तिजको गीत–संगीत : पवित्रताको सुगन्धबाट विकृतिको बाटोतिर

Share this
665shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ श्रावण ४, आइतबार १७:४९

विराटनगर । हरितालिका तिज नेपाली समाजमा महिलाका भावना, आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यमान्यताको जीवन्त पर्व हो ।

विशेष गरेर परम्परागत रूपमा धर्म, संस्कार र महिला सशक्तीकरणसँग जोडिएको यसलाई हिन्दु नारीहरुको पवित्र पर्व मानिन्छ । तिजमा महिलाहरूले भगवान् शिवको आराधना गर्दै आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख–समृद्धिको कामना गर्छन् । तिज व्रत, पूजापाठ, माइती जाने चेलीको प्रतीक्षा, हरितालिकाको कथा र जनजीवनसँग गाँसिएको एवं नारी संवेदना बोकेको महत्वपूर्ण पर्व हो ।

तिज भन्नेबित्तिकै आस्था, पारिवारिक सम्बन्ध, पतिको प्रतीक्षा, माया, त्याग र पीडाको भाव झल्किछ । तर, पछिल्ला दशकमा तिजको बाहिरी स्वरूपसँगै यसको सांगीतिक आयामले व्यापक परिवर्तन ल्याएको मात्रै छैन, थुप्रै विकृतिहरु निम्त्याइरहेको छ । विभिन्न हिसाबले पवित्र पर्वको मौलिक र सांस्कृतिक गाम्भीर्यमाथि प्रहार गरिन्छ । अझ भन्नु पर्दा, पवित्रताको सुगन्धलाई लुछेर विकृतिको बाटोतिर तिजलाई लैजाने काम भइरहेको छ ।

तिज भन्नेबित्तिकै अधिकांश नेपालीका मनमा रातो सारी, रातो टीका, सिन्दूर, लोक गीत–संगीत र नाचगानको झल्को आउँछ । तर, त्यो नाचगान आजको जस्तो चर्को धुन, भड्किलो दृश्य वा दोहोरो अर्थ लाग्ने बोलको भरमा थिएन । तिजका पुराना गीतहरूले नारीको पीडा, माइतीको माया, सामाजिक कुरीतिविरुद्धको चेतना, परम्पराको सौन्दर्य र आत्माभावलाई समेट्ने गर्थे ।

‘उडी आयो रानी चरी बस्यो सेतो हिमालमा, बुहारीभन्दा दाइजो प्यारो अहिले नेपालमा…’, ‘तिज आयो जाउ न बाबु दिदी लिनलाई …’ जस्ता कैयौं कालजयी गीतमा नारी मनको गहिरो अनुभूतिलाई मिठासपूर्वक उतारिएको छ । यी गीतहरूले सामाजिक कुरीतिविरुद्ध सशक्त आवाज उठाएका छन् ।

‘हरिदेवी कोइराला’जस्ता वरिष्ठ लोकगायिका र ‘प्रजापति पराजुली’जस्ता वरिष्ठ लोकगायकहरुको स्वरमा सजिएका यस्ता गीतले दाइजो प्रथा, समाजिक विकृतिमाथि प्रहार गर्दै महिलाको पीडा र विद्रोहलाई उठान गरेको पाइन्छ । कोइराला र प्रजापतिजस्तै सर्जकहरुले तिज गीतलाई सामाजिक चेतना फैलाउने माध्यम बनाउँदै आएका छन् । उनीहरुका गीत हरसमय सान्दर्भिक लाग्छन् । महिलाका वेदनालाई लोकलयमा समेटेर गीत–संगीत प्रेमीमाझ पस्किने कलाकारको क्षमताको सधैं सम्मान हुन्थ्यो । र हुन्छ पनि ।

कोइरालादेखि प्रजापति पराजुलीजस्ता कलाकारहरूले तिज गीतलाई सामाजिक सन्देश सम्प्रेषण गर्ने माध्यम बनाउँदै आएको लामो इतिहास छ । ‘बुहारीभन्दा दाइजो प्यारो अहिले नेपालमा’ भन्ने बोलको गीतमा दाइजो प्रथामाथिको व्यंग्य र नारी उत्पीडनविरुद्धको विद्रोह स्पष्ट देखिन्छ । ती गीतहरूले मनोरञ्जनमात्र नभएर चेतनाको सन्देश दिन्थे ।

वरिष्ठ लोकगायक पराजुली भन्छन्, ‘अहिलेका कलाकार र गीतकारहरू ट्रेन्डिङको पछि लागेर मौलिकता गुमाउँदै छन् ।’ उनका अनुसार मिडिया र प्रोडक्सन हाउसहरू यस्तो प्रवृत्तिलाई प्रवर्धन गर्दै जिम्मेवारीबाट विमुख भएका छन् । उनकै स्वरको ‘तीज आयो जाउ न बाबु दिदी लिनलाई, खुट्टामा ढोग गरें है भेट्दा भेनालाई…’ गीतमा माइती जाने चेलीको प्रतीक्षा, आत्मीय सम्बन्ध र संस्कारको भावनालाई समेटिएको छ । दशकौं अघिको यो गीत आज पनि उत्तिकै मर्मस्पर्शी सान्दर्भिक लाग्छ ।

