कोशी प्रदेश : सत्ताको उन्मादमा मन्त्री हाङगामको दादागिरी

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ असार ९, सोमबार १३:५०
मन्त्री खगेनसिङ हाङगाम र कुटाइ खाने रक्की थेवे ।

विराटनगर । खगेनसिङ हाङगाम कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री हुन् । तर, उनलाई त्यो पदले गिज्याइरहेको छ ।

हाङगामको शैली र व्यवहार तल्लो स्तरको मात्रै छैन, निक्कै घृणित र अपाच्य छ । सत्ताको उन्मादमा उनको मनपरी र दादागिरीले सीमा नाघ्दै गएको छ । पदीय मर्यादाविपरीत सार्वजनिक पदधारण गरेका व्यक्ति, ठेकेदार र सर्वसाधारणलाई कुटपिट गर्नेदेखि विभिन्न कार्यालयका कर्मचारीलाई थर्काउने, धम्क्याउने तथा अश्लील शब्दले गालीगलौज गर्नेसम्मका हर्कत उनले गरिरहेका हुन् ।

Advertisement

मन्त्री हाङगामको विगत पनि विवादित छ । पछिल्ला हर्कतहरुले उनलाई थप विवादित बनाउँदै लगेको छ । हाङगामले गृहजिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेमाथि कुटपिट गरे । फुङलिङ नगरपालिका–४ स्थित सडकमा गत मंगलबार बेलुका भएको सामान्य विवादमा मन्त्रीले अध्यक्ष थेवेलाई कुटेका हुन् । तर, प्रहरीले भने पीडितले जाहेरी नदिएको बताउँदै आएको छ ।

घटनाको प्रत्यक्षदर्शीका अनुसार अबको निर्वाचनमा आफूसँग चुनाव लड्ने घोषणा गरेको भन्दै हाङगामले थेवेलाई कुटपिट गरेका हुन् । हातपात गर्दै मन्त्री आक्रमणमा उत्रिएपछि थेवे घटनास्थलबाट हिँडेका थिए ।

कुटपिट गर्ने व्यक्ति भीआईपी भएकै कारण यो विषयमा बोल्न र प्रारम्भिक अनुसन्धान गर्न प्रहरीले आवश्यक ठानिरहेको छैन । जसका कारण पदमा बसेर गरिने गलत हर्कतले निरन्तरता पाउने गरेका छन् । अध्यक्ष थेवेले घटना भएको स्वीकार गरिरहँदा मन्त्री हाङगाम भने वास्तविकतालाई अर्कैतिर मोड्न खोजिरहेका छन् ।

घटनाको प्रत्यक्षदर्शीका अनुसार अबको निर्वाचनमा आफूसँग चुनाव लड्ने घोषणा गरेको भन्दै हाङगामले थेवेलाई कुटपिट गरेका हुन् । हातपात गर्दै मन्त्री आक्रमणमा उत्रिएपछि थेवे घटनास्थलबाट हिँडेका थिए । घटनास्थलमा प्रहरीसमेत पुगेको थियो । घटनापछि दुवै पक्षलाई मिलाउने प्रयास गरिएको थियो ।

नेकपा (एकीकृत समाजवादी)का कोशी प्रदेश सदस्यसमेत रहेका थेवेले आफू मन्त्री हाङगामलाई धन्यवाद दिनका लागि बाटोमा पर्खिएर बसेका बेला कुटाइ खाएको बताए । ‘यसवर्ष ताप्लेजुङको आईटी हब र अलैँची जोनका लागि राम्रो बजेट ल्याउन सफल भएको सुनेपछि मन्त्रीज्यूलाई धन्यवाद दिन बाटैमा मोटरसाइकल रोकेर पर्खिरहेको थिएँ । हाङगामसँग भेट भएपछि दुवै जनाले हात मिलायौं । जिल्लामा राम्रो बजेट ल्याउन सफल भएकोमा धन्यवाद पनि दिएँ,’ थेवे भन्छन्, ‘तर, त्यसपछि ‘ताप्लेजुङमा खगेनसिङसँग भिड्ने को छ अरे ?’ भन्दै उहाँ एक्कासि आवेशमा आउनु भयो । मैले यो कुरा मलाई थाहा छैन भनें । हामी राजनीति गर्ने मान्छे कतै केही बोलियो कि भन्ने पनि लाग्यो । यो कुरा कसले भनेको ? भनेर सोध्दासोध्दै उहाँले बक्सिङ प्रहार गर्न थाल्नु भयो ।’

