
विराटनगर । स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ। अतिरिक्त समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गिएपछि पेनाल्टी सुटआउट भएको थियो ।
डिएगो कोस्टाले अल्भारो मोराटाको पेनाल्टी सुटआउट बचाएपछि डिफेन्डिङ च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल दुई पटकको नेसन्स लिग विजेता बनेको हो ।
स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डेसले बराबरी दुई गोल फर्काएका थिए ।
खेलको अन्त्यमा कप्तान क्रिस्टियानो रोनाल्डोका आँखा खुशीको आँसुले भरिएका थिए । खेलको अन्त्यतिर चोटका कारण मैदानबाट बाहिरिए पनि रोनाल्डोले खेल बराबरीमा ल्याउन महत्वपूर्ण गोल गरे । जसले खेललाई अन्ततः पेनाल्टी सुटआउटमा टुंगो लगायो । यसअघि सन् २०१९ को उपाधि पनि जितेको थियो ।



















