
काडमाडौं । लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर सम्मको वर्षा भएपछि प्रान्तहरू प्रभावित बनेका छन् ।
भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरणका अनुसार मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका छन् । युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्राचीन सहर होइ एन पनि कम्मर–गहिरो पानीमा डुबानमा परेको छ ।
त्यस क्षेत्रका १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन्, ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर बाली जमिन बाढीले नष्ट गरेको छ ।
वातावरण मन्त्रालयका अनुसार कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ ।

























