कोशी अस्पतालको पोसाकमा विभेद

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार १०, मंगलबार ०८:०२

विराटनगर । कोशी प्रदेशकाे ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल विराटनगरमा पोसाकका आधारमा कर्मचारीमाथि विभेद गरिएको पाइएको छ ।

अस्पतालमा कार्यरत कर्मचारीलाई फरक–फरक पोसाक दिएर विभेद गरिएको हो । ‘एउटै रंगको पोसाक हुँदा कार्यालय सहयोगी र माथिल्लो दर्जाका कर्मचारी चिन्नै गाह्रो भयो भनेर मनोमानी हिसाबले यस्तो गरियो । कर्मचारीले त्यो मन पराएका छैनन् । तर, जबरजस्ती लगाउन बाध्य पारिँदैछ । अस्पताल प्रशासनले दबाब दिन्छ । पोसाकका नाममा कर्मचारीमाथि ठूलो विभेद भयो,’ अस्पताल स्रोतले भन्यो ।

Advertisement

एउटै अस्पतालभित्र कार्यरत कर्मचारीलाई दर्जा हेरी फरक–फरक पोसाक लगाउन बाध्य पारिएको हो । सेवामा समान योगदान भए पनि पोसाकको रंग फरक पारेर कर्मचारीलाई वर्गीकृत गरिएको भन्दै असन्तुष्टि चुलिएको छ ।

अस्पताल स्रोतका अनुसार एउटै रंगको पोसाक हुँदा कार्यालय सहयोगी र अधिकृत छुट्याउन गाह्रो भयो भन्ने बहानामा पोसाक परिवर्तन गरिएको हो। तर, कर्मचारीहरूले यो कुरा मन पराएका छैनन् । उनीहरूलाई जबरजस्ती नयाँ पोसाक लगाउन बाध्य पारिँदै आएको छ।

सरकारले पोसाक भत्ताका लागि सुरुमा ७ हजार ५ सय रुपैयाँ दिँदै आएकोमा २०७५–०७६ देखि १० हजार रुपैयाँ दिन थालेको छ । निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ को नियम २ (क) अनुसार स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिमका कर्मचारीसमेत निजामती सेवामा पर्छन् । तर, अस्पतालमा एउटै श्रेणीमा काम गर्ने कर्मचारीहरूलाई फरक पोसाक दिइएको छ ।

कर्मचारीहरूका अनुसार केहीलाई सेतो सर्ट, निलो पाइन्ट, रातो वा खैरो पोसाक दिइएको छ भने अन्यलाई सामान्य ‘युनिफर्म’मा सीमित गरिएको छ ।
यसले कार्यस्थलमा ‘उच्च र तल्लो’ दर्जाको भावना फैलाएको र मनोबलमा असर पारेको गुनासो कर्मचारीहरूको छ।

एक स्वास्थ्यकर्मीले नाम गोप्य राख्ने सर्तमा भने, ‘कार्यालय सहयोगी र अधिकृत उस्तै देखिएपछि पोसाक फरक गरिएको हो।’ अहिले सुब्बा, स्टाफ नर्स, अधिकृतदेखि कार्यालय सहयोगीसम्मको पोसाक परिवर्तन गरिएको उनको भनाइ छ । अस्पतालले बाध्य पारेका कारण उनीहरुले एउटै पोसाक लगाउन पाउँदैनन् ।

उनका अनुसार धेरैजसो करारमा कार्यरत कर्मचारी पोसाकबारे असन्तुष्ट छन् । तर, जागिर गुम्ने डरले मौन बस्न बाध्य छन्। यिनै कारणले कतिपयले पोसाक लगाउन नै छाडेका छन् ।

पहिले महिला कर्मचारीका लागि नेपाल सरकारद्वारा तोकिएको पोसाक आकासे निलो बैजनी कुर्ता थियो । अहिले त्यसको सट्टा खैरो रंगको कुर्ता दिइएको छ ।
सुब्बादेखि प्रमुखसम्मका लागि खैरो वा घ्यू रंगको सर्ट र कालो पाइन्ट निर्धारण गरिएको छ । जुनियर स्टाफ नर्सलाई रातो रंगको पोसाक दिइएको छ । अधिकृतहरूलाई सेतो पोसाक दिइएको छ।

स्रोतका अनुसार कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. रुना झाले अस्पताल विकास समितिबाट निर्णय गराएर पोसाक परिवर्तन गराएकी हुन्। यस्तै कार्यले अस्पतालमा आन्तरिक असन्तुष्टि चुलिएको छ। पोसाकले कार्यस्थलमा ‘उच्च–तल्लो’ श्रेणीको विभाजन झल्काएको छ ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य काशीराज पराजुली पोसाकमा एकरूपता नै ‘ड्रेस कोड’को विशेषता रहेको बताउँछन् । सबै निजामती कर्मचारीलाई, चाहे करार वा स्थायी, समान पोसाक भत्ता र समान पोसाक हुनुपर्छ भन्ने सरकारको नीति विपरीत कोशी अस्पतालले वर्गीकरण गरेको गुनासोसमेत आएको उनले बताए ।

२०७४ वैशाख २१ मा सरकारले करारका कर्मचारीलाई पनि चैत महिनामा पोसाक भत्ता दिने निर्णय गरेको थियो । ‘सरकारी कार्यालयको पोसाक सरकारकै नीति अनुरूप निर्धारण हुनुपर्ने हो,’ उनले भने, ‘तर अस्पताल विकास समितिले वर्गीकृत पोसाक लागू गरेर संघीय कानुन उल्लंघन गरेको छ।’

यता अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालले पोसाक वर्गीकरण सेवाको सहजता र कार्यको पहिचानका लागि फरक रहेको बताए । पोसाक वर्गीकरणको सन्दर्भमा कुनै निर्णय भने नभएको उनको दाबी छ ।

‘अस्पतालमा डाक्टर, नर्स र सरसफाइ कर्मचारीको फरक पोसाक हुन्छ । त्यो मान्छे चिन्नका लागि हो,’ उनले भने, ‘तर, पोसाक परिवर्तनको निर्णय गरिएको छैन । यस्तो कुरामा हामीले ‘डिल’ गर्न पाइँदैन ।’ अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. रुना झाले पोसाकमा विभेद नभएको दाबी गरिन् । तर, कर्मचारीको पदअनुसार पोसाकको रंग फरक रहेको पुष्टि उनले गरिन् ।

उनका अनुसार अस्पतालमा डाक्टर, स्टाफ नर्स र कार्यालय सहयोगीहरूलाई पदअनुसार फरक रंगको पोसाक तोकिएको छ। ‘कलर अनुसार पोसाक के फरक पर्यो ? भन्दै उनले प्रश्नसमेत गरिन्। ‘कार्यालयमा ‘ड्रेस’को रंग फरक भए पनि त्यो विभेद होइन,’ डा. झाको दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.