
विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरको कोशी अस्पताललाई रेफरल सेन्टर मात्रै तोकेपछि अस्पतालले निर्णय पुर्नविचार गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ ।
रेफलर सेन्टर मात्रै बनाउँदा अस्पताल धाराशायी हुने उल्लेख गर्दै अस्पताल प्रशासनले प्रथम सेवा बिन्दुसहित रेफरल सेन्टर तोक्न आग्रह गर्दै मन्त्रालयलाई पत्र पठाएको हो । अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रुणा झाले असार २७ गते पठाएको पत्रमा अस्पताललाई रेफरल सेन्टर मात्रै तोके बिरामीको चाप दुईतिहाइले घट्ने उल्लेख छ ।
‘यदि रेफरल सेन्टर सरकारी अस्पताल मात्रै तोकिएको भए समस्या हुने थिएन,’ उनले भनिन्, ‘वीर अस्पताल र टिचिङ अस्पतालजस्तो कोशी अस्पताल छैन । कतिपय केसमा कोशी अस्पताल आफैँले पनि रेफर गर्नुपर्ने अवस्था छ ।’ रेफरल सेन्टरको रुपमा विराटनगरका अन्य निजी अस्पतालसँग प्रतिस्पर्धा गर्न कठिन रहेको उनको भनाइ छ ।
साउन १ गतेबाट लागू हुनेगरी स्वास्थ्य बिमा बोर्डले कोशी अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल सेन्टर मात्र तोकेको छ । यसअघि प्रथम सेवा बिन्दु र रेफरल सेन्टर दुवै अधिकार कोशीलाई थियो ।
अस्पतालले कोशीलाई रेफरल सेन्टर तोक्दा प्रथम सेवा केन्द्र तोकिएका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने जनाएको छ । यसले बिरामीलाई अनावश्यक झन्झट पनि हुनेछ ।
‘बिमा बोर्डको हालै प्रकाशित सूची अनुसार विराटनगर महानगरपालिकाभित्र रानी प्राथमिक स्वास्थ्य केन्द्र मात्र प्रथम सेवा केन्द्र तोकिएको र उक्त स्वास्थ्य केन्द्रले मात्र बिरामीको चाप थेग्न नसक्ने अवस्था रहेको छ,’ अस्पतालले पठाएको पत्रमा भनिएको छ, ‘ कोशी अस्पतालमा दुईतिहाइ बिरामी बिमातर्फको आउने गरेकोमा प्रथम सेवा विन्दु नहुँदा अस्पतालमा बिरामीको संख्यामा उल्लेख्य कमी आउने छ ।’
रेफरल सेन्टर मात्रै तोकिँदा प्रथम सेवा बिन्दुबाट आउने बिरामी निजी अस्पतालमा जान चाहन्छन् । जसले गर्दा कोशी अस्पतालमा बिरामीको चाप घट्नेछ ।
‘बिमा नभएका बिरामीहरु धेरैजसो विपन्न हुने गरेकाले त्यस्ता बिरामीहरु कोशीमा निःशुल्क उपचार गराउन खोज्ने हुँदा अस्पतालको आम्दानीमा पनि व्यापक ह्रास आउने छ,’ अस्पतालले पठाएको पत्रमा भनिएको छ , ‘यस अस्पतालको आन्तरिक स्रोतबाट तलब भत्ता लिनेगरी ठूलो संख्यामा कर्मचारीहरु कार्यरत रहेकोले प्रथम सेवा केन्द्र नहुँदा आन्तरिक आम्दानीमा ह्रास भइ खर्च व्यवस्थापनमा कठिनाइ हुने छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई अनिवार्य बिमा गर्नुपर्ने गरी परिपत्र गरेको छ । जसका कारण कोशी अस्पतालमै आबद्ध कर्मचारीसमेत बिरामी भएमा प्राथमिकस सेवा केन्द्र हुँदै आउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
‘मोरङ र आसपासका जिल्लाहरुमा तोकिएको प्रथम सेवा केन्द्रबाट विभिन्न कारणले कोशी अस्पतालमा उपलब्ध भएका सेवासमेत विराटनगरको निजी अस्पतालमा रेफर हुने सम्भावना बढी भएकोले रेफरल पनि सरकारी अस्पतालमा कम हुने सम्भावना रहेको,’ अस्पतालले भनेको छ ,‘विराटनगर महानगरपालिकाभित्रको ठूलो जनसंख्याले कोशी अस्पताललाई प्रथम सेवा केन्द्रको रुपमा प्रयोग गर्दै आएकोमा त्यसबाट अस्पतालको नाम हटाउँदा बिरामीहरुले अन्य स्थानीय तहमा प्रथम सेवा केन्द्रको सेवा लिन जानुपर्ने बाध्यता हुने हुँदा सेवाग्राहीलाई कठिनाइ हुने छ ।’
कोशी अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि अस्पताललाई पनि प्रथम सेवा बिन्दु तथा रेफरल केन्द्र दुवै तोक्न उपयुक्त हुने भन्दै मेडिकल सुपरिटेन्डेन्ट झाले पत्र पठाएकी हुन् । उनका अनुसार अस्पतालमा दैनिक १ हजारभन्दा बढी उपचार तथा स्वास्थ्य परीक्षणका लागि आउँछन् । तीमध्ये ७० प्रतिशत बिरामी स्वास्थ्य बिमाअन्तर्गतका हुन्छन् । बिमामार्फत उपचारका लागि कोशी आउने बिरामीमध्ये पनि ४० प्रतिशत प्रथम सेवा बिन्दुको रुपमा आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

























