पूर्वी पहाडमा रास्वपा कमजोर, ओखलढुंगाबाट विश्वराजले बचाए साख

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार १६:०८

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर अप्रत्याशित र ऐतिहासिक सफलता हासिल गरेको छ ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले परम्परागत दलहरूलाई कडा चुनौती दिँदै उल्लेखनीय परिणाम निकालेको हो । देशभर प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १२५ वटामा रास्वपाका उम्मेदवार विजयी भए । अन्य दलका र स्वतन्त्र उम्मेदवार ४० सिटमा खुम्चिए ।

मतदाताको ठूलो समर्थन र परिवर्तनको चाहनाले जन्माएको परिणामले नेपाली राजनीतिक इतिहासमै नयाँ मोड ल्याएको छ । सुशासन, पारदर्शिता र परिवर्तनको एजेन्डा लिएर मैदानमा उत्रिएको रास्वपा जनताको असन्तुष्टि र वितृष्णालाई आफ्नो पक्षमा परिणत गर्न सफल भयो । वर्षौंदेखि सत्ता सञ्चालन गर्दै आएका परम्परागत दलप्रति बढ्दो अविश्वास र निराशाको माहोललाई रास्वपाले अवसरमा परिणत गरिदियो ।

तर, देशभर विजयको लहर चलाइरहँदा रास्वपाको कथा कोशी प्रदेशका पहाडी जिल्लामा भने बिल्कुलै फरक देखिएको छ । तराईका जिल्लामा झन्डै एकलौटी जित निकाल्दै कांग्रेस–एमालेजस्ता परम्परागत दललाई सिध्याएको रास्वपाको प्रदर्शन पूर्वी पहाडमा भने निक्कै फितलो रहयो । सांगठनिक अवस्था, जनआस्था, जनलहर र राजनीतिक प्रभावका हिसाबले पूर्वी पहाडमा रास्वपा निकै कमजोर सावित भएको निर्वाचन परिणामले देखाएको छ ।

यद्यपि, रास्वपाको पूर्वी पहाडी क्षेत्रमा पूर्ण पराजय भने भएन । ओखलढुंगाबाट नेपाल प्रहरीका पूर्वएआईजी (पूर्वअतिरिक्त महानिरीक्षक) विश्वराज पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै पार्टीको साख र प्रतिष्ठा जोगाउन सफल भए । पोखरेल कोशी प्रदेशका पहाडी जिल्लाबाट विजयी हुने रास्वपाका एक्ला उम्मेदवार हुन् ।

ओखलढुंगाको चुनावी परिणाम अत्यन्तै रोमाञ्चक बन्यो । पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेल १३ हजार ९४८ मतमा रोकिए । दुवै उम्मेदवारबीचको मतान्तर ५ मात्रै छ । एउटै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा अन्य प्रमुख दलका उम्मेदवार पनि प्रतिस्पर्धामा थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाए भने नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापा १० हजार ७२० मतमा सीमित भइन् ।

यति कडा प्रतिस्पर्धाबीच जित निकाल्दै पोखरेलले पूर्वी पहाडमा रास्वपाको उपस्थिति कायम राखेका छन् । पोखरेलको राजनीतिक यात्रा भने अचानक सुरु भएको होइन । उनी नेपाल प्रहरीका अनुभवी र वरिष्ठ अधिकृतका रूपमा चिनिन्थे । तर, प्रहरी संगठनमै भएको राजनीतिक हस्तक्षेपका कारण अन्याय भोग्नु परेको थियो ।

२०७९ साल वैशाख १८ गते तत्कालीन सरकारले नेपाल प्रहरीको २९औं आईजीपी (प्रहरी महानिरीक्षक) बनाउँदा वरीयताको पहिलो नम्बरमा रहेका पोखरेललाई रोक्दै तेस्रो वरीयताका धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । पोखरेलभन्दा कनिष्ठ रहेका सिंहलाई आईजीपी बनाइँदा प्रहरी संगठनभित्र राजनीतिक प्रभाव र हस्तक्षेपको विषय व्यापक रूपमा उठ्यो ।