साथीहरुले ‘साइड’ लाग्नु भनेपछि मन्त्रीकै इज्जतका लागि आफू त्यहाँबाट हिँडेको उनले बताए । कुटाइबाट चोटपटक नलागे पनि आत्मसम्मानमा चोट पुगेको थेवेले बताए । ‘मन्त्रीका लागि यो सामान्य कुरा होला,’ उनी भन्छन्, ‘तर, मन्त्रीजस्तो व्यक्तिले सार्वजनिकस्थलमा कुट्दै र धम्क्याउँदै हिँड्नु शोभनीय भएन ।’

घटनाको विषयलाई लिएर प्रहरीमा आफूले जाहेरी नदिएको उनको भनाइ छ । ‘राजनीतिक विषय भएकाले यो लफडालाई राजनीतिक हिसाबले मिलाउनुपर्छ भन्ने लाग्यो । सबै जनाबाट त्यस्तै सुझाव र दबाब आयो । तर, ममाथि आक्रमण गर्नुको कारण मन्त्री हाङगामले स्पष्ट पार्नुपर्छ । चित्त बुझेन भने प्रहरीमा जाहेरी दिन्छु । न्यायका लागि लड्छु,’ थेवेले भने ।

आफ्ना कार्यकर्ताले मन्त्रीको हातबाट कुदाइ खाँदा नेकपा (एकीकृत समाजवादी)ले पनि कुनै प्रतिक्रिया दिएको छैन । यस विषयमा बुझ्न खोज्दा पार्टीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई सम्पर्कमा आउन चाहेनन् ।

मन्त्रीले अध्यक्ष थेवेमाथि आक्रमण गरेको विषयमा पाथीभरा क्षेत्र विकास समिति मौन छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले यस विषयमा आफूले सुने पनि संस्थागत विवादका कारण घटना नभएको बताए । ‘समितिसँग सम्बन्धित विषय नभएकैले चासो राखिएको छैन । यदि त्यस्तो थियो भने अध्यक्षज्यूले जानकारी गराउनु हुने थियो । केही भन्नु भएको छैन । उहाँहरुको व्यक्तिगत वा राजनीतिक लफडा हुन सक्छ,’ हाङवाङले भने ।

आफ्ना कार्यकर्ताले मन्त्रीको हातबाट कुदाइ खाँदा नेकपा (एकीकृत समाजवादी)ले पनि कुनै प्रतिक्रिया दिएको छैन । यस विषयमा बुझ्न खोज्दा पार्टीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई सम्पर्कमा आउन चाहेनन् । पटक–पटक गरेको फोन उठाएनन् ।

हाङगामले सत्ता संरक्षित दादागिरी गरिरहँदा उनकै दल नेपाली कांग्रेसले समेत बचाउ गरेको छ । उनले कांग्रेसकै संरक्षणमा मनपरी गर्दै आएका हुन् । कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले घटना सामान्य भएको बताए । ‘त्यहाँ त्यस्तो ठूलो घटना केही भएको छैन । सामान्य कुरा हो । केही गर्नपर्ने आवश्यकता छैन,’ उनले भने ।

मन्त्री हाङगामले भने आफूले थेवेमाथि नगरेको बताए । सदरमुकाम फुङलिङमा शुक्रबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले हातपात गरेको नभइ आत्मरक्षा मात्रै गरेको दाबी गरेका छन् । अध्यक्ष थेवेले आफूमाथि आक्रमण गरेकाले आफूले आत्मरक्षा गर्दा १–२ मुका हानेको हाङगामले स्वीकार गरे ।

