बजारमा आयो चेलीको वेदना (भिडियोसहित)

Share this
749shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ श्रावण २३, शुक्रबार १७:४८

विराटनगर । तिजको लय र ताल सहरभर गुञ्जिरहेको छ । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा नयाँ–नयाँ तिज गीतको भिड छ ।

कतिपय गीतमा देखिएको छाडापन र चमक धमकबारे आलोचना भइरहेका बेला मोरङको सुन्दरहरैँचास्थित बेलेपुरकी अनु बुढाथोकीको स्वरमा आएको एउटा फरक गीतले यतिबेला सबैको ध्यान खिचेको छ । ‘उता तिजको लहर’ बोलको गीतमा चेलीको वेदना पाेखिएकाे छ ।

‘तिजै आयो, छमछम पानी पर्यो झम्म
मेरी आमा, दर पाक्यो भन लौ भन
उता तिजको लहर बरिलै, यता भदौरे आँसु धरधर।’

यो गीतमा न उच्छृंखल नाच–गानको प्रदर्शन छ, न त भड्किलो शब्द–संगीत । बरु यथार्थ र भावनाको सन्तुलित मिश्रणले भरिपूर्ण छ । आमा नभएकी चेलीको मनको पीडालाई यो गीतमार्फत पोखिएको छ ।

गायिका अनुको लागि यो केवल एउटा तिज गीत मात्र होइन, आफ्नै जीवन कथाको एउटा महत्वपूर्ण अंश हो । ‘मेरो आमा हुनु हुन्न । तिजको बेला एउटी चेलीलाई आमा कति महत्वपूर्ण हुन्छ भन्ने महसुस भएर नै यो गीत जन्मिएको हो,’ उनी भन्छिन्, ‘आमा हुँदा र नहुँदा कस्तो फरक पर्छ भन्ने भाव यसमा पोखिएको छ ।’

गीतमा शब्द र संगीत यादव घिमिरे र नवीन गौतमको छ । ‘यो गीतमार्फत संस्कार र संस्कृतिको आत्मा जोगाउने प्रयास भएको छ,’ अनु भन्छिन्, ‘तिजलाई मनोरञ्जन मात्र होइन, भावनाको उत्सवका रूपमा प्रस्तुत गरिएको छ ।’

गीतलाई दृश्यमार्फत देखाउन निर्देशक भूपेन्द्र तुम्बाहाम्फेले म्युजिक भिडियो तयार पारेका छन् । नृत्य निर्देशन राजु बस्नेत र अविनाश विकेको रहेको छ भने संगीत संयोजन विशाल निरौलाले गरेका छन् । रन्जन राईको मिक्सिङ र अलंकार स्टुडियोमा रेकर्डिङ गरिएको भिडियोमा अमृता खड्का, सरिता दाहाल, अनु बुढाथोकी, शेरबहादुर बुढाथोकी र बिन्दा गिरीको अभिनय छ ।

तिजको बजारमा प्रायः भड्किलो प्रतिस्पर्धा भइरहेको हुन्छ । तर, अनु बुढाथोकीको गीतले तिज केवल गीत संगीतको उत्सव मात्रै नभएर स्मृतिको पनि हो भनेर सम्झाइदिन्छ । विशेषगरी आमा नभएका छोरीहरूका लागि यो गीत तिजको लयसँगै बग्ने एउटा अमिट भाव हो भन्दा फरक नपर्ने सांगीतिक क्षेत्रका अगुवाहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×