आगोले देश जलिरहेका बेला छिमेकीले जोगाइदिए कोशीका मन्त्री रेवतीरमण भण्डारीको घर

Share this
759shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ आश्विन ९, बिहीबार ११:५०

विराटनगर । जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन भदौ २४ गते देशका विभिन्न सहरमा आगजनी, तोडफोड र हिंसात्मक घटनाले चरम रूप लिएको थियो ।

जथाभावी रूपमा गरिएको आगजनीले सरकारी कार्यालयदेखि निजी घर र व्यक्तिगत सम्पत्तिसम्म ध्वस्त भइरहेका थिए । नेताहरुका घर पनि अराजक समूहको निसाना पर्न थाले । त्यही बेला सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा रहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको घरसमेत अराजक समूहको निसानामा परेको थियो । तर, ३ पटकसम्मको आगजनी प्रयास छिमेकीहरुको सामूहिक प्रतिरोधले विफल बन्यो ।

सुरुमा भिडले घर जलाउने योजना बनाएर आक्रोशसहित आक्रमण गर्न खोज्दा घरभित्र भाडामा बस्ने महिलाले रोइकराइ गरिन् ।

भदौ २४ गते दिउँसो करिब २ बजेतिर मन्त्री भण्डारीको घरमा भिड पुग्यो । त्यतिबेला मन्त्री र शिक्षिकासमेत रहेकी उनकी पत्नी हुमा भण्डारी बाहिर थिए । सुरुमा भिडले घर जलाउने योजना बनाएर आक्रोशसहित आक्रमण गर्न खोज्दा घरभित्र भाडामा बस्ने महिलाले रोइकराइ गरिन् ।

नेकपा (एमाले)का नेतासमेत रहेका मन्त्री भण्डारीले भने, ‘म घरबाहिर थिएँ । श्रीमती पनि बाहिर रहिछन् । दिउँसो २ बजेतिर भिड मेरो घरमा पुगेछ । भिडभित्रै कोही ‘यो घर भ्रष्टाचार गरेर बनाएको होइन, जलाउन हुँदैन’ भनेर भन्ने पनि रहेछन् । कोही भने ‘जलाउनैपर्छ’ भन्दै आक्रोश पोखिरहेका रहेछन् । त्यही बेला भाडामा बस्ने महिलाले ‘हामी भाडामा बस्छौं, हाम्रो सबै सामान जल्छ, कृपया आगो नलगाइदिनुहोस्’ भनेर अनुरोध गरिछन् । त्यो अनुरोधपछि भिड आगो नलगाइकन फर्किएछ ।’

तर, भिड चेतावनी दिँदै फर्किएको थियो । भिडले भाडावाल महिलालाई भनेको थियो, ‘२ घण्टाभित्र कोठा खाली गर्नु । अनि हामी आएर यो घरमा आगो लगाउँछौं ।’ त्यसपछि ती महिलाले कोठामा भएका आफ्ना सामान निकाल्न थालिन् ।

दिउँसो ४ बजेतिर फेरि अर्को समूह मन्त्री भण्डारीको घरमा पुग्यो । तर, त्यति बेलासम्ममा छिमेकीहरु खडा भइसकेका थिए । त्यो भिडलाई छिमेकीहरुले प्रत्यक्ष अवरोध गरे । छिमेकीले भेला भएर भिडलाई सम्झाउन थाले, ‘यो घर भ्रष्टाचार गरेर बनेको होइन, जलाउन हुँदैन ।’

घरमा कुनै विशेष सजावट छैन । मार्बल लगाएको र एट्याच बाथरुम पनि छैन । म मन्त्री भइसकेपछि माथिल्लो तलामा पीएसओ (अंगरक्षक)का लागि टिनको छानो हालेर एउटा कोठा चैं बनाइदिएको थिएँ ।

छिमेकीहरुको सामूहिक अडानले भिडको योजनालाई रोक्यो । मन्त्री भण्डारीले भने, ‘मेरो घर सामान्य छ । कुनै विशेष सजावट छैन । मार्बल लगाएको र एट्याच बाथरुम पनि छैन । म मन्त्री भइसकेपछि माथिल्लो तलामा पीएसओ (अंगरक्षक)का लागि टिनको छानो हालेर एउटा कोठा चैं बनाइदिएको थिएँ । भिडले त्यही कोठाको पंखा चैं तोडफोड गर्नुका साथै घरमा ढुंगामुढा पनि गर्यो । तर, आगो लगाउन पाएन । सायद घरको सामान्य अवस्था देखेर पनि भिडले आगजनी गर्न उपयुक्त नठानेको हुनसक्छ ।’