‘उ (रक्कि थेवे) मेरो प्रिय भाइ हो । केही विवाद हुँदा उसले मलाई आक्रामण गर्यो । मैले आत्मरक्षा मात्रै गरेको हो,’ उनले भने । मन्त्री हाङगामले आफूलाई केही वस्तुले हान्ने प्रयास गरेको बताउँदै घटनामा थेवेकै दोष देखाउन खोजे ।

थेवेसँग लफडा भएकै दिन फुङलिङ–५ स्थित ओचाट होटलमा पनि नेशनल निर्माण सेवाका प्रोप्राइटर नवराज भण्डारीमाथि मन्त्री हाङगामले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । उनीहरुका अनुसार ताप्लेजुङकै आठराई–त्रिवेणी गाउँपालिका–३ हाङपाङ घर भएका भण्डारीलाई मन्त्री हाङगामले भाटैभाटाले हानेका थिए । ‘के विषयमा कुटपिट भएको भन्ने थाहा छैन । घटना देख्नेहरुले मलाई सुनाए । मन्त्रीले कुटपिट गरेको भन्ने कुरा मैले पनि सुनेको हुँ । विस्तृतमा थाहा छैन,’ १ स्थानीय भन्छन् ।

थेवे र भण्डारीले मन्त्रीबाट कुटाइ खाएको दुवै घटनालाई सामसुम पारिएको छ । घटनाको जानकारी पाएपछि प्रहरी पनि घटनास्थल पुगेको थियो । तर, अहिलेसम्म प्रहरीले अनुसन्धान अघि बढाएको छैन ।

गत फागुनमा मोटरसाइकल दुर्घटनामा पर्दा भण्डारीको खुट्टा भाँचिएको थियो । स्वास्थ्य सुधारोन्मुख रहेका उनी अहिलेसम्म राम्ररी हिँडडुल गर्न सक्दैनन् । घटनाका विषयमा भण्डारीले प्रष्टसँग बताउन चाहेनन् । ‘सामान्य विवाद र भनाभैरी मात्रै भएको हो । अरु केही हैन । म व्यवसाय गर्ने मान्छे हुँ । कामहरु धेरै छन् । यो कुरा बाहिर ल्याउन आवश्यक छैन,’ भण्डारीले भने ।

थेवे र भण्डारीले मन्त्रीबाट कुटाइ खाएको दुवै घटनालाई सामसुम पारिएको छ । घटनाको जानकारी पाएपछि प्रहरी पनि घटनास्थल पुगेको थियो । तर, अहिलेसम्म प्रहरीले अनुसन्धान अघि बढाएको छैन । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमले घटनाको औपचारिक जानकारी आफूलाई नभएको बताए । ‘हामीले पनि घटना सुनेको हो । औपचारिक जानकारी नआएकाले अनुसन्धान अघि बढाउन सकिएको छैन,’ उनले भने ।

हाङगाम ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । सत्तारुढ दलको मन्त्री भएकै कारण जुनसुकै हर्कत गर्दा पनि उनले उन्मुक्ति पाइरहेको स्थानीय बताउँछन् । पार्टी सभापति शेरबहादुर देउवानिकट भएकैले विवादित पृष्ठभूमिका हाङगामले कोशी प्रदेशको मन्त्री बन्ने मौका पाएको कांग्रेसका नेताहरु बताउँछन् ।

मन्त्री हाङगाम विगतमा पनि अनेक विवादमा पर्दै आएका छन् । कानुन हातमा लिएर बारम्बार विवादित काम गरिरहँदासमेत उनीमाथि अनुसन्धान र कारबाही हुन सकेको छैन । उल्टै पुरस्कारस्वरूप मन्त्री पद दिइएको छ । २०८० साल भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा हाङगामले ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख डीएसपी राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए । लिम्बूलाई मात्रै हैन, परिवार नै सिध्याइदिने धम्की दिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले समिति बनाएर घटनाको छानबिन गरेको थियो । तर, उक्त छानबिनको निष्कर्ष अहिलेसम्म गुपचुप छ । जसका कारण हाङगामले उन्मुक्ति पाउने वातावरण बन्यो । कांग्रेस नेताहरूको सक्रियतामा छलफल गरेर घटना मिलाइयो । एसपीमा बढुवा भएका लिम्बू हाल झापा प्रहरी प्रमुख छन् ।