त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको उक्त निर्णय निकै विवादास्पद बनेको थियो । राजनीतिक वृत्तमा विशेषगरी देउवा पत्नी तथा पूर्वमन्त्री आर्जु राणा देउवाले सिंहलाई आईजीपी बनाउन चाहेको चर्चा पनि व्यापक थियो । वरीयता, वरिष्ठता र सेवा अनुभवलाई बेवास्ता गर्दै गरिएको नियुक्तिले प्रहरी संगठनको प्रणालीमाथि प्रश्न उठाएको थियो ।

२०४९ चैत ११ गते इन्स्पेक्टर पदबाट सेवा सुरु गरेका पोखरेल लामो समय प्रहरीमा काम गरेका अनुभवी अधिकारी हुन् । २०७७ मंसिर २५ गते उनलाई एआईजीमा एकल बढुवा गरिएको थियो । उनी आफ्नो ब्याचका सबैभन्दा वरिष्ठ प्रहरी अधिकारी थिए ।

तर, आईजीपी नियुक्तिको विवादपछि उनले प्रहरी सेवाबाट राजीनामा दिए । त्यसपछि उनी सक्रिय राजनीतिमा प्रवेश गर्दै रास्वपाबाट उम्मेदवार बनेका हुन् । अहिले जनताबाट प्रत्यक्ष मत पाउँदै प्रतिनिधिसभामा निर्वाचित हुनुलाई उनले भोगेको अन्यायको राजनीतिक जवाफका रूपमा हेरिएको छ ।

रास्वपाका नेता कार्यकर्ताहरुका अनुसार ओखलढुंगामा पोखरेलको विजय पार्टीको लहरका कारण मात्रै सम्भव भएको हैन । व्यक्तिगत छवि, सुरक्षा प्रशासनबाट प्राप्त अनुभव, अनुशासन र स्थानीय पहिचानले पोखरेललाई जिताउन ठूलो भूमिका खेलेको उनीहरु बताउँछन् । ओखलढुंगालाई ऐतिहासिक रूपमा नेपाली कांग्रेसको गढ मानिन्छ । प्रजातन्त्रका लागि बलिदान दिएका सहिदहरूको जिल्ला भनेर चिनिने ओखलढुंगामा कांग्रेसको राजनीतिक प्रभाव लामो समयसम्म बलियो रहँदै आएको थियो ।

यो जिल्लामा प्रजातन्त्रको आन्दोलनमा कांग्रेसका तर्फबाट लीला दाहाल, ठगी दाहाल, गोकर्ण कार्की, पेशल दाहाल, महेश कोइराला, क्याप्टेन यज्ञबहादुर थापा, भैरव राईसहित ५६ जनाले बलिदानी दिएका थिए । यही ऐतिहासिक पृष्ठभूमि र भावनात्मक आधारले पनि ओखलढुंगालाई कांग्रेसको गढ भनिएको हो ।

विगतमा पटकपटक कार्यवाहक प्रधानमन्त्री बनेका बलबहादुर राईको राजनीतिक प्रभाव पनि यही जिल्लासँग जोडिएको छ । कांग्रेससँगै नेकपा (एमाले)को पनि ओखलढुंगामा बलियो उपस्थिति रहँदै आएको थियो । यसरी कांग्रेस र एमालेले आलोपालो नेतृत्व गर्दै आएको जिल्लामा नयाँ दल रास्वपाले विजय हासिल गर्नुलाई राजनीतिक रूपमा ठूलो परिवर्तन मानिएको छ ।

स्थानीय तहमा समेत कांग्रेस, एमाले र नेकपाको मात्रै प्रतिनिधित्व रहेको ओखलढुंगामा परम्परागत दलहरूको गढ भत्काएर विजय हासिल गर्नु सामान्य विषय नभएको रास्वपा ओखलढुंगाका नेता भक्त कटवाल बताउँछन् । उनका अनुसार अत्यन्तै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले ऐतिहासिक परिणाम निकालेको छ ।

