
प्रवासको आँखीझ्यालबाट नेपाली साहित्यलाई गहिरो दृष्टिले नियालिरहेकी कवि जुनु राना हाल हङकङ साहित्यिक साझा शृङ्खलामा संयोजकको जिम्मेवारी सम्हालिरहेकी छिन् । पछिल्लो समय ‘रातो नदी’ कविता संग्रहमार्फत चर्चामा आएकी उनले नेपाली समाजमा महिलाले भोगेका असंख्य बाधा र अप्ठ्यारा जीवन यथार्थलाई कलमी शक्तिद्वारा अभिव्यक्त गर्दै आएकी छन् । कवि रानासँग मुलुकी खबरकर्मी सुजता लिम्बूले गरेको संक्षिप्त कुराकानी…
१, ‘रातो नदी’ शीर्षकको पछाडिको भाव के हो ? यो कविता संग्रहमा तपाईंले के–कस्ता विषय र संवेदना समेट्ने प्रयास गर्नु भएको छ ?
– रातो नदी बिम्बात्मक शीर्षक हो । जसले नारी मात्रको पहिचान बोक्छ । नारीहरूमा महिनावारीको रुपमा प्रत्येक महिना बग्ने रातो रगत उनीहरूको निजत्व हो । जसरी नदीको अर्को नाम गतिशीलता हो, त्यसरी नै सृष्टिको गतिशीलतालाई चलायमान बनाउन रातो नदीको भूमिका छ । यसरी हेर्दा रातो नदी सृष्टीको मुहान हो, कारक हो । यसलाई नजरअन्दाज नगरौं । मूलतः नारीहरूको अस्तित्व र अस्मिताको सम्मान गरौं भन्ने भाव र आग्रह ’रातो नदी’को सन्देश हो । यस संग्रहमा नारीवादी लगायत अन्य सामाजिक, राजनैतिक, बैचारिक र प्रेम विशेष कविताहरू पनि छन् ।
२, हङकङजस्तो व्यस्त प्रवासी जीवनबीच नेपाली साहित्य लेखनलाई निरन्तरता दिनु चुनौतीपूर्ण छ कि छैन ? तथापि, तपाईंलाई प्रेरित गर्ने मुख्य कारण के हो ?
– हो हङकङको जीवन दौडधुपमै बित्छ । यहाँ हामी दैनिक १२ घण्टा मजÞदुरी गर्छौं । बचेको समयमा लेख्ने पढ्ने र अन्य कुराहरू गर्ने हो । इच्छा र चाहना भए समयको पावन्दीले नछेक्ने रहेछ । मलाई हाम्रै देश र समाजको विविध परिवेशले लेख्न प्रेरित गर्छ ।
३, तपाईंका कविताहरूमा प्रवास, पहिचान र नारी चेतना झल्किन्छन् । यी विषयहरू तपाईंका लागि व्यक्तिगत रूपमा कति गहिरा छन् ?
– म आफैं नारी हुँ । आम महिलाले भोगेको परिस्थिति थोरबहुत मैले नभोग्ने कुरै भएन । महिला भेदभावका कुरा लगायत विविध सामाजिक विसंगत पक्षले छोएर नै त्यसअनुरुप लेख्छु ।
४, हङकङमा नेपाली साहित्यिक गतिविधि कत्तिको सक्रिय छ ? तपाईंको सहभागिता र अनुभव कस्तो रह्यो ?
– हङकङ नेपाली साहित्यको राम्रो थलो हो । यहाँ पहिलेदेखि नै धेरै–थोरै साहित्यक गतिविधि हुँदै आएको छ । अहिले यहाँ मेरो संयोजकत्वमा रहेको ‘हङकङ साहित्यक साझा शृङ्खला’ संस्था विशेष सक्रिय छ । जसले प्रत्येक महिनाको अन्तिम आइतबार अनिवार्य साहित्यिक कार्यक्रम गर्छ । अन्य फुटकर कार्यक्रम पनि हुने गरेको छ ।
५, पाठक, कविता र आफ्नो सिर्जनशीलताको दृष्टिले अबको यात्रा कस्तो देख्नुभएको छ ?
–अबको मेरो यात्रा यस्तै हुनेछ भन्न सकिन्न । मेरो सक्रियता रहिरहे सृजनशीलता अवश्य नै राम्रो होला । पढ्ने लेख्ने मेरो रुचि हो । आशा छ, यात्रा रोकिने छैन ।
६, आगामी कुनै कृतिको तयारी छ ?
– एउटा कृतिको तयारी गरिरहेको छु । म यतिबेला लाहुरेनी सौन्दर्य नामक कृतिको तयारीमा व्यस्त छु । सायद यो आउने दसैंताका लोकार्पण हुन्छ होला । यस कृतिमा मैले विभिन्न समयमा लेखेका विविध साहित्यिक रचनाहरू समावेश छन् । जसलाई मैले ‘मुक्त आलेख’ भनेर उल्लेख गरेको छु ।



















