ई-बिडिङ ह्याक प्रकरण : दिवाकर पटके ह्याकर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १५:२७

काठमाडौं । नेपाल सरकारको अनलाइन बोलपत्र प्रणाली (ई–बिडिङ) ह्याक गरी ठेक्काको विवरण हेरफेर गरेको आरोपमा प्रहरीले पूर्वमन्त्रीदेखि सरकारी कर्मचारीसम्म १३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार यो प्रकरणको मुख्य योजनाकार सरकारी कर्मचारी दिवाकर देउजा हुन् । उनी पाँच वर्षअघि पनि नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा पक्राउ परेका थिए ।

मुख्य अभियुक्त देउजालाई यसअघि २०७७ असारमा नेपाल टेलिकमको सर्भर ह्याक गरी राजस्वमा क्षति पुर्‍याएको आरोपमा सीआईबीले नै पक्राउ गरेको थियो । त्यतिबेला ५० हजार धरौटीमा छुटेका देउजा पुनः संगठित रूपमा साइबर अपराध र ठेक्का सेटिङमा संलग्न भएको देखिएको हाे ।

धनकुटाको शहरी विकास तथा भवन कार्यालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत २८ वर्षीय देउजाले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई बोलपत्रको ‘इकोनोमिक प्रोपोजल’ खुल्नुअगावै विवरण हेर्ने र संशोधन गर्ने गरेकाे पाइएको प्रहरीले जनाएकाे छ । उनले निर्माण व्यवसायीहरूसँग आर्थिक बार्गेनिङ गरी अन्य प्रतिस्पर्धीभन्दा कम मूल्य राखेर ठेक्का हत्याउन सहयोग गर्ने गरेकाे प्रहरीकाे निष्कर्ष छ ।

सीआईबीले यस प्रकरणमा १० जना निर्माण व्यवसायीसहित १३ जनालाई हिरासतमा लिएको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसमेत रहेका छन् । भिषण कन्स्ट्रक्सनका टंककुमार श्रेष्ठ, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगाना, आशिष निर्माण सेवाका ऋषिकेश गौलीसहित अन्य लेखापाल र सहयोगीहरू पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.