‘धेरै चुनौतीबीच परम्परागत दलहरूको गढमा पार्टीको झन्डा फहराउनु सामान्य कुरा होइन । विश्वराज पोखरेलको उच्च व्यक्तित्व, उत्कृष्ट राजनीतिक क्षमता र कडा मिहिनेतकै कारण यो सम्भव भएको हो । त्यसमा पार्टीका सबै नेता कार्यकर्ताले साथ दिएका छौं । अन्ततः उहाँ सफल हुनु भयो । पार्टीको इज्जत जोगियो,’ कटवालले भने । उनका अनुसार पोखरेलको इमान्दार चरित्र, शालीन व्यक्तित्व, अनुशासन र राजनीतिक सुझबुझले मतदातालाई प्रभावित पारेको थियो । साथै, पारिवारिक र स्थानीय पहिचानका कारण पनि मतदाताले उनलाई अनुमोदन गरेको कटवलाको भनाइ छ ।

पोखरेल स्वयं ओखलढुंगाकै भएकाले पनि उनलाई चुनाव जित्न सहज भएको स्थानीय नेताहरूको बुझाइ छ । कटुवालका अनुसार यदि रास्वपाले अन्य व्यक्तिलाई उम्मेदवार बनाएको भए जित निकाल्न गाह्रो हुन्थ्यो । असहज परिस्थिति झेल्नु परेको भए परिणाम अर्कैतिर जान सक्थ्यो । कोशीका पहाडी जिल्लामा रास्वपाको लहर बलियो नभएको निर्वाचन परिणामको तथ्यले स्पष्ट पारेको कटवालको भनाइ छ ।

‘पूर्वी पहाडमा रास्वपाबाट चुनाव जित्ने पोखरेल एक्लै हुनुहुन्छ । निर्वाचनबाट प्राप्त परिणामले नै पहाडी क्षेत्रमा पार्टीको अवस्था कस्तो छ भन्ने देखाउँछ,’ उनले भने । पूर्वी पहाडबाट जित्ने रास्वपाका एक्लो सांसद भएकाले पनि पोखरेललाई मन्त्रिपरिषदमा समेट्नुपर्ने आवाज पार्टीका नेता कार्यकर्ताले उठाउन थालेका छन् ।

उनीहरूका अनुसार पहाडी क्षेत्रबाट विजयी हुने एक मात्र प्रतिनिधि भएकाले पोखरेललाई मन्त्री बनाउँदा सकारात्मक सन्देश जानेछ । एक नेता भन्छन्, ‘रास्वपाले पहाडलाई पनि स्थान दिन्छ भन्ने सन्देश दिन, आगामी दिनमा पहाडी क्षेत्रमा पार्टीको संगठन मजबुत बनाउन र कार्यकर्तामा ऊर्जा थप्न पोखरेललाई मन्त्री बनाउनु उचित हुन्छ । हामी पार्टीभित्र यही ‘लबिङ’ गर्नेछौं ।’

पोखरेल सुरक्षा प्रशासनमा अनुभवी मानिन्छन् । प्रहरी संगठनको नीति निर्माण तहमा बसेर काम गरिसकेको अनुभव, सुरक्षा विषयमा गहिरो ज्ञान र गृह प्रशासनसँग सम्बन्धित लामो अनुभवका कारण उनी सबै हिसाबले सक्षम रहेको नेताहरु बताउँछन् । उनीहरुका अनुसार यस्ता व्यक्तित्वलाई मन्त्रिपरिषदमा समावेश गर्दा पार्टीको साख झन् उच्च हुनेछ ।

