‘सेटिङ’मा खुलेआम धन्दा : प्रहरीले देखेन गाँजा ‘प्याकिङ’ गर्ने पूर्ववडाध्यक्षको घर !

Share this
723shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार १३, शुक्रबार १९:३५

विराटनगर । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–१ स्थित पूर्ववडाध्यक्ष अशोक राईको घरमा गाँजा ‘प्याकिङ’ भइरहेको दृश्य स्पष्ट देखिने भिडियो सार्वजनिक भएको छ ।

अनुहार खुला, ठेगाना निश्चित, गतिविधि छर्लङ्ग देखिने भिडियोका बाबजुद प्रहरी प्रशासनले भने घर नै नभेटिएको भन्दै आँखा चिम्लिएको छ । राईको घरमा खुलेआम गाँजा सुकाउँदै, प्याक गर्दै, बोरामा भरिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरी ‘अप्रेशन’मा खटिएको थियो । तर, कारबाहीको साटो रित्तो हात फर्किएको घटनाले सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।

गाँजा ‘प्याकिङ’ भइरहेको भनेर स्थानीयले गत शनिबार दिउँसो प्रहरीलाई जानकारी दिएका थिए । उनीहरूले ‘लोकेसन’सहितको भिडियो प्रमाण बुझाएपछि टोली घटनास्थलतर्फ गयो । तर, प्रहरी राईको घरसम्म पुग्दै पुगेन ।

उल्टै प्रहरी आउँदै गरेको जानकारी पाएपछि गाँजा लुकाइयो । घर नदेखिएको भनेर प्रहरी फर्कियो । त्यो घटनाले प्रहरीको भूमिकालाई शंकास्पद बनाएको छ । मिलेमतोमा काम भइरहेको प्रष्ट हुन्छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की गाँजा ‘प्याकिङ’स्थलमा प्रहरी पुगे पनि ‘भिडियोमा देखिएको घर नभेटिएको’ दाबी गर्छन । कार्कीले आफू त्यो समयमा काठमाडौंमा रहेको बताए ।

‘टोली गएको थियो । तर, जसरी भिडियोमा देखिएको घर भनिएको छ, त्यो भेटिएन रे,’ कार्कीले भने, ‘बाटो खराब रहेछ । बाटो खराब भएकाले मोटरसाइकलमा र पैदल हिँड्नुपर्ने रहेछ ।’ पूर्ववडाध्यक्षकै घर ‘देखिएन’ भनेर डीआईजी कार्कीले दिएको प्रतिक्रिया नै शंकाको घेरमा परेको छ ।

प्रहरीमाथि ‘सेटिङ’ गरेर गाँजाको धन्दा चलाइरहेको आरोप लागेको छ । प्रहरीको पछिल्लो गतिविधिले गृह प्रशासन र प्रहरीका उच्च अधिकारीसँग मिलेर राईले धन्दा चलाइरहेको आशंकामा बल पुगेको छ ।

स्रोतका अनुसार प्रहरी टोली वास्तवमै राईको घर भएको ‘लोकेसन’मा पुगेको छैन । गाँजा ‘प्याकिङ’स्थलमा नपुगेको प्रहरीले घर नै ‘भेटिएन’ भनेर बहाना बनाएको हो । भिडियोमा भने पूर्ववडाध्यक्ष राईको घरको आँगनमा युवाहरू गाँजा सुकाउँदै र बोरामा ‘प्याकिङ’ गर्दै गरेको देखिन्छ ।

भिडियोमा सबैको अनुहार खुलेको छ । घर, घरको ढोका, आँगन, वरपरको दृश्यसमेत प्रष्ट देखिन्छ । यस्तो अवस्थामा पनि प्रहरीले नदेखेझैँ गर्नु र कारबाही नगर्नुलाई अस्वभाविक मानिएको स्थानीय बताउँछन् ।

स्थानीय भन्छन्, ‘उक्त घर सहिदभूमि गाउँपालिकाका पूर्ववडाध्यक्ष अशोक राईकै हो । उनलाई गाउँका सबैले चिन्छन् । घरको ठेगाना सामान्य जानकारीको विषय हो । तर, ‘भेटिएन’ भन्दै प्रहरी पन्छिनुले राजनीतिक पहुँचका कारण उनलाई जोगाइएको प्रष्ट हुन्छ । यसमा प्रहरीको पनि मिलेमतो छ ।’

