मोरङमा मत बदर बढ्दै : प्रत्यक्षतर्फ ७.१८ प्रतिशत

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २५, सोमबार २०:३८

विराटनगर । मोरङमा मत बदर हुने क्रम बढेको छ । पछिल्ला चारवटा निर्वाचनको विश्लेषण गर्दा मत बदर प्रतिशत बढेको हो ।

मत बदर बढ्दै गएको तथ्यांकले चिन्ता बढाएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि २०७४, २०७९ र २०८२ को प्रतिनिधिसभा निर्वाचनसम्म बदर मत क्रमशः ६.२५, ५.३, ५.९५ र ७.१८ प्रतिशत छ ।

Advertisement

मोरङमा २०७४ सालको निर्वाचनयता मत बदर हुने क्रम लगातार बढिरहेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको मत बदरको प्रतिशत झन् चिन्ताजनक छ ।

७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा बिहीबार सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ५ लाख २ हजार ६६४ मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेकोमध्ये ३६ हजार १०९ मत बदर भएको छ । समग्रमा बदर मत प्रतिशत ७.१८ रहेको हो ।

मोरङमा समानुपातिकतर्फ ५ लाख ५ हजार ६८ मत खसेको थियो । यसमा २८ हजार ४९९ मत बदर भएको छ । समानुपातिकतर्फको बदर मत प्रतिशत ५.६४ छ ।

मोरङमा प्रतिनिधिसभातर्फ ६ वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा खसेको ७६ हजार ३७९ मतमध्ये ४ हजार ४१७, २ मा ८० हजार ६५९ मतमध्ये ६ हजार ५६, ३ मा ९६ हजार २८३ मतमध्ये ६ हजार ८२७, ४ मा ७९ हजार ७७५ मतमध्ये ५ हजार २५६, ५ मा ७८ हजार ४४९ मतमध्ये ७ हजार ८८९ र क्षेत्र नम्बर ६ मा खसेको ९१ हजार ११९ मतमध्ये ५ हजार ६६४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनको पर्यवेक्षण गर्दै आएको मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुन्य पी अधिकारीले मत बदर बढ्नु सकारात्मक संकेत नभएको बताए । उनी भन्छन्, ‘मतदाता शिक्षा प्रभावकारी नहुनु र राजनीतिक दलहरुले पनि ध्यान नदिनुले मत बदर बढेको देखिन्छ ।’ उनले आगामी निर्वाचनमा मत बदर घटाउनेतिर निर्वाचन आयोगले ध्यान दिनुपर्ने अधिकारीको भनाइ छ ।

सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ मत बदर बढ्दा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको बताउँछन् । ‘मतदान प्रक्रियाका बारेमा पर्याप्त जानकारी नपुग्दा मतदाताले त्रुटि गरिरहेका छन् । विशेषगरी ग्रामीण क्षेत्र, पहिलो पटक मतदान गर्ने र वृद्ध मतदातामा यो समस्या बढी देखिन्छ,’ उनले भने ।

मतदानको महत्त्वपूर्ण प्रक्रियामा सहभागी हुँदा मतदाताले प्रक्रिया राम्ररी बुझ्नुपर्ने श्रेष्ठको भनाइ छ । मतपेटिकामा मतपत्र हाल्नुअघि के गर्ने र के नगर्ने भन्ने पर्याप्त जानकारी नदिँदा अनपेक्षित रूपमा मत बदर हुने गरेको उनी बताउँछन् । मोरङमा बढ्दो मत बदरले आगामी निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको अभियन्ता श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.