
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका –४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले बिदाको दिनलाई पनि सदुपयोग गर्दै प्रत्येक शनिबार सरसफाइ र सौन्दर्यीकरणका लागि सामूहिक श्रमदान गर्न थालेका छन् ।
सरसफाइ र सौन्दर्यीकरणको अभियानमा विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र विद्यार्थीहरूले सहभागिता जनाउँदै आएका छन् ।
शनिबारका दिन गरिने सरसफाइ र सौन्दर्यीकरणको अभियानबारे अघिल्लो दिन (शुक्रबार) विश्वविद्यालयकी प्रशासन प्रमुख शारदा सुवेदीले उपकुलपति डा. सुवासश्री पोखरेलसँग समन्वय गरेर योजना तय गरेर सबैलाई श्रमदानको तालिका सार्वजनिक गर्छिन् ।
स्कुल अफ इन्जिनियरिङका प्रशासन अधिकृत महेश राईका अनुसार, सामूहिक श्रमदानले शरीर चलायमान हुन्छ, सहयोगी भावना बढ्छ र आफ्नो विश्वविद्यालय हो भन्ने माया पनि पलाउँदो रहेछ ।
उनीहरू हरेक शनिबार उपकुलपतिको कार्यालय, इन्जिनियरिङ र एप्लाइड साइन्स एन्ड टेक्नोलोजीका परिसर, कर्मचारी निवास र विद्यार्थी छात्रावास अगाडि सरसफाइ गर्दै वृक्षारोपण र फूलबारीको गोडमेल गरेर सौन्दर्यीकरण गर्छन् ।
प्रशासन प्रमुख सुवेदीका अनुसार श्रमदानका लागि प्रत्येक शनिबार फरक–फरक स्थान छनोट गरेर सामूहिक रूपमा सहभागी हुने र विश्वविद्यालयले श्रमदानका लागि आवश्यक उपकरण, बिरुवाका साथै सहभागीहरूलाई चिया, बिस्कुट र पानीको व्यवस्था गर्ने गरेको छ ।

























