
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै दलका सांसदहरूमाथि सार्वजनिक रूपमा आक्रोशित भएका छन् । युद्ध अधिकारसम्बन्धी प्रस्तावमा दलको आधिकारिक अडानविपरीत मतदान गरेका रिपब्लिकन सांसदहरूमाथि उनले कडा टिप्पणी गर्दै लुजियानाका सांसद बिल क्यासिडीलाई ‘पराजित व्यक्ति’ भने भने अलास्काकी सांसद लिसा मुर्कोव्स्कीलाई ‘अत्यन्त खराब व्यक्ति’को संज्ञा दिए ।
अमेरिकी संसद भवनमा रिपब्लिकन सांसदहरूसँग भएको बैठकमा ट्रम्पले इरानसँग सम्बन्धित युद्ध अधिकार प्रस्ताव, रोकिएका न्यायाधीश नियुक्ति तथा दलले महत्त्वपूर्ण विधेयक पारित गराउन नसकेको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । तर, सबैभन्दा ठूलो विवाद युद्ध अधिकार प्रस्तावलाई लिएर भयो । जसमा चार रिपब्लिकन सांसदले दलको निर्णयविपरीत मतदान गरेका थिए ।
बैठकका क्रममा बिल क्यासिडीले ट्रम्पको युद्ध सञ्चालन शैली र त्यसको जानकारी संसद्लाई पर्याप्त नदिएको भन्दै आलोचना गरेपछि वातावरण तनावपूर्ण बनेको थियो । क्यासिडीले अमेरिकी जनतालाई वास्तविक अवस्था नबताइएको आरोप लगाएपछि ट्रम्प थप आक्रोशित बनेका थिए ।
प्रत्यक्ष भनाभनका क्रममा ट्रम्पले क्यासिडीलाई ‘तपाईं चुनाव हार्नुभयो’ भन्दै ‘पराजित व्यक्ति’ भनेका थिए । त्यसको जवाफमा क्यासिडीले आफू राष्ट्रपतिसँग नभई अमेरिकी जनताको पक्षमा बोलिरहेको बताएका थिए ।
बैठकमा ट्रम्पले पेन्सिलभेनियाका सांसद डेभ म्याककोर्मिकको अनुपस्थितिप्रति पनि असन्तुष्टि जनाएका थिए । साथै, प्रस्तावको पक्षमा मतदान गर्ने अन्य रिपब्लिकन सांसदहरूलाई समेत आलोचना गरेका थिए ।
यद्यपि, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले वातावरण सामान्य देखाउने प्रयास गरे । उनले बैठक ‘अत्यन्त राम्रो’ भएको दाबी गर्दै आफ्नो दलप्रति गर्व रहेको बताए । तर, अन्त्यमा ‘मलाई केही मानिस मन पर्दैनन्, तर त्यो पनि ठीकै हो’ भन्दै उनले असन्तुष्टि अझै बाँकी रहेको संकेत दिएका थिए ।



