तर, अहिलेको परिदृश्य फरक छ । प्रविधिको विकास, डिजिटल प्लेटफर्मको प्रभाव र ट्रेन्डिङको मोहमा परेका केही कलाकार, गीतकार र प्रोडक्सन हाउसहरू तिज गीतको मूल मर्म भुल्दै व्यवसायिकताको मात्र पछि लागेको प्रष्ट हुन्छ । यसको प्रत्यक्ष उदाहरण हो हाल भाइरल बनेको ‘सल्ला दमारमा’ गीत । ‘गोरुले गाई, भैँसीले राँगालाई, गरेझैँ माया गर न मलाई’ र ‘देवरले भाउजू मारेको’जस्ता विकृतिपूर्ण शब्द समेटेर तयार पारिएको गीतले न नारीको पीडा एवं आस्थालाई समेट्छ, न त सामाजिक चेतना नै जगाउँछ ।

यो गीतले सामाजिक सञ्जालमा भाइरल हुनेबाहेक कुनै पनि सन्देश दिन सकेको देखिँदैन । गीतको व्यापक विरोध भएपछि २ शब्द हटाएर पुनः युट्युबमा राखिएको भए पनि त्यसले मूल समस्यालाई छेक्न सकेन । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गीतमा सामाजिक मर्यादाविपरीत सामग्री रहेको भन्दै गृहमन्त्रीसँग भेटेर कारबाहीको माग गरिसकेको छ ।

संस्थाका अध्यक्ष चन्द्रमणि गौतम भन्छन्, ‘तिजजस्तो पवित्र पर्वमा भड्किलो सामग्री मिसाएर सांगीतिक क्षेत्रमा विकृति ल्याइएको छ । यस्ता गीत पारिवारिक परिवेशमा हेर्न पनि मिल्दैनन् ।’ उनका अनुसार सांस्कृतिक क्षेत्र र सामाजिक मर्यादाविपरीतका तिज गीतप्रति बढ्दो विकृतिसँगै ‘गाई कालो’ तथा ‘सल्ला दमारमा’जस्ता केहीलाई कारबाहीको माग गरिएको छ ।

गृहमन्त्रीलाई भेटेर गीत हटाउन र कलाकारमाथि कारबाही गर्न माग गरिएको गौतमको भनाइ छ । उनका अनुसार अन्य १५–२० गीतहरू पनि अनुसन्धानको दायरामा छन् । ‘तिजजस्तो पवित्र पर्वमा भड्किलो सामग्री मिसाएर सांगीतिक क्षेत्रमा चरम विकृति ल्याइएको छ,’ उनले भने, ‘यस्ता गीतहरू पारिवारिक र सामाजिक परिवेशमा हेर्न र सुनिन अयोग्य छन् ।’

संस्थाले नेपाल प्रहरीको साइबर ब्युरो र युट्युबलाई पत्राचार गरी यस्ता सामग्री हटाउन अनुरोध गरिसकेको छ । तर, कानुनी अस्पष्टताका कारण कार्यान्वयनमा कठिनाइ भएको बताइएको छ । गीतको विषयमा प्रहरीले थप अनुसन्धान त गरिरहेकै छ ।

‘सल्ला दमार’ गीतका गायक राजकुमार ओली भने आफ्नो गीत तिजको नभइ रोल्पा जिल्लाको लोकशैलीमा आधारित भएको दाबी गर्छन् । विवादपछि गायक ओलीले गीतका २ शब्द हटाएको पुष्टि गरेका छन् । ‘कुन शब्द हटायौं भनेर भन्न पाइँदैन । साइबर ब्युरोसँग भएको सम्झौता गोप्य हुन्छ,’ उनी भन्छन् ।

‘मैले आमाबाट सुनेको घटनालाई गीतमा ढालेको हुँ । यसलाई गलत व्याख्या नगरौं,’ उनले भने । गीतमा प्रयोग गरिएको ‘देवरले भाउजू मारेको’ शब्द पनि कुनै कल्पना नभइ बाल्यकालमा आमाबाट सुनेको २०४७ सालको यथार्थ घटनामा आधारित रहेको उनी बताउँछन् ।

‘गाउँमा गहना लुट्न भाउजूको हत्या भएको थियो । आमाबाट ती कुरा सुनेर म हुर्किएँ,’ ओली भन्छन् । दोहोरी गीतहरूमा प्रश्न–उत्तर हुने बताउँदै उनले भने, ‘त्यहाँ दोहोरो अर्थ लाग्न सक्छ । तर, श्रोता–दर्शकले गीतको पृष्ठभूमि र सन्देशलाई बुझ्न खोज्नुपर्छ ।’ तर, आलोचकहरू भन्छन्, ‘कुनै पनि सांस्कृतिक गीतले समय, परिवेश र पर्वको मर्यादालाई ध्यानमा राख्नैपर्छ ।’

