एभरेष्ट स्कुलले ‘नमुना संयुक्त राष्ट्रसंघीय सभा’ आयाेजना गर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १८, आइतबार १३:४२

विराटनगर । विराटनगरकाे एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजका विद्यार्थीहरुले ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ सभा आयोजना गर्ने भएका छन् ।

विद्यार्थीहरुको नेतृत्व  र व्यक्तित्व विकासका लागि साउन २१, २२ र २३ गते विद्यालयमा ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ गरिने भएकाे हाे ।

Advertisement

कार्यक्रमको उद्घाटन साउन २१ गते बिहान कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईले गर्ने कार्यक्रम संयोजक इशल भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म चल्ने यस नमुना सभामा कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिनेछन् । उनीहरूलाई विभिन्न ६ वटा सांकेतिक समितिमा विभाजन गरिनेछ, जसमा संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय प्रेस छन् ।

ती समितिहरूमा निशस्त्रीकरण, मानवअधिकार, कोभिड– १९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विश्वव्यापी तथा क्षेत्रीय महत्त्वका विषयमा छलफल हुनेछ ।

नेपाल र भारतका मोडरेटरहरूले सहजीकरण गर्ने उक्त छलफलमा हरेक समितिमा ३३ जना विद्यार्थी प्रतिनिधि रहनेछन् ।

संयोजक भट्टराईले विद्यालयले दिएको शिक्षा र आत्मविश्वासको जगमा उभिएर पहिलो पटक यस्तो अभ्यास गर्न लागेकोमा विद्यार्थीहरू निकै उत्साहित रहेको बताए ।

मुख्य उद्देश्यहरू 
विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका समस्या पहिचान र समाधानका लागि विकल्प खोज्न सिकाउने ।
नेतृत्व, व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कूटनीति र सम्बन्ध बुझ्ने सामर्थ्य बढाउने ।
समालोचनात्मक चेतको विकास गर्दै सहकार्यको भावना जागृत गराउने ।
तार्किक क्षमताको विकास साथै आत्मविश्वासमा वृद्धि गराउने र  विश्वस्तरीय जनशक्तिसँग सहकार्य, समन्वय र प्रतिष्पर्धी बन्ने क्षमताको विकास गराउने ।

कार्यक्रमको संरक्षकमा विद्यालयका प्राचार्य टीकाराम पुरी   छन् । ग्लोबल हेल्प फाउण्डेसनले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गर्नेछ । छलफल  पछि ‘एभरेष्ट घोषणापत्र’ जारी गर्दै कार्यक्रम समापन हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.