कोशी प्रदेशमा कुल २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये रास्वपाले एक्लैले १७ सिट जितेको छ । एमाले र नेपाली कांग्रेसले चार–चार तथा श्रम संस्कृति पार्टीले तीन सिटमा विजय हासिल गरेका छन् । तराई क्षेत्रमा पर्ने मोरङ, झापा र सुनसरीमा भने रास्वपाको प्रभाव अत्यन्तै बलियो देखिएको छ ।

मोरङका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । मोरङ–१ बाट यज्ञमणि न्यौपाने, २ बाट कृष्णकुमार कार्की, ३ बाट गणेश कार्की, ४ बाट सन्तोष राजवंशी, ५ बाट आशा झा र ६ बाट रुबिना आचार्य निर्वाचित भएका हुन् । झापाका पाँचवटै क्षेत्र रास्वपाको कब्जामा पुग्यो । झापा–१ बाट निशा डाँगी, २ बाट पूर्वउपसभामुख इन्दिरा रानामगर, ३ बाट प्रकाश पाठक, ४ बाट शम्भुप्रसाद ढकाल र ५ बाट बालेन्द्र साह (बालेन) विजयी भएका छन् । मोरङ र झापामा रास्वपाले ‘क्लिन स्वीप’ गरिदिएको हो ।

सुनसरीमा भने एक क्षेत्रमा मात्रै रास्वपा पराजित भयो । सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) विजयी भए । अन्य तीन क्षेत्रमा रास्वपाका उम्मेदवार सफल भए । सुनसरी–२ बाट लालविक्रम थापा, ३ बाट अशोकुमार चौधरी र ४ बाट दीपककुमार साह निर्वाचित भएका हुन् ।

भित्री मधेशमा पर्ने उदयपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको छ । उदयपुर–१ बाट पारशमणि गेलाल र उदयपुर–२ बाट सूर्यबहादुर तामाङ निर्वाचित भएका हुन् । तर, पूर्वी पहाडी जिल्लाहरूमा भने परम्परागत दलहरूको प्रभाव कायम रहयो ।

इलाम–१ बाट नेपाली कांग्रेसका निश्कल राई र इलाम–२ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भए । एमालेबाट ताप्लेजुङमा क्षितिज थेवे, धनकुटामा राजेन्द्रकुमार राई र संखुवासभामा डा. अर्जुनकुमार कार्की तथा कांग्रेसबाट तेह्रथुममा सन्तोष सुब्बा, पाँचथरमा नरेन्द्रकुमार केरुङ र सोलुखुम्बुमा प्रकाशसिंह कार्की विजयी भएका छन् ।

भोजपुर र खोटाङमा भने श्रम संस्कृति पार्टीले सफलता हासिल गरेको छ । भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन् । अधिकांश पूर्वी पहाडी जिल्लामा रास्वपा निकटतम प्रतिद्वन्द्वी समेत बन्न सकेन । संखुवासभाबाहेक अन्य क्षेत्रमा कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी र नेकपाका उम्मेदवारबीच प्रतिस्पर्धा देखियो ।

यसरी हेर्दा कोशी प्रदेशमा रास्वपाले कुल सिटमध्ये बहुमत जिते पनि त्यो सफलता मुख्य रूपमा तराई र भित्री मधेशमा केन्द्रित भएको छ । पूर्वी पहाडमा भने संगठन विस्तार, जनाधार निर्माण र राजनीतिक प्रभाव विस्तार गर्न पार्टीले अझै धेरै मिहिनेत गर्नुपर्ने चुनौती रहेको नेता कार्यकर्ता बताउँछन् ।

यस्तो परिस्थितिमा ओखलढुंगाबाट विश्वराज पोखरेलको विजय रास्वपाका लागि प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण मानिएको छ । यो जितले पहाडी क्षेत्रमा पनि पार्टीको सम्भावना रहेको सन्देश दिन्छ । तर, त्यसलाई संस्थागत बनाउन आगामी दिनमा गम्भीर रणनीति आवश्यक पर्ने विश्लेषकहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.