स्थानीयले प्रतिवाद र अवरोध गरेपछि दोस्रोपटक आएको समूहसमेत फर्किएर गयो । फेरि साँझ करिब ६ बजेतिर अर्को समूह आएर घरमा आगजनी गर्ने अड्डी कस्यो । छिमेकीहरु अझै सशक्त रूपमा उभिइसकेका थिए । उनीहरुले फेरि सामूहिक रूपमा भिडलाई रोक्ने काम गरे ।

छिमेकीको एकताबद्ध अडान देखेपछि भिड हच्कियो । ढुंगामुढा गरेर सामान्य क्षति पुर्याए पनि घरमा आगजनी नगरिकन फर्कियो । मन्त्री भण्डारी भन्छन्, ‘मेरो घरमा लगातार ३ पटकसम्म आगजनीको प्रयास भएछ । घर भाडामा बस्ने महिला र छिमेकीहरुले बारम्बारको प्रयासलाई विफल बनाए । छिमेकीको पहल नभएको भए मेरो घर जल्ने थियो । यो घटनामा मलाई छिमेकीहरुको ठूलो गुन छ ।’

स्थानीयका अनुसार मन्त्री भण्डारीको घरमा आगजनी भएको भए वरपरका अन्य घरहरु पनि जल्ने थिए । सुष्मा गोदावरी कलेजका प्राचार्य तथा मन्त्री भण्डारीका छिमेकी बोधराज नेपाल त्यो दिनको घटना सम्झँदा अझै भावुक हुन्छन् ।

घर सामान्य छ । छिमेकीसँग उहाँको व्यवहार राम्रो भएकाले नै छिमेकीले पनि उहाँप्रति सद्भाव देखाएका हुन् । छिमेकीहरुको एकताले ठूलो संकट टर्यो ।

उनी भन्छन्, ‘मन्त्रीको घर जलाउन भनेर भिड बारम्बार आइपुग्यो । हामी छिमेकीहरु एकजुट भयौं । भिडलाई बुझाउने प्रयास गर्यौं । ‘भ्रष्टाचार गरेर बनेको घर होइन, यो घर जलाउन हुँदैन’ भन्यौं । भिडले कुरा सुन्ने अवस्था नै थिएन । ढुंगा हानेर घरका सिसा फुटाइदियो । सामान्य तोडफोड पनि गर्यो । तर, छिमेकीहरुको सामूहिक प्रयासले घर जल्न पाएन ।’

नेपालका अनुसार नेताहरूमाथि भ्रष्टाचार गरेर सम्पत्ति जोडेको भन्ने आरोप सामान्य छ, तर भण्डारीले त्यस्तो गरेको प्रमाण देखिएको छैन । ‘उहाँको घर सामान्य छ । छिमेकीसँग उहाँको व्यवहार राम्रो भएकाले नै छिमेकीले पनि उहाँप्रति सद्भाव देखाएका हुन्,’ उनले थपे । उनका अनुसार त्यतिबेला छिमेकीहरुको एकताले ठूलो संकट टर्यो ।

‘हामीले बचाउन नसकेको भए वरपरका धेरै घर जल्ने थिए । इटहरीमै उपमहानगरपालिकाको कार्यालय जलिसकेको थियो । भिड अति नै आक्रोशित थियो । तर, हाम्रो सामूहिक प्रतिरोध सफल भयो । यसरी नै अन्य ठाउँमा पनि नागरिक एकजुट भएको भए धेरै सरकारी र निजी सम्पत्ति जोगिने थिए,’ उनले भने ।

भिडले ढुंगामुढा गरेर घरका सिसा फुटाउनेसम्म गर्यो । तर, आगो लगाउन सकेन । छिमेकी सबै मिलेर रोक्यौं ।