हाङगाममाथि आफ्नो मन्त्रालय मातहतका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीलाई पनि धम्की दिने र गालीगलौज गर्ने गरेको आरोप लाग्दै आएको छ । ‘आफूले भनेजस्तो नहुँदा टेलिफोनबाटै अश्लील शब्दले गाली गर्दै भौतिक कारबाही गर्नेसम्मको धम्की दिनुहुन्छ । मन्त्रीको अराजकता र दादागिरीले सीमा नाघेको छ । धेरै कर्मचारीहरु पीडित छन् । हैरान र आजित भए पनि कतै सुनाउन सक्दैनन् । मन्त्रीले पदीय हैसियत नै बिर्सिएपछि केही नलाग्ने रहेछ । यो सबै सत्ताको उन्मादका कारण भएको हो,’ एक कर्मचारी भन्छन् ।

उनका अनुसार मन्त्री हाङगाम आफू मातहतको जुन–जुन कार्यालयमा अनुगमन र कार्यक्रममा पुग्दा त्यहाँका कार्यालयका प्रमुख र कर्मचारीलाई थर्काउँछन् । उनले मन्त्रालयका केही कर्मचारीलाई त आफूले भनेबमोजिम नगरे ‘भौतिक कारबाही’ गर्ने भनेर धम्की दिने गरेको कर्मचारीहरु बताउँछन् । तर, मन्त्रीको डरका कारण उनीहरू नाम खुलाउन चाहँदैनन् । मात्रै यति भन्छन्, ‘मन्त्रीको अराजकता बढेको छ । यस्ता व्यक्ति कसरी मन्त्री भए ?’

जुनसुकै मुद्दामा पनि संघका मन्त्री जवाफदेही बनेनन् । हामी तल्लो तहमा पकड जमाएर बसेकाहरुले चैं किन अनुशासन देखाइदिनुपर्ने भन्ने प्रदेशका मन्त्रीलाई लागेको हुनसक्छ । अलि ठूलो विवाद र संकट आउँदा आफ्ना कार्यकर्तालाई जोगाउने प्रवृत्ति माथिका नेताहरुमा देखिएको छ ।

राजनीतिशास्त्रका प्राध्यापक गिरिश भट्टराई मन्त्रीको अराजक गतिविधिलाई ठूला दलकै प्रवृत्तिसँगै जोडेर हेर्छन् । ‘यो मन्त्री वा कुनै व्यक्तिको प्रवृत्ति हैन । यसलाई ठूला दलकै प्रवृत्तिसँग जोडेर हेर्नुपर्ने हुन्छ । संघकै मन्त्री जवाफदेही देखिएका छैनन् । प्रदेशका मन्त्रीको त के कुरा गर्नु ?’ उनले भने । मन्त्रीको रवाफिलोपन तल्लो तह र आधार क्षेत्रमा पकड जमाएर बसेकै परिणाम भएको भट्टराईको भनाइ छ ।

‘जुनसुकै मुद्दामा पनि संघका मन्त्री जवाफदेही बनेनन् । हामी तल्लो तहमा पकड जमाएर बसेकाहरुले चैं किन अनुशासन देखाइदिनुपर्ने भन्ने प्रदेशका मन्त्रीलाई लागेको हुनसक्छ । अलि ठूलो विवाद र संकट आउँदा आफ्ना कार्यकर्तालाई जोगाउने प्रवृत्ति माथिका नेताहरुमा देखिएको छ । जसका कारण मन्त्रीजस्तो व्यक्तिले अनुशासनहीन काम गरेका हुन्,’ उनले भने । राजनीतिका नाममा माथिदेखि नै देखिँदै आएको गलत प्रवृत्तिले मुलुकलाई संकटतर्फ लगिरहेको भट्टराईले बताए ।