त्यति मात्रै होइन, घरमा गाँजाको धन्दा चलिरहेको भिडियो सार्वजनिक भएपछि राईले सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका छन् । उनले बुधबार लेखेका छन्, ‘मेरो बारेमा अझै को–कसलाई लेख्न बाँकी छ लेखिहाल्नुस् है । मेरो बारे कसैले लेख्दा उहाँहरूको चुलोमा आगो बल्छ भने पनि लेखिहाल्नुस् ।’ यो स्टाटसलाई धेरैले पत्रकार र अभियन्ता लक्षित धम्कीका रूपमा बुझेका छन् ।

उक्त स्टाटसमाथि आएका कमेन्टहरू झनै आपत्तिजनक छन् । १ जनाले लेखेका छन्, ‘सहिदभूमिमा आएर सोध, अशोक राई को हो भनेर । एक प्रतिशत पनि नराम्रो भन्ने मान्छे भेटिने छैन । चुनौती चिन्छु, निकालेर देखाउन । साला पत्रुकार, तेरो दिनगन्ती सुरु भयो ।’

यस्तै अर्को कमेन्टमा लेखिएको छ, ‘घरनजिकैको दुस्मनी हुन सक्छ । नत्र कसले फोटोसहित दिन्छ ? अनि के को भिक मागिरहेको होला सतुरले नि ? ढिलो होला, तर अवसे चिनिन्छ । तो चुलो बाल्ने नि साथी ।’

कमेन्टहरूमा गाँजा बेच्ने कामलाई नै बचाउने, समर्थन गर्ने अभिव्यक्तिहरु आएका छन् । अर्को कमेन्टमा लेखिएको छ, ‘गाँजा बेचेको पैसा विदेशी डलर हो, बन्द गरेर होइन, लिगल बनाएर गर्ने हो । अरुले नगरे, तपाईं हामीले गर्ने हो ।’

स्थानीय जनप्रतिनिधिहरूका अनुसार सहिदभूमिमा गाँजा खेती र तस्करी सामान्यजस्तै बनेको छ । गाउँका धेरै युवाहरू गाँजा मुद्दामा जेल परिसकेका छन् । तर, पूर्ववडाध्यक्षजस्ता प्रभावशाली पात्रहरू फरार प्रतिवादी भएर पनि धरौटीमा छुट्छन् । अनि धम्कीपूर्ण स्टाटस लेख्दै सामाजिक सञ्जालमा सत्तोसराप गर्छन् ।

स्रोतका अनुसार प्रहरीसँग भिडियोलगायतका स्पष्ट प्रमाणहरु छन् । नाम, ठेगाना, अनुहार सबै खुलेको छ । तर, प्रहरी अहिलेसम्म न घर पुगेको छ । न त कुनै सोधपुछ नै भएको छ । डीआईजी कार्कीलाई सामाजिक सञ्जालमा आएको धम्कीपूर्ण अभिव्यक्तिबारे जिज्ञासा राख्दा ‘साबर ब्युरोमा गएर बुझ्नु’ भन्दै उनी पन्छिए ।

पछिल्लो समय प्रश्न उठेको छ, ‘के प्रहरीले साँच्चिकै अपराध देख्दैन कि देखेपनि नदेखेझैँ गर्छ ? के प्रहरी राजनीतिक पहुँच भएका मानिसहरूका अगाडि पंगु भएको हो ?’ सामाजिक सञ्जालमा धम्की दिइँदा र प्रष्ट प्रमाण हुँदाहुँदै पनि प्रहरी प्रशासनले चुप लाग्नु भनेको कानुनको शासनलाई लत्याउने दुस्साहस भएको स्थानीय बताउँछन् ।

सहिदभूमिको यो घटनाले गाँजा कारोबारको संगठित स्वरूप देखाउँछ । प्रहरी र प्रभावशालीबीचको साठगाँठ, उदासीनता र संरक्षणको नमुना पनि हो । तर, प्रहरी भने संवेदनशील भएर अनुसन्धान गरिरहेको दाबी गर्छ । अहिलेसम्म कुनै कारबाही भएको छैन । स्थानीयले मिलेमतोकै कारण खुलेआम गाँजाको धन्दा चलिरहेको बताएका छन् ।

यस विषयमा बुझ्न खोज्दा पूर्ववडाध्यक्ष राई भने सम्पर्कमा आउने चाहेनन् । बारम्बार गरेको फोन उनले उठाएनन् ।

राजनीतिक आडमा गाँजाको साम्राज्य, पूर्ववडाध्यक्षको संलग्नता

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×