नियुक्ति पत्र बुझेका कार्की अझै प्रधानमन्त्री कार्यालय पुगेनन्

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १७:१७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (पूर्वआईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन पत्र बुझेको पाइएको छ । तर, नियुक्तिको औपचारिक प्रक्रिया पूरा भए पनि उनी अझै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएका छैनन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले गत कात्तिक १८ गते नै नियुक्तिपत्र बुझिसकेका छन् । त्यसपछि तिहार र छठ पर्वका कारण लामो सार्वजनिक बिदा परेकाले उनी कार्यालयमा उपस्थित हुन नपाएको मन्त्रालयको भनाइ छ ।

मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा आवश्यक सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउन मन्त्रिपरिषद्ले कार्कीका लागि विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरेको थियो । कात्तिक १८ गतेकै मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत तयार गरिएको छ । रोचक पक्ष के छ भने, प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध भने सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सरकारले दिएको नयाँ जिम्मेवारी स्वीकार गरेका उनी प्रहरी नेतृत्वबाट हटाउने निर्णयलाई अदालतबाट चुनौती दिइरहेका छन् । कार्कीलाई हटाएर सरकारले डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.