अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार ०९:१९

कास्की । सडक तथा पदमार्ग सञ्चालनमा आएपछि विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढेको छ । निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटक एबिसीतर्फ मोडिन थालेका हुन् ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक करिब ३०० पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन् । उनका अनुसार विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ भने दसैँ सुरु भएपछि नेपाली पर्यटकसमेत बढ्ने अपेक्षा गरिएको छ ।

एबिसीमा पर्यटकलाई राख्न सकिने छवटा होटल तथा लज छन् । ती होटलमा एकपटकमा करिब ३५० पर्यटक राख्न सक्ने क्षमता रहेको गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण आधार शिविरतर्फ जाने सडक खुलेपछि पदयात्रा पनि सहज भएको छ ।

यसअघि वर्षा र बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको थियो । बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सडक अवरुद्ध भएको थियो। गाउँपालिकाले झन्डै डेढ महिना लगाएर असोजको पहिलो साता सडक सञ्चालनमा ल्याएको हो ।

मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सडक तथा पदयात्रा मार्ग पहिरोका कारण अवरुद्ध भएपछि त्यसतर्फ जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेका गुरुङले बताए । ‘मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ । त्यसकारण पनि दक्षिण एसियाली मुलुकका पर्यटकको रोजाइ एबिसीमा बढेको हो। नेपाली पर्यटक दसैँ सुरु भएपछि आउने अपेक्षामा छौँ’, उनले भने ।

अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा अवरुद्ध सडक खुलेपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्नसमेत सहज भएको छ । सडक यातायात सहज हुनुका साथै पदयात्रा मार्गको अवस्था पनि सामान्य बन्दै गएपछि पर्यटकको आवागमन बढेको हो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरा–घान्द्रुक–एबिसीसम्मका सडक अहिले सञ्चालनमा छन् । कतिपय स्थानमा अस्थायी प्रबन्ध गरेर भए पनि पदमार्ग खुलाइएको उनले बताए ।

‘बिरेठाँटी र स्याउली बजार खुल्यो । घान्द्रुकबाट माथि पनि अब समस्या छैन । एबिसी ट्रेक आउने स्थायी र अस्थायी सबै सडक खुलेका छन् । नयाँपुल, घान्द्रुक, छोमरुङ सबै ठाउँबाट आउन सकिन्छ’, उनले भने । यसैगरी, दुई महिनाअघि किम्रुङ खोलाले पक्की झोलुङ्गे पुल बगाएपछि अवरुद्ध भएको पदमार्गमा काठे फड्के निर्माण गरेर आवागमन सञ्चालनमा ल्याइएको छ ।

समुद्री सतहबाट करिब चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । हिमालको नजिकबाट सूर्योदय तथा हिमशृङ्खलाको दृश्यावलोकन, स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्न पाइने भएकाले एबिसी स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, स्थानीय जीवनशैली, हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला र हिमाली भू–दृश्यको अवलोकन गर्न पाउँछन् । माछापुच्छ्रे आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो । पदयात्राका क्रममा माछापुच्छ्रे, अन्नपूर्ण साउथ र अन्नपूर्ण प्रथमलगायत हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ ।

पर्यटकको आवागमन बढेसँगै गाउँपालिकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ । केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक र स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार सेवा उपलब्ध हुनेछ ।

एबिसी पदयात्राका क्रममा पर्यटक बिरामी पर्ने तथा उच्च उचाइका कारण लेक लागेर ज्यान जाने घटना समेत हुने गरेकाले प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×