
विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा एक चिहान नाटक मञ्चन हुने भएको छ । हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास एक चिहानको नाट्य रुपान्तरणसहित भोलि बुधबारबाट मञ्चन गरिने भएको हो ।
अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरेको सो उपन्यासलाई अध्ययन÷अध्यापनमा सहजता आउने गरी मञ्चन गर्न लागिएको हो ।
विराटनगर आसपासका विद्यार्थी तथा नव–कलाकारहरुको खोजी गर्दै नाट्य अभिनय कार्यशालासहित पूर्वाभ्यास गरिएको नाटकलाई भदौ महिनाभरि नियमित प्रदर्शन गर्ने योजना रहेको नाटक संयोजक देवेन्द्र यादवले जानकारी दिए ।
नेपाली समाजका विविध घटनाक्रम तथा निम्नवर्गिय नेपालीहरुले भोग्नुपरेको समस्याहरुलाई यथार्थपरक रुपमा नाटकमा प्रस्तुत गरिएको छ ।
नाटकमा विद्यार्थीहरुको सहजताका लागि समग्र विषयवस्तुहरुलाई कलात्मक तथा मनोरञ्नात्मक हिसाबले प्रस्तुत गरिएको छ । समाजले नारीलाई हेर्ने दृष्टिकोण, जातीय विभेदजस्ता विषयवस्तुमा व्यंग्यात्मक शैलीमा नाटक एक चिहानको कथावस्तुमा प्रस्तुति गरिएको छ ।
नाटकमा अष्टनारानको भुमिकामा महेश पासवान, लतमायाको भुमिकामा संगीता यादव, शिवनारायणको भुमिकामा उद्धव सापकोटा, हाकुमायाको भुमिकामा दिक्षा चौधरी, पुननारायणको भुमिकामा गौरव खतिवडा, सिन्तलीको भुमिकामा उपासना राई, हर्षनारायणको भुमिकामा शिवराज भुजेल, रामबहादुको भुमिकामा भरत कार्की, डाक्टर गोदत्तप्रसादको भुमिकामा प्रदीप दाहाल, रञ्जनादेवीको भुमिकामा अमिशा वाग्ले, रत्नमानको भुमिकामा सागर घिमिरे, सूरमान सुब्बाको भुमिकामा निशान चौहान राई र नानीथंकुको भुमिकामा दिव्याङ्का खड्काको अभिनय रहनेछ । केहि कलाकारहरुले दोहोरो पात्रको अभिनय गरेको समेत नाटकमा देखिनेछ ।
नाटकको परिकल्पना तथा निर्देशन दिपेश भण्डारीले गरेका छन् ।
सास्थम कलेज विराटनगरको प्रवद्र्धन तथा बगैंचा र विराट किचनको सहयोगमा प्रदर्शन हुने नाटकमा आवरण चित्रको रुपमा कलाकार राजन काफ्लेको चित्रकला, कवि रमेशचन्द्र अधिकारीको पाश्र्व आवाज, भरत कार्कीको प्रकाश परिकल्पना, विकास पराजुलीको मञ्च परिकल्पना गरेका छन् ।
आसपासका विद्यार्थी, विद्यालय तथा अन्य सरोकारवालाहरुको लागि नाटकको मञ्चन आवश्यकता अनुसार व्यवस्थापन गर्दै नाटकलाई व्यापक रुपमा प्रदर्शनमा ल्याउने संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।



















