मोरङ कारागारका कैदीबन्दीमा छालाको समस्या धेरै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार १४:३३

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा रहेका अधिकांश कैदीबन्दी तथा थुनुवामा छाला सम्बन्धी समस्या धेरै रहेको पाइएको छ ।

मोरङ सहकारी अस्पतालको प्राविधिक र चिकित्सकीय सहयोगमा कारागारका कैदीबन्दी एवं थुनुवालाई लक्षित गरेर शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण तथा उपचारका लागि पुगेका अधिकांशमा छाला (चर्मरोग)को समस्या देखिएको हो । परीक्षण गराएका धेरैमा छाला चिलाउने, खस्रो हुने, फुट्ने, फोका निस्किने, डाबर बन्ने समस्या रहेको पत्ता लागेको चिकित्सकले बताएका छन् ।

शिविरमा २ सय ६५ जना कैदीबन्दी तथा थुनुवाले निःशुल्क स्वास्थ्य सेवा लिएको कारागार प्रशासक गौरव ढुंगेलले बताए । उनका अनुसार पछिल्लो समय कैदीबन्दी बिरामी पर्ने र मृत्यु हुने क्रम बढेपछि मोरङ सहकारी अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

निःशुल्क शिविरमा २ सय ६५ जनाले स्वास्थ्य परीक्षण गराएकामा १३ जनाको मुटुको ईसीजी र १५ जनाको भिडियो एक्स–रे गरिएको जानकारी ढुंगेलले दिए । उनका अनुसार स्वास्थ्य सम्बन्धी जटिल समस्या देखिएका ५ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका छन् ।

अस्पतालका व्यवस्थापक धरणी खनालका अनुसार कन्सलटेन्ट फिजिसियन डा. रतिसकुमार यादव नेतृत्वको चिकित्सक टोली शिविरमा खटिएको थियो । शिविर सञ्चालनका लागि अस्पतालले ४ जना चिकित्सक र ४ जना स्वास्थ्यकर्मीसहित ११ जनाको टोली परिचालन गरेको थियो ।

शिविरमा मधुमेह तथा रक्तचापको चेकजाँच, ईसीजी, भिडियो एक्स–रे, रगत परीक्षणलगायतको सुविधा उपलब्ध गराइएको जानकारी अस्पतालका व्यवस्थापक खनालले दिए । उनका अनुसार बिरामी कैदीबन्दी तथा थुनुवालाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो ।

‘ल्याब परीक्षणका लागि केहीको नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको छ । यो सेवा पनि अस्पतालले निःशुल्क दिएको हो,’ उनले भने । शिविरमा ज्वरो आउने, मुटु तथा छालाको समस्या हुने, शरीर सुन्निने, दीर्घ रोगीलगायतले सेवा लिएको खनालको भनाइ छ ।

अस्पतालका फिजिसियन डा. विकाश झा अविनाशले स्वास्थ्य परीक्षण तथा उपचारका लागि आएका कैन्दीबन्दी एवं थुनुवामा छालाको समस्या धेरै पाइएको बताए । ‘७० प्रतिशतभन्दा बढीमा छालाको समस्या थियो । उचित सरसफाइ र प्रयोगयोग्य पानीको अभावले यस्तो समस्या निम्तिएको हुनसक्छ,’ उनले भने, ‘त्यस्ता समस्या भएकालाई औषधि प्रदान गरेर सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । नियमित रूपमा चिकित्सकीय परामर्शमा रहन सुझाव दिइएको छ ।’

त्योबाहेक शरीर सुन्निने र ढाड दुख्ने समस्या भएका बिरामी पनि धेरै भेटिएको डा. झाले बताए । उनका अनुसार कारागारभित्र पुग्दा अवस्था सामान्य भएकाहरुमा केही समयपछि शरीर सुन्निने समस्या देखिने गरेको पाइएको छ । कुनै कुराले मिर्गौलालाई असर गरेका कारण शरीरका विभिन्न भाग सुन्निएको हुन सक्ने आशंका रहेको उनको भनाइ छ ।

स्वास्थ्य शिविरबाट कारण पत्ता लगाउन नसकिने हुँदा त्यस्ता समस्या भएकालाई अस्पताल पुगेर परीक्षण गराउन सुझाव दिइएको डा. झाले बताए । ‘अस्पताल पुगेर राम्रोसँग परीक्षण गर्दा रोग पत्ता लाग्छ,’ उनले भने । स्वास्थ्य शिविरमा आएकामध्ये केही कैदीबन्दी तथा थुनुवामा मधुमेह, उच्च रक्तचाप र मुटुको समस्या पनि देखिएको उनको भनाइ छ ।

कारागार प्रशासक ढुंगेलले पछिल्लो समय कैदीबन्दीमा शरीर सुन्निने, श्वासप्रश्वासमा गाह्रो हुने र छाती दुख्ने समस्या बढ्दै गएको बताए । स्वास्थ्य शिविरमा चिकित्सकले दिएको सुझाव अनुसार कैदीबन्दी तथा थुनुवामा देखिएको स्वास्थ्य समस्या निराकरणका लागि उचित कदम चालिने उनको भनाइ छ ।

विभिन्न निकाय तथा स्वास्थ्य संस्थासँग समन्वय गरेर शिविरलाई निरन्तरता दिइने ढुंगेलले बताए । कारागारभित्रै निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउँदा कैदीबन्दी तथा थुनुवा खुसी भएका थिए ।

पछिल्लो समय कारागारभित्र कैदीबन्दी र थुनुवाको मृत्यु हुने क्रम बढेको छ । वैशाखयता मात्रै १ जना महिलासहित १३ जनाको मृत्यु भइसकेको छ । अधिकांशले उपचारका क्रममा अस्पतालमा ज्यान गुमाएका हुन् ।

मृतकहरु प्रायमा शरीर सुन्निने, श्वासप्रश्वासमा गाह्रो हुने र छाती दुख्ने समस्या देखिएको जानकारी कारागारले दिएको छ । मोरङ कारागारमा हाल १ सय ११ जना महिला र २ जना आश्रित बालबालिकासहित १ हजार १ सय ९१ जना कैदीबन्दी एवं थुनुवा रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.