिजिटल संसारका आवाजमा हराएजस्तै देखिए पनि, उनको मनमा भने चियाको बाफसँगै मिसिएको तीन दशकको जीवनकथा मडारिइरहेको थियो ।

अल्छी लाग्दा समय कटाउन अनि कहिलेकाहीँ मन बहलाउन मोबाइल हेर्ने गरेको उनको भनाइ छ । भेटका क्रममा मोबाइलको स्क्रिन बन्द गर्दै मन्द मुस्कानका साथ उनले भनिन्, ‘अल्छीको औषधि हो मोबाइल ।’

Advertisement

विराटनगरको कलेज रोडमा रहेको पत्रकार महासंघको प्रांगणमा रहेको सानो घुम्तीमा छ उनको चिया पसल । त्यही सानो घुम्तीमा उनले जीवनका अनेकौँ मोडहरू पार गरिन् ।

तीन दशकदेखि तातो चियाको भाँडामा परिवारका सपना, आफ्ना रहर र संघर्ष मिसाएर आउने–जानेलाई चियासँगै सम्बन्धको मिठास बाँडिरहेकी छिन् ।

चिया पसल थाल्दा वरपर अरु पसल थिएनन् । चिया व्यवसायमा उनी एक्लो राज थियो । कलेज रोडमा ओहोरदोहोर गर्ने बटाुवा मात्र होइन, समाचार खोज्दै हिँड्ने पत्रकारहरू पनि उनका मुख्य ग्राहक हुन् ।

तीन दशकदेखि खटिरहेकी उनको चाउरिएको निधारले निकै अनुभव संगालेको छ । गर्मी–जाडोका मौसममा उनको हातले बनाएको चियामा सम्बन्धको अदृश्य मिठास पनि मिसिएको हुन्छ भन्छन् पारखी ।

कुरा गर्दै गर्दा बीचबीचमा मोबाइल स्क्रोल गर्दै उनी भन्छिन्, ‘पहिले मेरो मात्र पसल थियो, धेरै बिक्थ्यो। अहिले पसल धेरै छन्, बिक्री घटेको छ ।’

५७ वर्षीया गीतादेवीको जवानीदेखि अहिलेसम्म त्यही घुम्तीको चियाको बाफसँगै रुमलिइरहेको छ । तर, उनले आफ्ना तीन सन्तानलाई भने रुमलिन दिइनन् ।

बिरामी श्रीमान र छोराहरूको पढाइ खर्च चिया बेचेरै जोहो गरिन् । त्यसैले त्यो साधारण देखिने चिया पसल उनका लागि केवल व्यापार होइन, जीवनको आधार हो । जहाँ प्रत्येक गिलास चियासँगै भविष्यको आशा मिसिएको हुन्थ्यो ।

ग्राहकको मुस्कानसँगै उनका सपना पनि पाक्थे । त्यही चियाको बाफ र गिलाससँगै हुर्किए उनका छोराहरू– संघर्षको कठघरामा उभिएका बाबुआमाका साक्षी बनेर ।

श्रीमान केही समयअघि कहिल्यै नफर्किने बाटो लागे । एक पाङ्ग्रा खुस्किएझैँ भयो उनको जीवन । यसै दुःख थियो । श्रीमानले छाडेर गएपछि थपियो ।

दुःखपछि सुख आउँछ भन्ने उनले सानैदेखि सुन्दै आएकी हुन् । त्यही आशामा सधैं चिया उमालिरहिन् । पारखीलाई स्वाद चखाइरहिन् । तीन दशकदेखि उनले भाँडामा निरन्तर चिया उमालिरहेकी छन् । कहिलेकाहीँ बिरामी पर्दा पनि छोराहरुको भविष्य लागि उनले थकाइ मार्ने मौका पाइनन् । समय आफ्नै सुरमा अघि बढिरह्यो । भाँडामा चिया उम्लिरह्यो, मनमा दुःख ।

समयसँगै जीवन फेरियो । छोराहरू हुर्किए, कमाउन सक्ने भए । अहिले उनी छोराबुहारी र नातिसँगै बाँचिरहेकी छिन् । पत्रकार महासंघले आफ्नो कार्यालय भवन बनायो । दशकौंदेखि चिया पकाउँदै आएकी गीतादेवीको परिवारलाई घर बनाउन पनि सहयोग गर्यो ।

अहिले उनी कोशी प्रोजेक्ट क्षेत्रमा आफ्नो चार कोठे घरमा बस्छिन् । त्यो सानो घुम्तीले आफूलाई बाँच्न सिकाएको उनको अनुभव छ । मात्रै सिकाएन, चियासँगै उनको जीवन पनि उम्लेको थियो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा होम बिल्ड एक्जिविसन आयाेजना हुँदै
सामाजिक सञ्जालमा भ्रम फैलिएपछि सांसद रुक्मिणीदेवी कोइरालाकाे आपत्ति
उपभोक्ताले सिलिण्डर सञ्चय गर्दा बजारमा ग्यास अभाव
सांसदलाई प्रशिक्षण दिदै रास्वपा, माेबाइल र आफन्त लैजान निषेध
यी हुन् ११० जना समानुपातिक सांसद
नक्कली ऋणी देखाएर सिटिजन्स बैंककाे करिब ५ कराेड घाेटला
रवि लामिछानेविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने
‘फागुन २१ को निर्वाचन भदौ २३ र २४ को दोस्रो एपिसोड’
पेट्रोलियम पदार्थको मूल्यवृद्धि : भाडा समायोजन गर्न महासंघको माग
काँकडभिट्टा–लौकही सडक योजनामा स्वार्थको द्वन्द्व: सीडीई पन्तको पदस्थापन विवादमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.