
विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्ला वर्षहरूमा आर्थिक अनियमितताका घटनाहरू वृद्धि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा छापा मारी आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा विभिन्न शीर्षकमा भएका अनियमितताबारे दर्ता भएको उजुरीलाई आधार मानेर अख्तियारले छानबिनको प्रक्रिया अघि बढाएको हो ।
आयोगको इटहरी कार्यालयका अधिकृत अकिल बस्नेत नेतृत्वको तीन सदस्यीय टोलीले प्रतिष्ठानमा छापा मारी कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार इटहरीका सूचना अधिकारी उपसचिव रोशन अर्यालले प्रतिष्ठानमा देखिएका आर्थिक अनियमितता, नियमविपरीत खर्च, मिलेमतोमा टेन्डर र बाह्य क्लिनिक सञ्चालन जस्ता आरोपहरूको प्रमाण संकलनका लागि अनुसन्धान टोली धरान पुगेको बताए ।
प्रतिष्ठानले निर्माण गरेको मातृशिशु भवनमा भएको आर्थिक अनियमिततासम्बन्धी आवश्यक कागजपत्र नियन्त्रणमा लिइएको छ । ७६ करोड रुपैयाँ बजेट स्वीकृत भए पनि २ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी लगानी बढाएर भवनको निर्माण कार्य अघि बढाइएको उजुरीका आधारमा अख्तियारले छापा मारेको बुझिएको छ ।
पदाधिकारीहरूले कानुनी प्रक्रिया पूरा नगरी, सार्वजनिक खरीद नियमावली उल्लङ्घन गर्दै र स्वीकृत रकमभन्दा धेरै खर्च गरेर भवनको निर्माण गरेका थिए । आयोगले निर्माण टेन्डर, डिजाइन, लागत अनुमान, बिल भुक्तानी लगायतका कागजात नियन्त्रणमा लिएर छुट्टै प्राविधिक अध्ययन गर्ने तयारी गरेको छ ।
व्यवस्थापनसम्मका प्रक्रियामा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले फार्मेसीसँग सम्बन्धित बिलिङ, खरिद, भण्डारण र वितरणका सबै कागजात नियन्त्रणमा लिएर छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
यसैगरी, प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूले बाह्य क्लिनिक सञ्चालन गर्न नपाउने स्पष्ट नियम हुँदाहुँदै पनि मेडिसिन विभाग प्रमुख डा. रबिन मास्केसहितका चिकित्सकहरूले धरान बुद्धचोकमा निजी क्लिनिक सञ्चालन गर्दै आएको उजुरीका आधारमा पनि अख्तियारले छनबिन प्रक्रिया अगाडि बढाएको बताएको छ ।
प्रतिष्ठानका पूर्वउपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. बलभद्र प्रसाद दासको कार्यकालमा भएका विभागीय खर्च, निर्माण आयोजना, औषधि खरिद तथा प्रशासनिक निर्णयहरूमा ठूलो मात्रामा अनियमितता भएको आरोप छ । यस विषयमा अख्तियारले सम्बन्धित कागजात, निर्णय पत्र, नोटशिट, आर्थिक लेखापरीक्षण विवरण लगायतका कागजपत्र नियन्त्रणमा लिएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले अख्तियारको टोली आएर कागजात नियन्त्रणमा लिएको पुष्टि गरे । उनले ुअख्तियारको टोलीले आवश्यक कागजात मागेपछि आफूहरूले उपलब्ध गराएको र छानबिन प्रक्रियामा संस्थाले आवश्यक सहयोग गर्नेु बताए ।



