सांस्कृतिक विश्लेषक डा. सोम खतिवडा तिज गीतमा देखिएको यो परिवर्तनलाई प्रविधि, पुस्तान्तरण र आर्थिक दबाबसँग जोडेर हेर्छन् । ‘जमाना फास्ट भयो । छिटो पैसा कमाउने, ट्रेन्डिङमा पुग्ने चाहनाले मौलिकताको हत्या गरेको छ । पुराना गीत भावपूर्ण थिए । अहिलेका गीत बाह्य सजावट र विवादमा अडिएका छन् । जसले पुराना मूल्यमान्यतालाई ओझेलमा पारेर विकृति बढाएको छ,’ उनले भने ।

खतिवडाका अनुसार केही युवापुस्ता पुराना परम्परा जोगाउन पनि लागिपरेका छन् । जस्तै, संगिनी नाचको संरक्षण । तिज केवल मनोरञ्जनको पर्व नभएर यसमा संस्कृति, आस्था र नारी संवेदना गहिरो रूपमा गाँसिएको उनले बताए । सामाजिक विद्रोह र भावनात्मक पीडा बोल्न खोजेपनि तिजका गीतहरु मौलिक हुनुपर्नेमा उनको जोड छ । रचनात्मक स्वतन्त्रता र सामाजिक मर्यादाबीचको सन्तुलन खोज्न नसके तिजको सांगीतिक धरोहर गुम्ने जोखिम रहने डा. खतिवडाले बताए ।

वास्तवमा तिज नारी आत्माभाव, संयम, सामाजिक सम्बन्ध र विश्वासको पर्व हो भन्नेमा कुनै दु्ईमत छैन । भाद्र शुक्ल तृतीयाका दिन महिलाहरूले बिहानैदेखि व्रत बसेर शिव–पार्वतीको पूजा गर्छन् । चेलीहरू माइतीमा भेला भएर गीत–संगीतमा रमाउँछन् । दुःख–सुख साटासाट गर्छन् । तर, गीतमा देखिएको भड्किलोपन र दोहोरो भावनाले न तिजको आत्मा बोल्छ, न त नारीको संवेदना ।

यसबाहेक गीतको नाममा सार्वजनिक मञ्चमा व्यक्तिगत आक्षेप, लाजमर्दा दृश्य र दोहोरीको नाममा हल्कापन प्रस्तुत हुनु तिजजस्तो पवित्र पर्वप्रतिको गम्भीर अपमान भएको सांगीतिक क्षेत्रका अगुवाहरु बताउँछन् । उनीहरुका अनुसार अहिलेका कतिपय तिज गीतहरु परिवारका सदस्य र बालबालिकासँग एकै ठाउँमा बसेर हेर्न सक्ने खालका छैनन् । पर्वको मूल मर्ममाथि प्रहार गर्ने यस्ता गीतले तिजको सांस्कृतिक गौरव जोगाउनलाई चुनौती खडा गरेको कतिपयको बुझाइ छ ।

तिज केवल रमाइलो गर्ने चाड मात्रै नभएर नारीको ऐतिहासिक अनुभूति, सांस्कृतिक सम्पत्ति र सामाजिक संवादको माध्यम हो । गीत–संगीतले यो पर्वलाई अझ जीवन्त बनाउने अवसर प्रदान गर्छन् । तर, यदि गीतले पर्वको आत्मा नै मेट्ने काम गर्छ भने त्यो सांस्कृतिक अपराध भएको डा. खतिवडाको भनाइ छ । ‘रचनात्मक स्वतन्त्रता स्वीकार्य हो,’ डा. खतिवडा भन्छन्, ‘तर, त्यो स्वतन्त्रता सामाजिक उत्तरदायित्व बिर्सिएर निरंकुश हुन मिल्दैन ।’

उनका अनुसार अबको आवश्यकता भनेको तिज गीतलाई मनोरञ्जनात्मक बनाउनैपर्छ भन्ने सोचभन्दा बाहिर गएर भावनात्मक, नैतिक र सांस्कृतिक गहिराइमा फर्कनु हो । ट्रेन्डिङको भिडभन्दा मौलिकताको बाटो रोज्ने हो भने तिज पर्वले फेरि आफ्नै पहिचान र गरिमा फर्काउन सक्ने आधारहरु पर्याप्त छन् । अन्यथा, ‘आज भाइरल, भोलि बिर्सिने’ गीतहरूले तिजको आत्मा क्षयीकरण गर्नेछ र अन्ततः हाम्रो सांस्कृतिक पहिचान नै संकटमा पर्न जाने सरोकारवाला बताउँछन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×