
विराटनगर । एउटा अस्पतालको सेयर खरिद–बिक्री, त्यसबापत भएको लाखौंको भुक्तानी र सुरक्षाका लागि दिइएका ‘ग्यारेन्टी’ चेक अहिले त्यही अस्पतालको विवादको मुख्य आधार बनेका छन् ।
विराटनगर महानगरपालिका–१४ रानीस्थित साविकको हाजी आँखा अस्पताल हाल रानी विराटनगर आँखा अस्पताल प्रालिको सेयर कारोबारलाई लिएर अध्यक्ष मन्नुकुमार गुप्ता र चार पूर्वसञ्चालकबीच विवाद चर्किएको हो । अस्पतालका अध्यक्ष गुप्ताले चार पूर्वसञ्चालकलाई सेयरबापतको रकम भुक्तानी गरिसकेको बताउँदै पुरानो ‘ग्यारेन्टी चेक’लाई आधार बनाएर पुनः रकम असुल्न खोजिएको उल्लेख गरे ।
पूर्वसञ्चालकहरूले भने आफूहरूले कममा सेयर बिक्री गरेको र त्यसबापतको रकम नपाएको दाबी गर्दै अस्पतालले सार्वजनिक गरेको भुक्तानी विवरण नै अस्वीकार गरेका छन् । विवादको सबैभन्दा महत्वपूर्ण पाटो भने गुप्ताले सेयर कारोबारका क्रममा सुरक्षाका लागि दिएको करिब १ करोड ६० लाख रुपैयाँ बराबरका ‘ग्यारेन्टी चेक’ हुन् ।
गुप्ताका अनुसार रकम भुक्तानी भइसकेपछि फिर्ता हुनुपर्ने ती चेक पूर्वसञ्चालकहरूको हातमै रहेका थिए । अहिले त्यही चेकलाई आधार बनाएर बैंकिङ तथा कालोसूचीसम्बन्धी प्रक्रिया अघि बढाउने प्रयास पूर्वसञ्चालकहरुले गरेका छन् ।
२०७८ सालमा करिब ३ करोड रुपैयाँ लगानीमा १६ जना सेयर सदस्य मिलेर स्थापना गरेको हाजी आँखा अस्पताल अपेक्षाअनुसार सञ्चालन हुन नसकेपछि सेयर सदस्यहरू क्रमशः बाहिरिन थालेका थिए । खाद्यान्न व्यवसाय गर्दै आएका मन्नुकुमार गुप्ताले २०८२ जेठबाट अस्पताल सञ्चालनको जिम्मा लिएपछि पूर्वसेयरधनीहरूलाई रकम दिने सहमति भएको थियो । आफूले अस्पतालमा थप करिब २ करोड ५० लाख रुपैयाँ लगानी गरेको गुप्ताले बताएका छन् । गुप्ताले सञ्चालकको जिम्मा लिँदा अस्पताल लथालिंग अवस्था थियो ।
अस्पताल प्रशासनका अनुसार १५ मध्ये हालसम्म ११ जना सेयरधनी नियमसंगत रूपमा सेयर बिक्रीको रकम लिएर बाहिरिसकेका छन् । तर, डा. गुणराज कट्टेल, ज्याउल कमर, राजेश साह र मो. अतहर अनसारीसँगको कारोबारमा विवाद कायम छ । उनीहरुमाथि अध्यक्ष गुप्तालाई तल पारेर दोब्बर रकम असुल्न खोजेको आरोप लागिरहेको छ ।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार डा. गुणराज कट्टेललाई सेयरबापत ५७ लाख ८० हजार रुपैयाँ तिर्नुपर्नेमा एक्सेल डेभलपमेन्ट बैंकमार्फत २३ लाख ९० हजार, ग्लोबल आइएमई बैंकमार्फत ११ लाख र विभिन्न मितिमा २२ लाख ९० हजार रुपैयाँ नगद दिइएको छ । अस्पतालका अनुसार २०८२ मंसिर १२ देखि माघ १५ गतेसम्म उक्त रकम भुक्तानी गरिएको हो ।
त्यस्तै, ज्याउल कमरलाई पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँमध्ये १० लाख रुपैयाँ एक्सेल डेभलपमेन्ट बैंकमार्फत र बाँकी ९ लाख ६२ हजार ६०७ रुपैयाँ नगद दिइएको अस्पतालको दाबी छ । राजेश साहलाई पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँको सट्टा ३१ लाख ६५ हजार रुपैयाँ एक्सेल डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई बैंकमार्फत भुक्तानी गरिएको अस्पतालले जनाएको छ । अस्पतालको विवरणअनुसार यो रकम पाउनुपर्नेभन्दा १ लाख १ हजार ६०० रुपैयाँ बढी हो ।