‘हाम्रा नेताहरु उदाहरणीय बन्न सक्नुपर्नेमा ठीक उल्टो भइरहेको छ । साना दल अनुशासनमा बसेजस्तो र ठूला दलले अनुशासनहीन काम गरेजस्तो देखिन्छ । यसले समग्र राष्ट्रिय राजनीतिलाई नै हानि पुर्याउँछ । क्षति गर्छ । यस्तो प्रवृत्तिलाई मौलाउन दिन हुँदैन,’ भट्टराईको भनाइ छ ।

मुख्यमन्त्रीसँग चिसियो सम्बन्ध

मन्त्री हाङगामको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि सम्बन्ध चिसिएको छ । प्रदेशको बजेट निर्माणका क्रममा उनीहरूबीच विवाद भएपछि सम्बन्ध बिग्रिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।

‘पछिल्लो समय मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध ठीक छैन । बजेट बनाउने बेलामा मन्त्रालयका कर्मचारीलाई भौतिक कारबाही गर्ने धम्की दिनुभएको रहेछ,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘त्यसपछि मुख्यमन्त्रीले कृषि मन्त्री फेरिदिनुपर्यो भन्दै कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई भन्नु भएको थियो । थापाले मान्नु भएनछ । मन्त्री हाङगामको दादागिरी र अराजकता बढ्यो ।’

गलत व्यवहार र शैलीकै कारण मन्त्री पदले हाङगामलाई गिज्याइरहेको कर्मचारीहरु बताउँछन् । मुख्यमन्त्री कार्कीको सचिवालयले भने मुख्यमन्त्री र सबै मन्त्रीबीच सम्बन्ध सुमधुर रहेको दाबी गरेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मुख्यमन्त्री र मन्त्रीबीच कुनै खटपट एवं विवाद नभएको जिकिर गरे ।

सचिवालयको पनि उस्तै हर्कत

मन्त्री हाङगाम मात्रै हैन, मन्त्रीको सचिवालयमा रहेकाको हर्कत झन् घिनलाग्दो छ । सचिवालयमा जिल्ला–जिल्लाका कर्मचारी थर्काउँछन् । नाजायज कुरा नमान्दा धम्क्याउँछन् ।

आफ्ना आफन्त वा कार्यकर्ता कतै जानुपरे दिनमा मात्रै होइन रातिसमेत मन्त्रालय मातहतको जिल्लाका कार्यालयका प्रमुख एवं सवारी चालकलाई गाडी पठाउन लगाउँछन् । भनेको स्थानमा तुरुन्त पुर्याउनुपर्ने भन्दै नमानेमा कारबाही गर्ने धम्की दिन्छन् । ‘मानेन भने सिधै गाली गर्छन् र धम्क्याउँछन् । त्यो पनि भन्न नमिल्ने शब्द प्रयोग गरेर,’ एक जना सवारी चालकले भने ।

उनले भने, ‘मन्त्रीको निजी सचिवालयमा रहेकाले राति ८–९ बजे र मध्यरातमा फोन गरेर यता लैजा र उता लैजा भन्छन् । ‘रात पर्यो नि भन्दा उल्टै थर्काउँछन् । अश्लील शब्दले गाली गर्छन्,’ नाम नखुलाउने सर्तमा ती चालकले भने । उनले मन्त्री र सचिवालयले सरकारी गाडीको अत्यधिक दुरुपयोग गरिरहेको जानकारी दिए ।

मन्त्री हाङगामका प्रमुख स्वकीय सचिव अशोक आङ्बुहाङले आरोपमा सत्यता नरहेको बताए । ‘मन्त्रीज्यू जिल्ला गएका बेला आवश्यक पर्यो भने गाडी प्रयोग गरियो होला । कि मन्त्रीज्यू बाहिर भएका बेला स्टोरलाई भनेर मन्त्रालयको गाडी प्रयोग गर्छौं,’ उनले भने, ‘ताप्लेजुङ पुगेका बेला कुनै काममा मन्त्रालयअन्तर्गतका कार्यालयको गाडी काममा प्रयोग गर्नु सामान्य हो । तर, सरकारी सवारीसाधनको दुरुपयोग गरिएको छैन ।’ आङ्बुहाङले आवश्यक परेमा साथीभाइकै गाडीहरु प्रयोग गर्ने र सरकारी गाडी दुरुपयोग नगर्ने गरिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.