मनमोहन प्राविधिक विश्वविद्यालय : औषधि बनाउन खोज्दैछ, तर सरकारले हेर्दैन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार १६:३७

विराटनगर । औषधि अनुसन्धानमा केन्द्रीत रहेको मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई कोशी प्रदेश सरकारले असहयोग गरेको छ । प्रदेश मातहतको पहिलो विश्वविद्यालयलाई सञ्चालनका लागि प्रदेश सरकारले असहयोग गरेको हो ।

सञ्चो तयार
विश्वविद्यालयका उपकुलपति डाक्टर सुभाषश्री पोखरेलका अनुसार सञ्चो, भिक्स र बामजस्ता वस्तुलाई उत्पादन गरेर बजार लैजाने योजना छ । नेपाली सञ्चो र भारतीय भिक्स र बाम जस्तै जडीबुटी प्रयोग गरेको बताउँदै उनले भने, ‘यदी प्रदेश सरकारले अनुमति दिन्छ भने हामी अहिलेदेखि नै तयार छौं । हाम्रो टिमले काम गरिरहेको छ ।’

Advertisement

विश्वविद्यालयको तहमा मनमोहनको प्रयास फरक रहेको उनले बताए । उनका अनुसार नेपालका विश्वविद्यालयले यसरी उत्पादन गरेका छैनन् । ‘मनमोहनले सानो रुपमा गरेको छ । यो हाम्रो आफ्नै फर्मुला हो,’ उनले भने, ‘जडीबुटी उत्पादनको क्षेत्रमा मनमोहनले ठूलो काम गर्न सक्छ ।’

जडीबुटी उत्पादनमा विद्यार्थीलाई प्रयोग गरिने उनले बताए । ‘यहाँका विद्यार्थीलाई प्रयोग गरेर कमाउँदै पढ्दै कार्यक्रम अनुसार कमाउने वातावरण विश्वविद्यालयले बनाउँछ,’ उनले भने, ‘हामी घण्टाको हिसाबले काम गराउने र त्यसको रकम चाहिँ फिसमा घटाउने योजना छ, पकेटमा दिने होइन ।’

मधुमेहको औषधि तयार
उपकुलपति पोखरेलका अनुसार विश्वविद्यालयले मधुमेह रोग नियन्त्रण गर्ने हिमाली क्षेत्रमा पाइने जडीबुटीमाथि अनुसन्धान हुँदैछ । भारतबाट वैज्ञानिक ल्याएर अनुसन्धान गरिरहेको उनले बताए । जडीबुटीबाट तयार गरिने औषधि पहिले मुसामा प्रयोग हुनेछ । त्यसपछि थप अनुसन्धान गरी अध्ययनको रिपोर्ट बाहिर ल्याइनेछ ।

उनका अनुसार ३ जना विज्ञको टोली औषधि अनुसन्धानमा खटिएका छन् । मधुमेह रोग नियन्त्रणका लागि नेपालकै हिमालयन जडीबुटीमा आधारित औषधि विकास गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए ।

विश्वविद्यालयले शरीरमा सकारात्मक प्रभाव पार्ने भाइरसको पनि अनुसन्धान गरिरहेको छ । ‘एन्टिबायोटिक’ले काम नगर्ने अवस्थामा हानिकारक ‘ब्याक्टेरिया’लाई नष्ट गर्न सक्ने फाइदाजनक भाइरसको पनि अनुसन्धान चलिरहेको उनले बताए । भाइरसमा सफल मिले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने पोखरेलको दाबी छ । अनुसन्धानमा भारतीय वैज्ञानिकलाई पनि प्रोग गरिएको उनले बताए ।

‘एउटा राम्रो भाइरसको खोजी र अर्काे मधुमेह रोगको औषधि नेपालको जडीबुटीबाट ‘फाइनआउट’ गर्नका लागि अनुसन्धान गरिरहेका छौं,’ उनले भने,‘ अनुसन्धानमा सफलता मिले स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय हुनेछ ।’

तलब खुवाउनै समस्या

औषधिमाथि अनुसन्धान गरिरहेको विश्वविद्यालय भने कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा छैन । उपकुलपति पोखरेलका अनुसार सरकारले बजेट नदिँदा यो समस्या आएको हो । उनका अनुसार चालु आर्थिक वर्षमा तलब खुवाउन पनि अपुग भएपछि सरकारसँग थप बजेट मागिएको छ ।

विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि अध्ययन अनुसन्धान र शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरकारसँग ३७ करोड ८९ लाख बजेट माग गरेको थियो । तर, सरकारले जम्मा १४ करोड मात्रै विनियोजन गरेको छ । जुन बजेट पर्याप्त छैन ।

‘विश्वविद्यालयलाई सधैं बजेटको अभाव छ । बजेट माग्न जाँदा हामी अपहेलित हुनुपर्छ,’ उनले भने । सरकारले पर्याप्त बजेट नदिने गरेको पोखरेल बताउँछन् । ‘शिक्षा क्षेत्रलाई न्यूनतम ५ प्रतिशत बजेट चाहिन्थ्यो । तर, १ प्रतिशत पनि भएन । यसले कसरी परिवर्तन ल्याउँछ ?,’ उनले भने, ‘काम गर्न सरकारबाट सोचेजस्तो सहयोग भएको छैन ।’ सरकारले सहयोग गरे विश्वविद्यालयलाई दक्षिण एसियामा चिनाउने उनले बताए ।

विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान र विज्ञान तथा कानुन गरी ३ वटा स्कुलअन्तर्गत विभिन्न स्नातक एवं स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । बीबीए, एलएलबी, क्रिमिनल ल र हस्पिटल म्यानेजमेन्टजस्ता विशिष्ट कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

सन् २०३० सम्ममा ३ सय बेडको शिक्षण अस्पताल, १८ वटा अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान संग्रहालय स्थापना गर्ने विश्वविद्यालयको महत्त्वाकांक्षी लक्ष्य रहेको पोखरेलले सुनाए । प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई मनमोहन विश्वविद्यालय मातहत ल्याउने नीति लिएको छ ।

उपकुलपति पोखरेलले पर्याप्त बजेट र स्पष्ट योजनाबिना अस्पतालको जिम्मेवारी लिए चुनौतीपूर्ण हुने बताए । सरकारले दीर्घकालीन योजनासहित पर्याप्त बजेट विनियोजन गरे अस्पताल चलाउन सकिने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.