नागरिक समाज इटहरीकी निवर्तमान अध्यक्ष तथा इटहरी लेडी जेसीसकी पूर्वअध्यक्ष बालिका भट्टराईको मानसपटलमा पनि त्यही दिनको घटना घुमिरहेको छ । उनले भनिन्, ‘भिड बारम्बार आयो । प्रत्येकपटक उनीहरुले आगो लगाउने अड्डी कसे । तर, हामी छिमेकी भेला भएर अनुनय विनय गर्दै ‘मन्त्री भण्डारी सामाजिक व्यक्ति हुनुहुन्छ, घर जलाउन हुँदैन’ भन्यौं । भिडले ढुंगामुढा गरेर घरका सिसा फुटाउनेसम्म गर्यो । तर, आगो लगाउन सकेन । छिमेकी सबै मिलेर रोक्यौं । मन्त्रीको घरलाई हामीले राति १० बजेसम्म पहरा दियौं । भिड आक्रामक थियो । जसरी पनि आगो लगाउने अडानमा थियो । तर, हामीले बारम्बार बुझाएर रोक्यौं । अन्ततः उनीहरु पछि हटे ।’

भट्टराईले त्यतिबेला घरनजिकै बाटोमा रहेको एउटा सरकारी मोटरसाइकललाई समेत सुरक्षित राखेको स्मरण गरिन् । ‘बाटोमा सरकारी मोटरसाइकल थियो । देखेको भए जलाउने थिए । तर, बोराहरु भेला पार्दै त्यसलाई छोपेर सुरक्षित राख्यौं । वरपरका अन्य घरहरु पनि खतरामा थिए । यदि मन्त्रीको घरमा आगो लगाइएको भए अरु घर पनि ध्वस्त हुने थिए,’ भट्टराई भन्छिन् ।

छिमेकीहरुले देखाएको एकता र सहकार्यकै कारण आज मन्त्री भण्डारीको घर सुरक्षित छ । छिमेकीहरुले ३ पटकसम्मको प्रयासलाई विफल पारेर ठूलो क्षति हुनबाट जोगाइदिए ।

मन्त्री भण्डारी भन्छन्, ‘मेरा छिमेकीहरुले मेरो मात्र होइन, वरपरका घर पनि जोगाउनु भयो । उहाँहरुले ठूलो गुन लगाउनु भयो । ३ पटकसम्मको प्रयासलाई विफल पारेर ठूलो क्षति हुनबाट जोगाइदिनु भयो । देशभर आगजनी र तोडफोड लगायतका हिंसात्मक घटना भइरहेका बेला छिमेकीहरुले देखाएको एकता र सहकार्यकै कारण आज मेरो घर सुरक्षित छ । यो मेरो जीवनकै ठूलो घटना हो । जसलाई म कहिल्यै बिर्सन सक्दिन ।’

दिउँसो २ बजेअघि नै इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी भइसकेको थियो । उपमहानगर जलिरहँदा नजिकै रहेको इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप भइरहेको थियो ।

आगोले उपमहानगर ध्वस्त बनाएको छ । लगातार झडप भएर असुरक्षित बनेपछि प्रहरी पनि पछि हट्यो । त्यति मात्रै हैन, प्रहरीले आत्मसमर्पण नै गरेपछि अराजक समूहले आगजनी गरेर प्रहरी कार्यालय ध्वस्त बनाइदियो । जसोतसो भागेर प्रहरीले ज्यान जोगाएका थिए ।

इटहरी उपमहानगरमा आगो झोसेर एउटा भिड मन्त्री भण्डारीको घरतिर लागेको थियो । आफैं असुरक्षित भएका बेला प्रहरीले अरुको घर बचाउन सक्ने सम्भावना थिए ।

बर्दी नै उतारेर प्रहरीलाई लेखेटियो । इटहरीको मुख्य चोकनजिक कार्यालय रहेको प्रहरी अहिले तरहराको चौकीमा बसेर इटहरीलाई सुरक्षा दिइरहेको छ ।

उपमहानगरमा आगो झोसेर एउटा भिड मन्त्री भण्डारीको घरतिर लागेको थियो । आफैं असुरक्षित भएका बेला प्रहरीले अरुको घर बचाउन सक्ने सम्भावना थिए । तर, आगोले देश जलिरहेका बेला छिमेकीहरुको साहसिक अडान र सामूहिक प्रतिवादकै कारण मन्त्री भण्डारीको घर भने आगजनी हुनबाट जोगियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×