मो. अतहर अनसारीलाई पाउनुपर्ने ५० लाख ८० हजार १५६ रुपैयाँमध्ये ४५ लाख ७ हजार ४९५ रुपैयाँ उनका पिता कादिर अनसारीको नाममा एक्सेल डेभलपमेन्ट बैंकमार्फत र बाँकी ५ लाख ७२ हजार ६६१ रुपैयाँ नगद बुझाइएको अस्पतालको भनाइ छ । सबै कारोबारलाई जोडेर अध्यक्ष गुप्ताले चारै जनालाई ब्याजसहित १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी गरिसकेको देखिन्छ ।

तर, पूर्वसञ्चालकहरूले भने अस्पतालको उक्त हिसाब स्वीकार गरेका छैनन् । उनीहरूले सेयर बिक्रीबापत पाउनुपर्ने रकम प्राप्त हुन नसकेको दाबी गरे । अस्पतालले देखाएका कतिपय भुक्तानी व्यक्तिगत कारोबारसँग सम्बन्धित रहेको दाबी उनीहरुको छ ।
ज्याउल कमरले आफूले पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँ नपाएको बताएका छन् । गुप्ताले देखाएको रकम व्यक्तिगत कारोबारको भएको र त्यसलाई अस्पतालको सेयर भुक्तानीसँग जोडेर भ्रम सिर्जना गरिएको उनको आरोप छ ।
डा. गुणराज कट्टेलले १५ प्रतिशत घटाएर ५७ लाख ८० हजार रुपैयाँमा सेयर कारोबार भएको बताएका छन् । सेयर बिक्रीपछि अस्पताल सञ्चालनमा समस्या हुँदा आफूले ३७ लाख रुपैयाँभन्दा बढी बैंकमार्फत र करिब १२ लाख रुपैयाँ नगद सहयोग गरेको उनको दाबी छ । सेयर गुप्ताको नाममा गइसके पनि बिक्रीबापतको रकम आफूले नपाएको उनले बताएका छन् ।
मो. अतहर अनसारीले अस्पतालले आफ्ना पिता कादिर अनसारीको नाममा गरिएको भुक्तानीलाई आफ्नो सेयरको रकममा समेत जोडेको आरोप लगाएका छन् । अस्पतालमा आफू र बुवाको छुट्टाछुट्टै सेयर रहेको उल्लेख गर्दै उनले आफ्नो सेयर बिक्रीबापत एक रुपैयाँसमेत नपाएको दाबी गरेका छन् ।
राजेश साहले पनि आफ्नो सेयरबापत पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँ नपाएको बताएका छन् । गुप्तासँगको व्यक्तिगत कारोबार र अस्पतालको कारोबार अलग रहेको उनको भनाइ छ । उनले घर बन्धकी राखेर एनआईसी एसिया बैंकमार्फत ३० लाख रुपैयाँ अस्पतालको नाममा पठाएकोसमेत बताएका छन् ।
सेयर कारोबारका क्रममा गुप्ताले चारै जना पूर्वसञ्चालकलाई आफ्नो व्यक्तिगत खाताबाट कुमारी बैंक (साविक एनसीसी बैंक)का चेक ग्यारेन्टीका रूपमा दिएको स्वीकार गरेका छन् । कमरका नाममा १९ लाख ६२ हजार ६०७ रुपैयाँ, कट्टेलका नाममा ५७ लाख ८० हजार रुपैयाँ, साहका नाममा ३० लाख ६३ हजार ४०० रुपैयाँ र अनसारीका नाममा ५० लाख ८० हजार १५६ रुपैयाँका चेक दिइएको उनको भनाइ छ ।
गुप्ताका अनुसार सेयरबापतको रकम बैंक तथा नगदमार्फत भुक्तानी भइसकेपछि ती चेक फिर्ता हुनुपर्ने थियो । तर, चेक फिर्ता नभई त्यसैलाई आधार बनाएर दोब्बर रकम असुल्ने र कालोसूचीमा पार्ने प्रक्रिया अघि बढाइएको उनको आरोप छ ।
आफूले सेयरको रकम भुक्तानी गरिसकेको प्रमाण हुँदाहुँदै ‘ग्यारेन्टी चेक’मा उल्लेखित रकमका आधारमा पुनः दाबी गर्नु दोहोरो असुलीको प्रयास भएको गुप्ताले बताएका छन् । ‘रकम भुक्तानी भइसकेको छ । अदालतको आदेशअनुसार पुनः बैंकमा रकम जम्मा हुँदासमेत रकम बुझ्न नआउने । तर, मिडियामा गएर चरित्रहत्या गर्ने काम भएको छ,’ उनले भने, ‘हामीसँग हरेक भुक्तानीको प्रमाण छ । भ्रम फैलाउनेहरूविरुद्ध कानुनी उपचार खोज्छौँ ।’
