भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ४० हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०९:३५

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या २५० नाघेको छ । उद्धार कार्य जारी रहेसँगै भग्नावशेषबाट निरन्तर शव निकाल्ने क्रम चलिरहेका कारण मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

हजारौँ मानिस अझै सम्पर्कविहीन रहेकाले मानवीय क्षतिको वास्तविक अवस्था सार्वजनिक तथ्यांकभन्दा निकै ठूलो हुन सक्ने अधिकारीहरूले बताएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बुधबार स्थानीय समयअनुसार साँझ केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएका थिए । दुवै भूकम्पको केन्द्र जमिनको सतहबाट निकै कम गहिराइमा रहेकाले यसको प्रभाव अत्यन्त विनाशकारी बनेको हो ।

Advertisement

स्थानीय सञ्चारमाध्यमका अनुसार सार्वजनिक बिदाको दिन अधिकांश नागरिक घरमै रहेका बेला भूकम्प आएकाले ठूलो मानवीय क्षति भएको हो । राष्ट्रियसभाका अध्यक्ष जर्ज रोड्रिगेजले हालसम्म २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका छन् । १ हजार ५ सयभन्दा बढी घाइते भएका छन् भने ४० हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको आशंका गरिएको छ । उद्धार टोलीहरूले सयौँ भवनका भग्नावशेषमा फसेका नागरिकको खोजी जारी राखेका छन् ।

सबैभन्दा बढी क्षति तटीय सहर ला गुएरामा भएको छ । त्यहाँ १० तले होटलसहित करिब २५० भवन पूर्ण रूपमा भत्किएका छन् । राजधानी काराकासस्थित माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा पनि क्षति पुगेपछि सबै उडान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

विपत्तिपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । भूकम्पपछि ३० भन्दा बढी पराकम्पन महसुस भएकाले लाखौँ नागरिक घर फर्किन नसकी खुला स्थान र सडकमा रात बिताउन बाध्य भएका छन् । धेरै प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार र इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ ।

भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायले पनि सहयोगको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ करोड अमेरिकी डलर बराबरको राहत प्याकेज, विशेष उद्धार टोली, सैन्य विमान तथा आवश्यक सामग्री भेनेजुएला पठाउने घोषणा गरेका छन् । मेक्सिको, कतार, एल साल्भाडोर र डोमिनिकन रिपब्लिकले पनि आफ्ना उद्धार तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाइसकेका छन् ।

यूएसजीएसका अनुसार यो सन् १९०० यताकै भेनेजुएलामा आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो । विज्ञहरूले अझै हजारौँ मानिस भग्नावशेषमा फसेको हुन सक्ने अनुमान गर्दै मृतकको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिएका छन् । प्रभावित क्षेत्रमा स्थानीय सुरक्षाकर्मी, सेना र अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले चौबीसै घण्टा युद्धस्तरमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.