पूर्वसञ्चालकहरुले शनिबार पत्रकार सम्मेलन गरेर रकम नपाएको दाबी गरेका थिए । तर, अस्पतालले सर्वाजनिक गरेको विवरणले उनीहरुको दाबीलाई शंकास्पद एवं रहस्यमय बनाएको छ । विवाद चर्किएपछि गुप्ताले ‘ग्यारेन्टी चेक’मा उल्लेखित बराबरको रकमसमेत कुमारी बैंकमा जम्मा गरेको बताएका छन् । उनका अनुसार उच्च अदालत विराटनगरमा परेको रिट खारेज भएको भए पनि फैसलाको पूर्णपाठ प्राप्त हुन बाँकी रहेको अवस्थामा अदालतको फैसलाको सम्मान गर्दै २०८३ असोज ६ र ७ गते करिब १ करोड ६० लाख रुपैयाँ कुमारी बैंकमा जम्मा गरिएको हो ।
उनले उक्त रकम जम्मा गरिसकेपछि पनि सम्बन्धित पूर्वसञ्चालकहरू रकम बुझ्न नआएको र उल्टै पत्रकार सम्मेलनमार्फत अस्पताल तथा आफ्नो व्यक्तिगत चरित्रमा आघात पुर्याउने प्रयास भएको आरोप लगाएका छन् । कालोसूचीसम्बन्धी प्रक्रिया रोक्न गुप्ताले कुमारी बैंक विराटनगर शाखामा निवेदनसमेत दिएका छन् ।
तर, पूर्वसञ्चालकहरूको दाबी यसभन्दा फरक छ । उनीहरूका अनुसार बैंकमा रकम जम्मा गर्दैमा आफूहरूले सेयर बिक्रीबापतको रकम प्राप्त गरेको प्रमाणित हुँदैन । गुप्ताले दिएको ‘ग्यारेन्टी चेक’ साट्न खोज्दा खातामा पर्याप्त रकम नरहेको र पटकपटक रकम माग्दा पनि भुक्तानी नपाएको उनीहरूको आरोप छ ।
पूर्वसञ्चालकहरूले मो. अतहर अनसारीको पक्षमा असोज २ गते उच्च अदालत विराटनगरबाट फैसला भएको दाबी गरेका छन् । अदालतको आदेशपछि कालोसूचीबाट जोगिन गुप्ताले बैंकमा रकम जम्मा गरेको र बैंकका कर्मचारीले कालोसूचीसम्बन्धी निवेदन फिर्ता लिन लगाएको उनीहरूको आरोप छ ।
यसबीच चार पूर्वसञ्चालकले सेयर बिक्रीबापत करिब १ करोड ५८ लाख रुपैयाँ नपाएको भन्दै शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेका थिए । त्यसपछि अस्पताल प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको आरोपलाई निराधार, भ्रामक र तथ्यहीन भनेको हो । रकम भुक्तानी भइसकेको विवरणसमेत अस्पतालले सार्वजनिक गरेको छ ।
अस्पतालको दाबी र पूर्वसञ्चालकहरूको भनाइबीच अहिले मुख्य विवाद रकमको मात्र नभई भुक्तानीको प्रकृतिमा समेत देखिएको छ । अस्पतालले बैंकमार्फत र नगद गरिएको कारोबारलाई सेयरको रकम भनेको छ भने पूर्वसञ्चालकहरूले केही कारोबार व्यक्तिगत भएको र आफूले सेयर बिक्रीको रकम नपाएको बताएका छन् ।
अर्कोतर्फ, ‘ग्यारेन्टी चेक’को विषयले विवादलाई थप जटिल बनाएको छ । सेयर कारोबारका क्रममा सुरक्षाका लागि दिइएको चेक रकम भुक्तानीपछि फिर्ता हुनुपर्ने थियो कि थिएन, चेक फिर्ता नहुनुको कारण के हो, चेक बैंकमा पेस हुँदा खातामा कति रकम थियो र पछि बैंकमा जम्मा गरिएको करिब १ करोड ६० लाख रुपैयाँ कुन दायित्व पूरा गर्न राखिएको हो भन्ने प्रश्न अहिले विवादको केन्द्रमा छन् ।
अस्पताल अध्यक्ष गुप्ता चारै जनालाई १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी गरिसकेको दाबी गर्छन् । ‘ग्यारेन्टी चेक’मा उल्लेखित रकम बराबर करिब १ करोड ६० लाख रुपैयाँ बैंकमा जम्मा गरिसकेको गुप्ताले बताए । पूर्वसञ्चालकहरू भने भुक्तानी नै नपाएको अडानमा छन् ।
त्यसैले यो विवादको वास्तविकता दाबी र आरोपबाट मात्र नभएर सेयर खरिद–बिक्रीसम्बन्धी सम्झौता, बैंक स्टेटमेन्ट, चेक पेस भएको अभिलेख, नगद भुक्तानीका भरपाई, रकम कुन व्यक्तिको खातामा गएको हो भन्ने बैंकिङ प्रमाण तथा अदालतको पूर्णपाठबाट छुट्याउनुपर्ने देखिन्छ ।
नियमतः बैंक तथा नगदबाट रकम चुक्ता भइसकेपछि ‘ग्यारेन्टी चेक’हरू फिर्ता हुनुपर्ने थियो । तर, पूर्वसञ्चालकहरूले चेक फिर्ता गर्नुको साटो बैंकमा पेस गरेर बाउन्स गराउने र त्यसैलाई हतियार बनाएर अस्पताललाई कालोसूचीमा राख्ने खेल खेलिरहेको पाइएको छ । एकातिर बैंक खाताबाट किस्ताबन्दीमा पैसा बुझ्दै जाने र अर्कातिर हातमा रहेको पुरानो ‘ग्यारेन्टी चेक’ देखाएर पुनः सोही बराबरको रकम असुल्न खोज्नु वित्तीय अपराध भएको प्रहरी अधिकारीहरु बताउँछन् ।
स्रोतका अनुसार पूर्वसञ्चालकहरुमा देखाएको अतिरिक्त लोभका कारण विवाद जटिल बनेको छ । घटना मिलिसकेको र सेयर बिक्रीबापतको पैसा पनि सबैले पाइसकेको एक जना पूर्वसञ्चालक बताउँछन् । बैंकमा पैसा हालेपछि पूर्वसञ्चालकहरु हतारहतार गर्दै पत्रकार सम्मेलन गर्न पुग्नुले नियत गलत देखिने ती पूर्वसञ्चालकको भनाइ छ ।
अस्पताल प्रशासनले संस्थाको प्रतिष्ठामा असर पार्ने गरी गलत सूचना फैलाइएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएको छ । पूर्वसञ्चालकहरूले भने आफूहरूले पाउनुपर्ने रकम मागेको दाबी गरेका छन् ।
अस्पताल चलाउने १६ जनामध्ये ११ जना सञ्चालकहरू नियमसंगत रूपमा सेयर बेचेको रकम लिएर बाहिरिइसकेका छन् । तर, चार जनाले सुरुवाती चरणको सुरक्षा चेकलाई भजाएर विवाद गरेको देखिएको छ । हातमा रहेको ‘ग्यारेन्टी चेक’ देखाएर पूर्वसञ्चालकहरुले दोब्बर असुल्न व्यापक चलखेल गरिरहेको पाइएको हो ।
हाजीको सेयर विवादबाट पहिले नै भुक्तानी भइसकेको भनिएको सेयर रकमका लागि ‘ग्यारेन्टी चेक’ फेरि किन अगाडि सारियो ? र यदि रकम साँच्चिकै भुक्तानी भएको हो भने ती चेक फिर्ता किन भएनन् ? भन्ने गम्भीर प्रश्न उठेको छ ।
सेयर बिक्रीको विषयलाई लिएर विवाद गर्ने चार जनामध्ये राजेश साह र अतहर अन्सारी आईपीएलको समयमा सट्टेबाजी गरेको आरोपमा गत जेठ ५ गते पक्राउ परेका थिए । त्यतिबेला साह र अनसारीसहित चार जना पक्राउ परेका थिए । उनीहरुबाट प्राप्त मोबाइल र डिभाइस परीक्षणका लागि पठाएर चारै जनालाई प्रहरीले जेठ ७ गते छाडेको थियो । तर, उनीहरुमाथिको अनुसन्धान जारी छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले परीक्षण रिपोर्ट प्राप्त हुन बाँकी रहेको र रिपोर्ट प्राप्त हुनसाथ थप अनुसन्धान एवं कानुनी कारबाही अघि बढ्ने बताए । ‘सट्टेबाजीमा त्यतिबेला पक्राउ परेकाहरुमाथिको अनुसन्धान जारी छ । रिपोर्ट प्राप्त भएपछि थप प्रक्रिया अघि बढ्छ,’ मिश्रले भने ।
प्रहरीका अनुसार सट्टेबाजीमा पक्राउ परेकाहरुले विगतमा पनि विभिन्न खालका आर्थिक अपराध गरेको पाइएको छ । अहिले अस्पतालसँग दोब्बर रकम लिन चलखेल गरिरहेकाहरुले मिटरब्याजको जस्तो असुल्ने धन्दा चलाएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘यदि त्यस्तो हो र उजुरी पर्यो भने उनीहरूमाथि थप अनुसन्धान एवं कारबाही अघि बढ्छ,’ प्रहरी स्रोतले भन्यो ।



















